मन
नर बहादुर दाहाल, (दार्जिलिंग)
जति संकीर्ण बनाए पनि
संकीर्ण हुने
यो क्षुद्र मन !
जति फैलाए पनि
फैलिएर जाने
यो विशाल मन ,
जति डुलाए पनि
डुलिहिँडने
चंचल मन |
जति स्थिर राखे पनि
स्थिर भैरहने
यो एकाग्र मन,
जति ढाके पनि
ढाकिने
यो गोप्य मन,
जति खोले पनि
सबै खोलिने
यो उदाङ्ग मन
जति बाँडे पनि बाँडिने
कति उदार मन ।
यो मन,
कहिले कस्तो,
कहिले कत्रो,
ढाकौं,
तिनिहरूसित
जो कहिल्यै आफ्नो मन खोल्दैनन्
मन लिन्छन्
तर
मन दिएर बोल्दैनन् ।
कहिले ढुँगा भन्दा कठोर मन,
कहिले फूल भन्दा कोमल मन ।
दिएर सकिँदैन
कहिल्यै कसैलाई यो मन
तर
दिन सकिँदैन
जसलाई पायो उसैलाई यो मन
Comments
shanti sapkota
यहाँको यो मन कविताले मेरो मनै छोयो.........