हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

भ्यागुताहरु

ऋषि बस्ताकोटी, (क्यालगरी, क्यानाडा)


मकैबारीमा च्याउहरुले ढाकेको बेला

रछ्यानबाट उठेर

एक हुल भ्यागुताहरु

जुलुस लगाउँदै

मेरो कोठामा प्रवेश गरे

मेरो एकान्तलाई

भत्काउँदै

सन्नाटालाई चिर्दै

भ्यागुताहरु मेरो कोठामा

दौडे

उफ्रे

खेले गाए नाचे

मानौ यो उनीहरुको

वपौती हो

पृथ्वीनारानले आर्ज्याको राज्यमा

उनैका सन्तानहरुले

एकछत्र राज चलाए झैं
भ्यागुताहरुले मेरो कोठामा

रवाफ चलाइरहे ।

गीत गाइरहे

हँगामा मच्चाइरहे ।

 

मकैबारीमा च्याउले ढाकेको बेला

रछ्यानबाट उठेका

यी भ्यागुताहरुले

पुर्खादेखीको बल लगाएर

मेरो ओछ्यान ताकिरहे

कोठाभरि प्रदुषण छरेर

मेरो निष्ठा र प्रतिष्ठालाई

चिमोट्न चाहिरहे ।

बर्खाको ओसले मातेका

यी भ्यागुताहरुले

विजय उन्मादमा

आफ्नो ओजन र आयतन संझे

  आफ्नो उचाइ संझे

न त आफ्नो शिशिरका अन्तिम सिलसिलाहरु

केवल

उनीहरु त यौटा आतंक र यौटा प्रदूषण बोकेर

मेरो कोठाभित्र कुदिरहे

चिच्याइरहे

उफ्रिरहे ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |