हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

मितेरी संगीतका सूत्रधारः गोपाल योञ्जन

प्रकाश सायमी , (गोधुली संसार)


गोपाल योञ्जनको देहान्त भएकै हप्ता काठमाण्डूमा आयोजित एक शोकसभामा गीतकार चेतन कार्कीले भनेका थिए, “गोपाल योञ्जनको देहान्त हुनुको तीन कारण छन्, उनको अति भावुकता, मद्यपान र तेस्रो प्रमुख कारण भनेको उनको परिवार ...। ”
त्यतिवेला शोकाकुल स्थिति भएको कारणले गीतकार चेतन कार्कीले तेस्रो प्रमुख कारणलाई स्पष्टोतर बनाउन सकेनन् । र, अझै पनि त्यो कुरालाई प्रष्टोक्ति गर्न सहज भइसकेको छैन । गोपाल योञ्जनका निम्ति सदैव परिवार प्रमुख कारण रह्यो । उनका दुई परिवार थिए, आफ्ना दुई छोरा र एक छोरी सहित सपत्नीकको परिवार र आफ्ना सांगीतिक चेलाचेलीसहितको मधुर परिवार । यी दुई परिवारसितको संसर्गमा उनको  साहित्यिक र सांगीतिक जीवन यात्रा चलिरहेकै वेला  भारतको दिल्लीस्थित अपोलो हस्पिटलमा देहान्त भयो, सन् १९९७ मा ।
त्यो समय नेपाल पनि परिवर्तनकै संघारमा एउटा लडाइँ लडिरहेको थियो, सत्ता परिवर्तनको निम्ति राजा, शासक दल र विद्रोही दल । गोपालको स्वरमा नेपाली नेपालको माया छ कि छैन अकास्सिएर गुञ्जिरहेको घडीमा गोपाल निशब्द भए ।
एक अध्यापक, एक शालीन संगीतकार एक चिन्तनशील गीतकार । सरकार र राज्यले कहिले प्राज्ञको रुपमा नपत्याएको एक विद्धान संगीतकार राष्ट्रिय झन्डा नओढाइकन यो राष्ट्रबाट विदा भए ।
गोपाल योञ्जनको जन्म र संघर्ष
गोपाल योञ्जनको भारतको दार्जीलिङमा जन्मेका थिए । एउटा संघर्षशील परिस्थितिमा उनको जन्म तामाङ परिवारका उनको जन्म भएको थियो । छेकुमाया डोल्माको गर्भबाट धेरै छोरीहरुको मात्र जन्म भएको परिस्थितिमा छोराको अपेक्षामा लामाहरुको ठूलो पूजाअर्चना मध्ये मेडिसिन बुद्धको पूजा गरेर जन्मिएका गोपालको चिनाको नाउँ सिकन्दर थियो ।  सिकन्दर, उर्दू भाषामा राजाको नाउँ हो । उनी नेपाली सुगम संगीतमा राजा कै जस्तो स्थानमा बस्न  पुगे । उनले बनाएका गीत, संगीत नेपाली भाषाका मूल धन हुन पुगे ।
गोपाल योञ्जन  जन्मिँदा भारतवर्ष स्वतन्त्रताको लडाइँ लड्दै थियो र ब्रिटीश साम्राज्यबाट मुक्ति खोज्दै थियो । र, उनकै परिवार पनि एउटा छोराको स्वागत गर्न आतुर  थियो । उनको जन्मपछि योञ्जनपरिवारमा मुक्तिको लहर देखियो ।
गोपाल योञ्जनले संगीतजगतमा प्रवेश गर्दा नेपाली आधुनिक संगीत भारतीय संगीतको प्रभाव र नक्कलबाट विस्तारै मुक्ति खोज्दै थियो, त्यतिवेला भर्खरै रत्नदास प्रकाश, मित्रसेन, हरिप्रसाद रिमाल, उर्मिलादेवी शैलीका गीतबाट विस्तारै नेपाली आधुनिक संगीत नवभाषिय स्वरमा प्रवेश गर्दैथियो । त्यसैसमय उनका गुरु अम्बर गुरुङसहित नातिकाजी र शिवशंकर अनि नारायणगोपाल, प्रेमध्वज  प्रधान, माणिकरत्नले नयाँ बाटो बनाइसकेका थिए । यसै बाटोलाई पछ्याउँदै गोपालले आफू र आफ्ना दाजु कर्म योञ्जनको नेतृत्वमा हिमालयन कल्चर ग्रुप खोले जसमा दिलमाया खाति, नगेन्द्र थापा, पिटर जे कार्थक आदि सम्बद्ध भए । यसै समूहबाट उनले धेरै गीत रचना र  संगीत गरेर दिलमाया खाति अनि कुमार सुब्बा अनि मणिकमल क्षेत्रीको स्वरमा रेकर्ड गरे । यिनै गीतका आधारमा नगेन्द्र र गोपालको जोडी बन्यो । यसपछि विस्तारै गोपालले आफ्ना गुरु ईश्वरवल्लभका गीत पनि संगीत गर्न थाले , सारा दिन अरुलाई बाँडे शायद यी रात मेरा  यसै समयका उपज हुन् ।
यिनै ईश्वरवल्लभ भट्टराई मार्फत् गोपालले त्यससमयका उदीयमान नेपाली  गायक नारायणगोपाल गुरुवाचार्यलाई चिन्ने मौका पाए । सन् १९६५ को मार्च महिनामा नारायणगोपाल दार्जीलिङ गएको मौकामा गीतकार ईश्वरवल्लभले महाकाल डाँडाको मन्दिरमा मकलमा आगो बालेर दुई गोपाल (नारायण र गोपाल ) लाई मीत लगाइदिए । यसपछि मीतज्यूको जोडीले बीससाले नेपाली संगीतमा ठूलो परिवर्तन र क्रान्ति ल्याइदियो । यही समय नारायणगोपालले गोपाल योञ्जनको संगीत र रचनामा कालजयी गीतहरु गाए, त्यसमा कुनैमा नगेन्द्र थापाको शब्द कुनैमा कर्म योञ्जनको संगीत रह्यो । स्वरको उँचाई र संगीतको सादगीपन र सौहार्द्रपक्षले नेपाली सुगम संगीतलाई विस्तारै स्वर्णिम युगको संघारमा पु¥यायो । गोपाल योञ्जनका ए मलाई माया गर्छु भन्ने हजुर, विर्सेर फेरि मलाई नहेर, तिम्रो जस्तो मुटु मेरो पनि, विहान नभइ सारा शीत बतासले सुकाइदिन्छ, लौ सुन म भन्छु मेरो राम कहानी, मेरो गीत म उभेको धूलोले सुनोस् , मेरो गीत मेरो प्रतिविम्ब होइन जस्ता गीतले मीतज्यू संगीतमा परिवर्तन ल्यायो भने नारायणगोपालीय स्वरमा एक छलाङ ल्याएको संगीतप्रेमी जनसमाजले महशुश गरे ।
आर्ट एकडेमीका संस्थापक अम्बर गुरुङ नेपाल भास्सिएपछि उनका चार सक्रिय चेलाहरुमा रञ्जित गजमेर मुम्बई गए, कर्म योञ्जन र शरण प्रधान दार्जीलिङमै बसे । त्यसमध्ये एक चेला गोपाल आफ्ना योञ्जन  नेपाल आए ।
दार्जीलिङका ‘कलाकारलाई कि त नेपालले लान्छ, कि त रक्सीले खान्छ’ भन्ने बँगाली उखानलाई पुष्टि गर्दै गोपाल आफ्नी आमा छेकुमाया योञ्जन र आफ्नी प्रेमिकालाई  प्रवासमै छोडेर नेपाल आए । गोपाललाई नेपाल ल्याउन उनका सहपाठी एवम् गीतकार मित्र नगेन्द्रबहादुर थापाले आमा छेकुमायासित गोपालको हात माग्नुपरेको संस्मरण नगेन्द्र थापाले बागीना संगीत पत्रिकामा उल्लेख गरेका छन् ।
मितेरी संगीतको शुरुवात्
गोपालले नेपाल आगमन पछि आफ्ना मीत नारायणगोपाल गुरुवचार्यसित मिलेर असंख्य गीतहरू रेकर्ड गरे, त्यसमध्ये धेरैजसो गीत रेडियो नेपालको प्रतियोगितामा पुरस्कृत पनि भए, गल्ति हजार हुन्छन् यहाँ होश हराएको बेला, त्यसैवेलाको एउटा निशानी हो । यही समय नारायण र गोपाल मिलेर म्युजिकल स्वायरी (सांगीतिक संध्या) आयोजना गरे , यो कार्यक्रम काठमाण्डू, पोखरा लगायत अन्य सहरमा पनि प्रदर्शन गरियो जसका निम्ति रुपरेखाका सम्पादक उत्तम कुँवर र गीतकार किरण खरेल जसका सहभागी भए । उनैको बलमा गोपालीय गीतहरु मञ्चस्थ भए ।
गोपाल योञ्जन काठमाण्डू आएपछि नारायण र गोपालले मेजर वर्क गर्न नपाएपनि भूपि शेरचनको अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बारीमा वा डा राममान तृषितको मैले पुण्य मन पराए या पाप मन पराए जस्ता गीत संरचना गरे । बीस र तीसको दशकमा नारायण र गोपालको मीतज्यू संगीतको दबदबा भएकै बेला फेरि दुवैले नेपाली चलचित्रले प्रवेश गरे । विक्रमाब्द २०३६ पछि बनेका चलचित्रमा गोपाल योञ्जनको संगीतमा चलचित्र सिंदुरमा नारायणगोपाल पाश्र्वमा गुञ्जिए , यस चलचित्रमा नातिकाजी श्रेष्ठको पनि संयुक्ति कायमै थियो । यसपछि निजी क्षेत्रबाट बनेका चलचित्रमा कान्छी बाट गोपाल योञ्जन, नारायणगोपाल र चेतन कार्कीको त्रिकोण बन्यो । कान्छी का गीतबा गोपाल र नारायणले करामत नै गरे, ई ओठ तिम्रा, हिमाल सरि म आइरहेछु, छोरीको जन्म जस्ता गीतले दुई मीतज्यूलाई स्थापित बनायो भने गोपाल र चेतन कार्कीको रचनामा कान्छी हे कान्छी गीत नारायणगोपालको हे कान्छा र शरण प्रधानको यो जोवनलाई सलाम जत्तिकै लोकप्रसिद्ध भयो ।
यसअगि गोपाल योञ्जनले नारायण र नगेन्द्र थापासित मिलेर शाही नेपाल चलचित्र संस्थानको बद्लिँदो आकाश, मा ख्याति बनाइसकेका थिए । नगेन्द्र थापाको शब्दमा गोपाल  योञ्जनको संगीतमा बद्लिँदो आकाश नामक् शीर्षक गीतबाट नारायण र गोपाल पुनस्र्थापित भइसकेका थिए ।
गोपाल योञ्जनका कति गीतमा नारायणगोपालले न्याय गरेका छन्, केही गीतमा अति न्याय गरेका छन् । थाहै हुँदैनथ्यो , नारायणगोपालको स्वर गोपालको संगीतको लागि बनेको हो कि गोपालको संगीत नारायणगोपालको लागि जन्मेको हो ? दुवैले दुवैको साधना र साहसलाई बुझेका थिए । दुवै भाषालाई अति माया गर्थे । दुवै प्रयोगधर्मी थिए । दुवैका पत्नी दार्जीलिङ निवासी थिए । दुवैका पत्नी नेपालीभाषी नभएर सिक्किमे र भोटे थिए । तर दुवैमा एक असमानता थियो, चरित्र र व्यवहारको । गोपाल योञ्जन शाकाहारी थिए, नारायणगोपाल ठीक वैपरित्य चरित्रका जे पनि खाइदिने । नारायणगोपाल सहनै नसक्ने विद्रोही । गोपाल अत्यन्त सहनशील र शालीन , यसको एउटा अनौठो उदाहरण छ, नारायण र गोपालको स्वायरी चलिरहेको बेला उपन्यासकार पारिजातले सो कार्यक्रमको आलोचनात्मक टिप्पणी गरेवपछि नारायणगोपाल कलम लिएर प्रत्यक्ष हमलामा उत्रिए र लेखे, आफूलाई बौद्धिक भनाउने साहित्यकार नै संगीत बुझ्दैनन् । ”
पारिजात र नारायणगोपाल बीच लामो कलम युद्ध चल्यो गोरखापत्र मार्फत् तर त्यसमा नाताले पारिजातका भाइ पर्ने गोपाल मौन रहे । त्यस्तो थियो उनको चरित्र र स्वभाव ।
नारायणगोपाल र गोपाल योञ्जनका जोडी चालीसको दशकको शुरुवातमा आएर टुङ्गियो, दुवै अलग्गिए । मीतज्यू संगीत कालघाटको किनारमा आइपुग्यो । दुवै एक अर्काका प्रतिद्धन्दी देखिए ।
दुवैले फरक फरक शैलीमा काम गरे । नारायणगोपाल नयाँ संगीतकारतिर आकर्षित भए, गोपाल योञ्जन नयाँ गायक गायिकातिर । दुवैले दुई तिर नेपाली सुगम संगीतलाई माथि नै उकासे । तर दुवै जोडी टुट्नुको अपजस द्धय पत्नीलाई गयो जुन गलत हो वास्तवमा दुवैको विमति वा असंगति शुरु भएको एउटा गीतबाटै हो, त्यो थियो चलचित्रको गीत । विश्वास  फिल्मका लागि गाइनुपर्ने अंगअंगमा तरंग ल्याई बोलको गीत अभ्यास गर्ने क्रममा मीतज्यूको जोडी अन्तको कगारमा आए ।
नवपुस्तामा गोपाल
गोपाल योञ्जनका धेरै गीत नयाँ पुस्ताले गाउने खालका छन् तर  उनका सबै गीत मा युवाचेतना, युवा मन भइकन पनि नयाँ पुस्ताले गाउन पाएका थिएनन् ः त्यो शृँखला ढिलो गरि चालीसको दशकपछि मात्र शुरु भयो । त्यसक एक शिकार थिए, त्यतिवेला चर्चित युवा गायक दीप श्रेष्ठ । उनले नारायणगोपालसित गोपाल योञ्जनको जोडी टुटेपछि मात्र चलचित्र मायापिरतीमा आकश रंग हजार धरतीको ढंग हजार गाउन पाए । प्रकाश श्रेष्ठ, किरण प्रधानले पछि मात्र मौका पाए भने गायिकामा विमला राई, संगीता प्रधान पछि मात्र देखा परे र त्यो पनि कम समयका लागि मात्र । विमला राई कान्छी चलचित्रबाट आए भने रियाजी आवाज भएकी संगीता प्रधानले श्रीपुरुष ढकालको शब्दमा झझल्को आउँछ नि सँधै बोलको एउटै गीतमा आफ्नो ख्यातिलाई कायम राख्नु प¥यो । नुपूर भट्टाचार्य, सुनीता सुब्बा, लोचन भट्टराई, मथुरा प्रधानले एकाध गीतमै सन्तुष्ट हुनुपर्ने अवस्था आयो ।
युवापुस्ताका गायकमा उदीतनारायण झा ती भाग्यमानी गायक मध्ये हुन् जस्ले गोपालका पहिलो झमकका धेरै राम्रा गीत गाउने मौका पाए । ती सबै गीत सदाबहार र कालजयी रहे, कहिलेकाहिँ मनको कुरा हामीलाई पनि भन, वा नगर माया कसैलाई मायाको केही भर हुन्न जस्ता गीत पर्छन् ।
चलचित्र संगीतमा गोपाल
गोपाल योञ्जनले बाल गीत, राष्ट्रिय गीत, भक्तिगीत, लोकगीत सबैधारका गीत गरेपनि उनको प्रिय गीत धेरैजसो चलचित्रले नै पाए । वा भनौँ उनी आएपछि नेपाली चलचित्र संगीतले आफ्नो मुहार बदल्न सफल भयो भन्न सकिन्छ । पञ्चायतकालको चलचित्र निर्माण संस्था शाही नेपाल चलचित्र संस्थानले उनलाई सिँदूर चलचित्र मार्फत् नातिकाजीका साथमा संयुक्त प्रवेश दिएपछि  उनले अर्को जन्म, कान्छी, मायापिरती, विश्वास, पहिलो प्रेम, राँको, भुँवरी आदि प्रमुख रहे तर कान्छी र मायाप्रीतिका गीतले उनलाई जीवनकालसम्म अद्धितीय संगीतसाधकका रुपमा चिनाइरहने निश्चितान्त  छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |