हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

खोटी खुसी

निलम निहारिका , (नर्थ क्यारोलाइना )


‘म जन्मने भएँ ।
यसैले मात्र पनि मेरा आमा–बाबुलाई दिनुसम्म खुसी दियो ।
म पहिलोपटक आमाको गर्भमा चलेँ, मेरी आमाको निम्ति त्यो अनुभव आहा ! कति मीठो थियो ।
म नजन्मदै मेरो लागि नाम रोजियो शब्दकोश बनाएर ।
म जन्मेपछि मलाई झुलाउने झोलुङ्गो, मलाई हिँडाउने वाकर, म खेल्ने खेलौना सबै आयो घरमा एक–एक गरेर ।
मेरो बाबा मेरो मुख हेर्न आतुर थिए, दिन गन्थे ।
मेरी आमा मलाई आफ्नो काखमा लिन आतुर थिइन् ।
प्रत्येक दिन मेरो बारेमा कुरा गर्थे । मलाई के बनाउने, उनीहरू बहस गर्थे । बहस जे भए पनि अन्त्यमा निक्र्योल हुन्थ्यो, गायिका बनाउने । आमाको पनि स्वर राम्रो थियो । मलाई गायिका बनाउने सपना थियो ।
नौ महिना पूरा भयो ।
 
आमा अस्पतालको बेडमा छन् ।
लामो प्रसव–वेदना सहिन् । त्यो लामो वेदनापछि मैले धर्ती छुन नसकेपछि मेरी आमाको गर्भ चक्कुले चिरेर निकालियो मलाई ।
आमाको सुरक्षित गर्भबाट मलाई बाहिरी दुनियाँमा ल्याइयो ।
म सहज तरिकाबाट जन्मन सकिनँ । मेरी आमालाई बेहोस पार्ने र मलाई निकाल्न डाक्टरहरू रातारात जम्मा भएका थिए ।
केही ढिला भयो भने मेरी आमा बाँच्दिनन् । म पनि जिउँदो रहँदिन भनेर हतारिएका थिए नर्सहरू ।
आमाको सुरक्षित गर्भबाट त्यो बाहिरी संसारमा आउँदाआउँदै रुनुपर्छ रे । रोएर मात्र जीवन सुरु गर्न पाइन्छ रे । म भने जन्मदाजन्मदै रुन जानिनँ । भन्दा रहेछ– रुवाउने जन्मेकाहरू रुन जान्दैनन् ।
मैले रुन जानिनँ । फलजफ्ती रुवाए मलाई र रोएपछि मात्र म जीवित भएको घोषित गरे डाक्टरहरूले ।
म नयाँ मान्छे ! मलाई हेर्नका लागि आफन्तीहरू आए । चलन जस्तै– मेरो हातमा मेरो मुख हेरेको दस्तुर दिन्थे । पैसा कोचार्थे, बलजफ्ती समाउन लगाउँथे । ‘आहा ! कति राम्री छोरी, लच्छिनकी छोरी’ आइछ भन्थे ।
मेरो कोमल गालामा मेकअप पोतिएको खस्रो गाला जोड्थे ।
 
न्वारनको दिन आयो ।
गुरुले मेरो नाम जेसुकै राखे पनि आमा–बाबुले शब्दकोश हेरेर छानेको उही नाम– ‘खुसी’ राखे ।
मेरो आमा–बुबाको वैवाहिक जीवनको थप खुसी रे म, आमा भन्थिन्– मेरो लागि सुन्दर संसार हो मेरी छोरी, मेरी खुसी ।
बाबाको ओठको हाँसो । म उनीहरूको खुसी – प्यारी खुसी ।
फूल फुलेको गुलाबको बोट थियो हाम्रो घर ।
बाबालाई आफ्नो जागिरमा जान गाह्रो पर्थ्यो मलाई छाडेर । घर छोड्दा ‘बाई’ भन्ने अन्तिम मान्छे म हुन्थेँ र घर फर्कँदा ‘हाई’ भन्ने पहिलो । ‘मेरी छोरी खुसी’ भन्दै भित्र पस्थे बाबा ।
प्रत्येक साँझ सुत्नुअघि मनतातो तेलले मालिस गरिदिन्थिन् मेरो शरीर, मेरी आमाले । आफु जति थाकेको भए पनि मालिस गर्थिन् नै ।
यसरी तेलले मालिस गर्दा म राम्ररी निदाउन सक्छु, आराम मिल्छ भन्थिन् ।
घरमा बाबाकी काकी पर्ने आएकी थिइन् ।
साँझको खाना दिएपछि सधैँझैँ तेल लगाइदिन लुगा खोलिदिइन् आमाले । बाबाकी काकी आश्चर्य मान्दै बोलिन्– ‘यो नातिनीका हातखुट्टा जन्मदै यस्तै हुन् ?’
मेरी आमा अलमलमा परिन् ।
– ‘लौन नि, यो नातिनी त खोटी जन्मेजस्तो छ । बुहारी, सग्लाका त यस्ता हुन्न है हातखुट्टा ।’
एक्कासि भयले अत्तालियो आमाको मन ।
हजुरआमा– आमा, फुपू, काका–काकी सबै जम्मा भए मेरा वरिपरि ।
मलाई ओल्टाई–पल्टाई हेरे सबैले पालैपालो । आलु किन्दा सद्दे छ कि बिग्रेको छ कि भनी सबैतिर हेरेजस्तो ।
काकाले मेरो हातखुट्टा माथि उचालेर छाडिदिए, फ्यात्त झर्यो लुलो भएर । हिलोको थुप्रो खसेजस्तो ।
सबैले एक–अर्काको मुख हेराहेर गर्न लागे ।
जबाफ कोसँग ?
 
एक ठूलो शोक छायो घरको छानामा ।
 
सुत्नुअघि आमा–बाबाले फेरि मेरो लुगा फुकालेर हेरे । फेरि मेरो हात, खुट्टा अलि माथि उचाल्ने–छाड्ने गर्न लागे ।
म साह्रै थाकिसकेकी थिएँ ।
अब रुनु मात्र उपाय थियो ।
आमाले मेरो रुवाइ शान्त पार्न मलाई ओढ्नेमा बेरेर छातीमा चेपिन् । म निश्चिन्त निदाएँ त्यसपछि ।
आमा–बाबा निदाउन सकेनन् ।
बाबाको मनमा भयङ्कर शङ्का–उपशङ्का मडारिइरहेको थियो । तर आमालाई सम्झाउँदै भन्दै थिए– केही भएको छैन । हामीलाई बच्चाबारे अनुभव नभएकाले हो, सबै बच्चाको यस्तै हुन्छ होला ।
मेरी आमाको मन सम्झाउन खोजे पनि उनी आफ्नो मनलाई बुझाउन सकिरहेका थिएनन् ।
बाबा–आमाको रात बित्यो उज्यालो पर्खाइमा । डाक्टरकहाँ पुग्ने पर्खाइ थियो त्यो । क्लिनिक पुग्दा ढोका खुलेको थिएन ।
ढोका छेउमै बसिन् आमा । म बाबाको काखमा थिएँ । आमा अब अडेसबिना आपूmलाई अड्याउन नसक्ने हालतमा थिइन् ।
एकरातमै मेरी आमा साह्रै कमजोर भइसकेकी थिइन् । होस ठाउँमा थिएन । आउँदा आमाले स्वेटर उल्टो लगाएकी रहिछन् । बाबाले देखेर भने तर सुल्टो बनाउने जाँगर उनीसँग थिएन ।
म झन् बाबाको छातीमा टाँसिएको छु । उनले पनि बेस्सरी टाँसेका छन् । म सुरक्षित महसुस गर्छु ।
क्लिनिकको ढोका खुल्नासाथ आमा–बाबा भित्र पस्छन् । पछि लाग्दा डाक्टर रिसाउँछन् र’पनि रिस देखाउँदैनन् । यतिबेला को रिसाउनु–नरिसाउनुको कुनै प्रवाह छैन मेरा बाबा–आमालाई ।
डाक्टर मलाई चिसो टेबलमा सुताएर उसै गरी ओल्टाई–पल्टाई हेर्छ ।
गलेको केरा हुँदाझैँ छुन्छन् डाक्टरको औँलाले । म बाबाको न्यानो काख छोडेर चिसो टेबलमा पल्टनुपरेकाले रोइरहेछु ।
डाक्टरको अनुहारको भाव हेरेर नै मेरी आमाको आँखाको भल रोकिँदैन ।
थप टेस्ट गरेपछि मात्र केही भन्न सकिने बताउँछन् डाक्टर ।
केही नहुन पनि सक्छ ।
डाक्टरको भनाइले मरिसकेको आशा केही राहत मिल्छ ।
मोटो सुई खोपेर रगत तान्छन् स्वास्थ्यकर्मी ।
म रुन्छु । आमा छटपटाउँछिन् मेरो रुवाइमा ।
एक्स–रे खिच्न लुगा खोल्न लगाउँछन् ।
मेरी आमा काँपेको हातले खोल्न सक्दिनन् ।
तीन दिनपछिको पालो परेको छ एम.आर.आई. को ।
तीन दिन भनेको हजारौँ माइल टाढाको यात्राजस्तो लागेको छ मेरा बाबु–आमालाई ।
 
तीन दिनपछि उसै गरी ढोका खुल्नुअघि पुग्छन्, कोठामा पर्खी बस्छन् ।
पालो आउँछ ।
मलाई निदाउने गराउन केही झोल खुवाउन दिन्छिन् नर्स ।
आमा बिस्तारै पियाउने कोसिसमा छिन् । म भने नपिउन युद्ध गर्दै रुन्छु ।
आमा–बाबा बलजफ्ती पिलाउँछन् ।
म निर्जीवजस्तै हुन्छु ।
आमाको काखबाट म निर्जीवलाई लैजान्छन् नर्स । मलाई लैजाँदा आपूmलाई अड्याउन नसकेर आफ्नो आधार खम्बालाई समाउँछिन् दह्रो गरी, आमा । बाबा आमालाई सम्भाल्ने प्रयत्नमा छन् ।
 
रिपोर्ट हेरेर डाक्टरले निक्र्योल गरे ।
– हो म खोटी रहेछु ।
– मेरा हात–खुट्टा नचल्ने पक्का भयो ।
डाक्टरले अरू भने– म सुन्न नसक्ने हुँदा बोल्न पनि सक्दिनँ ।
आमाले झन् दह्रो गरी चेपिन् मलाई छातीमा ।
आमाको रोइरहेको मुटुसँग मेरो मुटु नजिक छ । म बाबा–आमाको पीडा महसुस गरिरहेकी छु ।
 
उनीहरू पूरै सुर हराएका झैँ भएर घर पुगे ।
हजरबुबा÷आमाको पनि दुःखको पोको बने ।
पलङको बीचमा तेर्साे पारी सुताएका छन् मलाई ।
दुईतिर, पीडामा डुबेका आमा–बाबु छन् ।
आमा आफ्ना घुँडामा शिर अड्याएर बसेकी छन् ।
एक हातमा मेरा औँला छन् खेलाउँदै ।
उनको आँखा मबाट हटेको छैन ।
म घरी उनलाई हेर्छु घरी बाबालाई ।
उनीहरूलाई यतिबेला लाग्छ, म उनीहरूसँग माया मात्र होइन दया पनि मागिरहेछु ।
र दुनियाँसँग दया नै माग्नेछु । बाँचे दयामा बाँच्नेछु ।
उनीहरूलाई लागिरहेछ, म सारा दोष उनीहरूलाई दिइरहेछु ।
उनीहरू आपूmलाई महादोषी ठह¥याइरहेका छन् । आमालाई सम्झाउँदै छन् बाबाले– ‘रोएर हुँदैन । हाम्री छोरी ठीक हुने होइन । सम्झ तिमी, भगवान्को इच्छा नै यस्तै रहेछ ।’
आमा भन्छिन्– ‘होइन मैले कुन जुनीमा ठूलो पाप गरेकी रहेछु ।’
म बाबाले भनेझैँ भगवान्को इच्छा हुँ या म आमाले भनेझैँ उनको कुनै जुनीको पापको सजाय ?
आमा भन्छिन्– ‘जे सजाय दिनु थियो मलाई दिनु थियो, किन मेरी छोरीलाई ?’
प्रश्न छ, म एक सजाय ?
– त्यो सजाय कसको लागि हो ?
मेरो आफ्नै लागि या मेरी आमाको लागि ?
 
सूर्यको किरणले धर्ती छुने समयभन्दा छिटो फैलिन्छ, म खोटी भएको कुरा ।
अब दिनप्रतिदिन मलाई हेर्न घर आउनेको सङ्ख्या बढ्छ ।
वर्षौँदेखि नआएका आउँछन् । कहिल्यै हाम्रो घर नटेकेका पनि आउँछन् ।
भन्छन्– ‘यसो पसेर जाऊँ भनेर’, तर आँखाहरू खोजिरहन्छन् मलाई ।
वल्लो, पल्लो घरकाले नयाँ–नयाँ आफन्तीसमेत लिएर आउँछन् ।
प्रदर्शनीमा राखेको अनौठो सामान हेर्न आएझैँ ।
जबसम्म म खोटी भएको पक्का थिएन मेरा आफन्तीहरू घरमा आएको बेला या आमाले बाहिर लगेको बेला मलाई काखमा लिन्थे, बोक्थे, खेलाउँथे र गाला टाँस्थे, नाक समात्थे । अब त कसैले छुँदैनन् ।
म फिस्स हाँस्छु उत्तर दिँदैनन् ।
बरु डराएझैँ गर्छन् । घिनाएझैँ गर्छन् ।
मानाँै म साह्रै डरलाग्दो वस्तु हुँ ।
कसैले भने मेरो आमाको आँखा छेलिएको बेला सुटुक्क मेरो लुगा हटाएर हेर्छन् । डराई–डराई ठूलै भोल्टेजको करेन्ट लाग्लाझैँ या भयङ्कर रोग सर्लाझैँ ।
उनीहरू आफैले हेरेर पक्का गर्न चाहन्छन् म खोटी भएको कुरा ।
उनीहरूको यो लुकीछिपीको हेराइ मेरो निम्ति साह्रै नराम्रो डसाइ ।
 
मेरो यस्तो आगमनपछि पूरै परिवर्तन भयो मेरी आमाको जीवन । राम्रो ड्रेस डिजाइनर थिइन् उनी । राम्रोसँग चलेको थियो व्यवसाय ।
मेरो स्याहार–सम्भारको लागि उनले सबैलाई तिलाञ्जली दिइन् । हरपल हरपल उनी मसँग हुन चाहन्थिन् । कसको भरोसा पर्दिनन्, मलाई थप अरू केही होला भन्नेमा... ।
आफ्नो बुटिक जानु या अन्तकतै बाहिर जानु पनि मुस्किल भएको थियो । ग्राहकहरू देखे–भेटेकाले उही प्रश्न सोध्छन्– जसको उनी जबाफ दिन चाहन्न् ।
बिचरा । के भोग्नुप¥यो नि !
– पहिला थाहा थिएन ?
– कहिले थाहा भयो ?
– कसरी थाहा भयो ?
– कस्तो भो होला है थाहा भएपछि ?
– कठै ! अब जन्मेकालाई यस्तो नहोस् !
– हिँड्न थाली त ?
– के भन्या छ डाक्टरले, अब कहिल्यै हिँड्न सक्दिन ?
– छोरा भए बरु अरू बिसेक, छोरी परी ।
– शत्रु त कुम ठोक्दा हुन् ।
यस्तै–यस्तै सवाल–जबाफले लखेट्छ मेरी आमालाई ।
कोहीको आँखाले मात्र पनि प्रश्न गर्छ ।
 
मेरी आमा चोक काट्न नपाउँदै कुरा काट्न थाल्छन् अर्कीसँग– ‘थाहा छ कमलेस भेट भएकी थिई । दुब्लाएर एक मुठीकी भएकी रै’छ । यस्तो त आफु खाने दुश्मनलाई पनि नपरोस् । मैले कमलेसलाई झन्डै नचिनेकी पो !’
‘के गर्नु ? भोग्न पर्छ पूर्वजन्मको कर्मको फल ।’
म मेरी आमाको पूर्वजन्मको कर्मको फल !
 
आमा घर फर्कँदा प्रश्नको जबाफ र दुनियाँको जबाफको प्रश्नले थकित भएर फर्कनुपर्ने । कोही भेट नहोस् भनेर छलिँदै हिँड्नुपर्ने ।
कहिले कतै भित्रबाट अपरिचितको आवाज ठोकिन्छ आमाको कानमा– ‘छोरी पनि पविताको जस्तै खोटी र लुली ।’
उस्तै रोग हो क्यारे ।
पविताले पनि भोग्दैरहिन् मेरी आमालेझैँ ।
मेरी आमा मेरो हात–खुट्टामा केही गरी शक्ति आउला र चल्छ कि भनी नाना थरी घसिदिन्छिन् ।
मेरा आमा–बाबु मठ–मन्दिर, धामी–झाक्री, भाकल, पूजा सबै गर्छन् ।
जसले जे उपाय सुनायो पत्रिका–टिभीमा जे देख्यो उसै गर्छन् ।
दिन भएपछि रात पर्छ । रातपछि दिन । पूरा समय यसरी नै बित्छ ।
काकाको छोरी छ, मभन्दा सानी । ऊ खेलौनासँग खेल्छे । म हेरी मात्र रहन्छु । आमा घरी दिदीलाई घरी खेलौना र घरी मलाई हेर्छिन् ।
आमाको पीडा प्रस्ट देखिन्छ । बाबा लुकाउन सक्छन् । डाक्टरसँग बाबाले भनेका थिए, अब अरू केही होइन डाक्टरसाहेब म आपूm बाचुञ्जेल म मेरी छोरीलाई जिउँदो देख्न चाहन्छु । यत्ति भए हुन्छ ।
 
मेरो पहिलो जन्मदिन आउँछ ।
मेरो जन्मदिन मनाउने कि नमनाउने ? बुबा, आमा र परिवारमा छलफल हुन्छ ।
आमा राजी हुँदिनन् । बाबा भन्छन्– ‘मनाउनुपर्छ । नमनाउने भन्ने के छ ? तिमीले भनेकी थियौ, ‘बर्थ–डे’मा आफैले फ्रक डिजाइन गर्छौ । तिमीले राम्रो फर्क बनाउनू छोरीको लागि ।’
नजिकका नातेदार मात्र जुटाइन्छ, मेरी हजुरआमाको चाहनाअनुसार ।
‘हेप्पी बर्थ–डे’ लेखिएको केक टेबलमा छ ।
म गुलाबी जामा लाएर बाबाको काखमा छु । बाबाले हात समातेर केक काटिदिन्छन् ।
ताली बजाउँछन् मनलागी–नलागी जुटेकाहरू ।
सबैको एक–आपससँग प्रश्न छ ।
घरका सदस्यहरू खानाको तयारीमा भान्छा र यताउता हुन्छन् ।
कानेखुसी चल्छ–
– यस्ती जन्मेर के खुसी छ र बर्थ–डे मनाएका होलान् ?
– हो त आजको दिन साह्रै अलच्छिना दिन यो हो यिनीहरूको लागि ।
– पछि बोल्न पनि सक्दिन रे, हो ?
– ल थाहा थिएन, बोल्दा पनि बोल्दिन, सुत्न पनि सक्दिन ।
– हरे जीवनभरको सकस बाबु–आमालाई ।
– हरे, यस्तो मासुको डल्लो बाँच्नुभन्दा त मरेकै बेस !
मेरो मुटुमा रोपिइरहेछ शब्द–वाणहरू ।
मेरी आमाले सुन्नु परेन । म हर्षित छु ।
सबै निस्कन्छन् भोज खाएर ।
आमाले आजको दिन झन् बढी अँगालोमा चेप्छिन् मलाई ।
बाबाले माया गर्छन् ।
म समाहित छु आमा–बाबुको मायामा÷स्नेहमा ।
मेरी आमाले भन्छिन्– ‘मिल्छ भने म मेरो गर्भमा बोकी हिँड्थेँ, सुरक्षित अङ्ग बनाएर ।’
– म जन्मनु मेरो आमा–बाबुको पाप रे ।
– म जन्मनु मानौँ उनीहरूको अपराध रे । त्यही पाप र अपराधको भोगाइ, म सबैका आँखामा ।
म मेरा बाबुको शरीरमा समाजको वचनले लगाएको कोर्रा टुलुटुलु हेरिरहेछु ।
मलाई त्यो हेर्दैमा आफ्नोबारे सोच्ने फुर्सद छैन ।
– भोलि मेरो के हुन्छ ?
– न मेरा कोही साथी हुनेछन् ।
– न म अरूझैँ खेलकुद रमाइलो गर्न सक्नेछु ।
– न आमाले सोचेकै केही गर्न सक्छु । गायिका बनाउने मेरी आमाको सपना ! म भने शब्द उच्चारणसमेत गर्न सक्दिन ।
– न मेरो त्यो पछाडिको अर्को सुन्दर संसार नै हुनेछ । आमाले एक दिन मजस्तैहरूको स्याहारकेन्द्रमा लगेकी थिइन् । मझैँ थिए धेरै त्यहाँ । हामी हाम्रो भाषामा बोलिरहेका थियौँ । हाम्रो पीडा साझा थियो । हाम्रा आमा–बाबुका भोगाइ उस्तै थिए ।
आमाको मनमा झिनो आशा रहेछ–
म बामे सर्छु कि भन्ने ।
तर म बामे सर्न सक्तिनँ ।
काकाकी छोरी टुकु–टुकु हिँड्छे ।
आमा मलाई समातेर उभ्याउन खोज्छिन् । म ढल्छु ।
आमा मलाई हत्तपत्त भित्र लुकाउन लैजान्छिन्; कोही घरमा आए भने ? आउनेहरूको आँखाले मलाई डस्छ, राम्ररी बुझेकी छन् मेरी आमाले । मलाई डस्दा उनलाई दुख्छ ।
घरको अर्कै दबाब छ बाबामाथि । अर्की स्वास्नी बिहे गरेर सग्लो बच्चा जन्माउने । हजुरआमा भन्छिन् आमालाई– ‘हाम्रातिर त बाह्र पुस्ता कोही थिएनन् खोटा । तिम्रोतिर को थियो ?’
आमाको कोख ठीक रहेनछ भन्ने निक्र्योल निकालिन्छ ।
 
मेरी आमा समाज, आफन्ती हुँदै घरभित्रबाट नै चिथोरिन लागिन् ।
बाबा अफिसको पार्टीमा जानुभयो भने एक पेग हुस्कीमा पनि मेरै चर्चा हुन्छ, ‘के गर्नु सरहरूको जीवनले मोड नै अर्कै लियो है ।’ सान्त्वनाले भरिन्छ गिलास । भन्छन्– सरलाई जीवनभर गाह्रो हुने भो ।
‘के कुरा गर्नु’भा ? मेरी छोरी मेरो लागि कुनै भारी हो र ?’
हल्का र गाह्रोको कुरा ।
बाबा रिसाउँछन् । कति जनासँग रिसाउनु ?
अब आमा प्रस्ताव राख्छिन्– ‘हामी यस्तो ठाउँमा जाऊँ न, जहाँ हामीलाई चिन्ने कोही नहोस्, मात्र हामी दुई र हाम्री छोरी !’
बाबाको तर्क– ‘हामी किन भाग्ने; हामीले के अपराध गरेका छौँ र ?’
‘त्यसैले त भनेको । जहाँ दुख्छ त्यहीँ ताकेर हान्छन् मान्छेहरू, जानी–जानी निसाना बनाएर । अहिले पो छोरी सानी छ । केही बुझ्दिन । भोलि ठूली हुन्छे आफ्नोबारे जान्ने हुन्छे । कसरी बाँच्छे यो समाजमा; यी आँखाहरूको बीच ?
आमाको आँखामा आँसु छ ।
म आँसु पुछ्न सक्दिनँ ।
हो, साह्रै खोस्रिए मेरो शरीरलाई । दुखेको छ मलाई पनि तिम्रो दुखाइ ।
म तिनीहरूको ममता पाइरहन बाँचिरहन चाहन्छु । के तिमी चाहँदिनौ म तिम्रो काखको नानू बनिरहूँ ?
म तिनीहरूकी सानी छोरी ।
म ममता अनुभव गर्न सक्छु, टाढैबाट पनि ।
आँखाको ज्योति नभए पनि म तिनीहरूलाई देखिरहेकी छु ।
आहा, कति मीठो हेराइ !
आहा, कति मीठो स्पर्श ! कति मीठो माया !
कति मीठो स्वर । नसुनेर नै सुन्न सक्छु ।
यति पर्याप्त छैन मलाई ?
– म हिँडेर के हुन्छ ?
– म बोलेर के हुन्छ ?
म हिँड्नु, के हिँड्नु ? भूकम्प हिँडाइ,  म नहिँडेकै बेस ।
मैले बोल्नु, के बोल्नु ? असत्य, झुटा अनि अर्कालाई रुवाउने वचन । म बोल्न नसकेकै बेस ।
सुन्नु, के सुन्नु ? अशुभ वाक्य, मैले सुन्न नसकेकै बेस ।

 

Comments

Arun kumar sigdel

very nice n heart touch story.

Lok Nath Joishy

साँच्चै नै मनलाई छोयो. म आँशु झर्ला-झर्ला जस्तो स्थितिम़ा पुगेको थिएं. एक साँस मै कथा पढेर सिद्ध्यायें-साह्रै मर्मस्पर्शी कथा.  

gita

great, one can flow all the way to end the story. Beautiful, dear sis. 

Aavash

eyes became full of tears,but could not speak.
soundless sound just can be heard by heart only.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |