म कतिबेला कबिता लेखुँ?
दीप्स शाह , (हाल: इजरायल )
म कतिबेला कबिता लेखुँ?!
कहिले हृदयको मयुर नाच्छ पंख फुकाएर
क्षितिजले भाबनाको ओइरो लगाइदिन्छ
आकाश झुकाएर
भन्छु; खुसियालीमा एउटा गज्जबको कबिता लेखुँ
भावनाका गेडा बटुलेर महान काब्य सिर्जुँ
एउटा प्रित फुल्ने
सानन्दी मखमली झुल्ने
हार्दिकताको रेशमी डोरो आविस्कार गरुँ
जो स्मृ तिको किनारैकिनार सल्सलाउँदै
तिम्रो हृदयगंगामा एक भंगालो पसोस्,
प्रफुल्लताको झिल्को टिल्पिल गर्दा
वासन्ती सपनामा सजिएर
हठात् तिमी उक्लिन्छौ कल्पनाको माथिल्लो खुट्किलो
उसै मनको झोलुङ्गोमा चचहुइ हुइँकिदा
सहसा आँखाको किनार चिसो भैदिन्छ
उफ्फ! चिसो बिछ्यौनामा
बेढङ्ग लडेर ताप्न थाल्छु बिछोडको असह्य अगेनु
तिमी नै भन
तब म कतिबेला कबिता लेखुँ?
कहिले दुरीले पोल्छ भत्भती
प्राप्तीको अधकल्चो आक्रिती उभिन्छ भग्न अनुहार लिएर
बतासले डाँडा काट्छ रुखका सारा पात सर्सराएर
सिर्फ 'म' लाई नछोएर
सोच्छु; बियोगमा एउटा हुनसम्मको कबिता लेखुँ
संतापका रापिला उच्छ्वास बटुलेर आँसुको काब्य लेखुँ
हृदयको पत्रपत्र उधिन्ने
पछी छुटेका हरएक मोड सम्झाउने
हृदयबिदारक त्यस्तो आर्तनाद सिर्जनामा उभ्य्याउँ
जो शब्दको बाटोगरी सुलुत्त मनमनमा घुसोस्,
अधुरो जिन्दगीको अपुरो रहरहरुमाझ
सन्तोषको बिम्व यदाकदा झल्किदिन्छ
शायद जीवनको जित यही हो झैँ
फेरी तिमी उभिन्छौ मनको नेपथ्यमा'
'हौ' र 'हैनौ' को मझधारमा लर्बरिँदा
उत्साह भागीसक्छ
उफ्फ!सिर्फ सन्नाटा छोडेर
एकान्तको चिसो जून ओढेर खोतल्न थाल्छु हृदयमा गढेका यादहरु
तिमीनै भन
तब म कतिबेला कबिता लेखुँ!!