हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

एम्बुस

सञ्जु बजगाईं, (ब्रसेल्स, बेल्जियम)



टिरिर्रर्र... सेल फोनको घण्टी बज्यो । नो नम्बर ! नम्बर नदेखिने कल किन उठाउने ? विदेशबाट फर्किएको थाहा पाएर धम्की फुक्न पनि सक्छ । या त घरको एउटा तलै उनीहरूको कार्यालय बनाउन माग्न पनि हुन सक्छ या अरू केही ‘नन्सेन्स’ कुराको लागि हुन सक्छ । ऊ फर्किएको समय नै यस्तै छ कि ती मान्छेलाई के दोष दिने ?
ज्योतिले फोन उठाइन ।
एकैछिनमा ‘मेसेज टोन’ बज्यो ।
“हाई ज्योति, तिमी आएको थाहा पाएर वेलकम भन्न कल गरेको थिएँ, बिजी भएर होला फोन उठेन । केही छैन, म भरेतिर अर्को पटक फेरि गर्नेछु ।”
मेसेज सुन्दा चिनेकै आवाज हो ! तर कसको ? यत्तिका बर्षपछि सम्पर्कमा आएको त्यत्तिका पुराना आवाजहरू मध्येको को थियो ऊ ? ज्योतिलाई हेक्का भएन । तर नम्बर कहाँबाट मिल्यो ? साँच्चै त विद्याले फेसबुकको वालमा सोधिपठाएकी थिई– तिम्रो नं. ४११२३४५६ हैन त ? यस अर्थमा त्यो कल गर्ने फेसबुकमै भेटिने कोही थियो । ज्योतिले सकेसम्म त नचिनेका कसैलाई साथी बनाएकी छैन । उसको वाल हेर्ने भनेपछि पक्कै चिनेकै कोही हो । कुरा यहाँसम्म थाहा भो ।
“चिनेको मान्छेले उसको नम्बर लुकाएर किन रिङ्ग ग¥यो ।” शङ्का गर्नुपर्ने ठाउँहरू प्रशस्त थिए ।
टुक्रिएर छरिएको उसको विगतलाई पुनरावृत्ति नगर्ने सोंच लिएर फर्किएकी छ ऊ । के अब साँझमा फेरि बज्ने त्यो अन्जान रिङको जवाफ दिई उसले भने यो सम्भव होला त ? ऊ औँलाहरूलाई दबाउन थाल्छे । ओठ टोकेर आँखीभौँ तन्काउँछे । निष्कर्ष निस्कँदैन ।
“साँझको कल बसन्ती भाउजूले उठाउनेछिन् ।” अर्को एकपटकका लागि फेरि बसन्ती भाउजू काम लाग्ने भइन् ।
दौडिदै कौसीमा पुगी ।
“बसन्ती भाउजू....., ए बसन्ती भाउजू !”
कौसीमाथिबाट अरू छिमेकीलाई बिथोल्ने गरी चिच्याउनु सभ्यता होइन । टर्नओभर स्ट्रीटको उसको अपार्टमेन्टको बाल्कोनी भलै हो र ? ज्याक्सनले भए ‘आई वील कल द पोलिस’ भनिसक्थ्यो । कसले रोक्छ उसको आफ्नो देशमा ?
“हे ज्याक्सन, यू आर नो मोर हियर ।” ज्याक्सनको अनुपस्थितिमा ज्योति अझ च्याँठिन्छे– “बसन्ती भाउजू.... ए बसन्ती भाउजू ।”
बसन्ती भाउजू तिनको घर पछिल्तिरको करेसामा निस्किसकेकी थिइन् ।
“के जरुरी भो मैयाँ हजुर ?” तलबाट माथितिरकी ज्योतिलाई हात हल्लाउँदै बसन्ती भाउजूले जनाउ दिइन्–“केटाकेटीलाई खाजा दिएर तपाईंकैतिर आउन लागेकी ।”
ढुक्क भो उसलाई ।
साँझको कलको पर्खाइ छ । बसन्ती भाउजू कस्सिएकी छन् । फोन टेबलमा छ । मास्क लगाएको त्यस नम्बरलाई नचिनी भएकै छैन ।
“हैन ए मैयाँ, यो मान्छेको आवाज मेसेजमा सुन्दा मलाई पनि चिनिराखेको कोही हो कि जस्तो लाग्छ है ।” बसन्ती भाउजू थप्छिन्– “लौ ह,ै गोरेका देशबाट यस्ती गोरी भएर फर्किएको चाल पाएर होला ।” उनलाई यस्ता ठट्टामा कसले भेटोस् !
घण्टी बज्यो ।
टिर्रर... टिर्रर.... ।
“हेलो.... , को बोल्नु भो ?” भाउजूले चह¥याउँदो आवाज निकालिन् ।
“हेलो... म मेघ, तपाईंको आवाजले त तपाईं ज्योति नहुनु पर्छ । ज्योतिजीलाई पाउँन ।” त्यसले आफ्नो नाम बताएर ज्योतिसँग बोल्न पाउँ भनी सभ्य आग्रह ग¥यो ।
“को मेघ ?” त्यसै त बसन्ती भाउजू, उसमाथि ज्योतिको आदेश पाएकी !
“म मेघ शर्मा भनिदिनुहोस् न ।” उसले भन्यो ।
“कहीँ त्यो पुरानो मेघ एण्ड इन्टरप्राइजेजको त होइन ?” कान थापेर बसेकी ज्योति भाउजूलाई सोध्न अह्राउँछे ।
“तपाईं साँच्चै त्यही मेघ एण्ड इन्टरप्राईजेजको.... ?” भाउजूले लेघ्रो तानिन् ।
“हो ।” उसले भन्यो ।
“एकैछिन है त ।” प्रष्टै थियो नि । मेघ शर्मा भन्दै शङ्का लागेको उनलाई ।
“पहिले पनि अहिले पनि घानमा चैँ म ।” भाउजू आफ्नो छोटो अभिनय सक्दै ज्योतिलाई फोन बुझाएर फट्कारिँदै निस्किइन् ।
“हाई ज्योति ।” मेघ शर्माले संबोधन ग¥यो ।
“हेलो...।” बोझिलो ध्वनिबाट संवाद सुरु गर्दै उसले कौतुहलता जनाई– “मेरो नम्बर कसरी मिल्यो ?”
“खुशी लाग्यो फर्किएको थाहा पाउँदा । कति बस्ने योजना छ ?” मानौँ ज्योतिको प्रश्न सुन्दै नसुनेको जस्तो गरी उसले आफ्नै कुरा राख्यो ।
भन्छन्– हाई प्रोफाईलका मान्छेहरू जवाफ दिनभन्दा बढी अर्काको जवाफ सुन्न रुचाउँछन् रे । उसको नम्बर जसरी मिले पनि मिल्यो ! उसले बताउन चाहेन ।
“एक महिना ।” ज्योतिले भनी ।
“म भोलि दिउँसोतिर भेट्न आउँछु ।” उसले ज्योतिको घरको लोकेसन सम्झिए झैं गरी भन्यो– “घर त पुरानै ठाउँमा हो नि ? त्यो ठूलो पेट्रोलपम्प पछाडि ।”
“यो मान्छे त ज्याद्रो छ । भोलि पक्कै आउँछ, फेरि दगुर्दै कौसीमा पुगेर चिच्याई– “बसन्ती भाउजू..., ए बसन्ती भाउजू ।”
“मैयाँ, म भोलि दिउँसोतिर आउँला ।” भाउजूले पनि आँ गर्दा अलङ्गकार बुझे जसरी भनिन् ।

०००

बसन्ती भाउजू आइसकेकी छन् । मेघ शर्मा पनि आउँदै होला कतै बाटैतिर ।
“ए मैयाँ, म त देखा पर्दिन है उसका अगाडि । गफगाफ आफैं टुङ्ग्याउनु होला ।”  भाउजूले बटारिँदै भनिन्–“आफ्नो त मुखै छुचो छ ।”
“स्वार्थी कुराको बिट मार्न मुख छुचै भएको राम्रो ।” ज्योति भाउजूको छुचो मुखसँग सहमति जनाउँछे ।
“त्यस दिन पनि तपाईं त हामीलाई हात हल्लाएर इमिग्रेसनतिर छिरीहाल्नु भो ! फर्किएपछि ठाकठुक मैसँग भो ।” भाउजूले सुनाइन् ।
तल गेट बजेको सुनियो– खन्द्रङ्ग !
“कार !” अचम्म मानेर ज्योतिलाई हेर्दै भाउजूको मुख खुल्छ– “प्राइभेट नम्बर !”
“जिएम भयो क्यारे ।” ज्योति अड्कल काट्छे र निस्किन्छे ढोका खोलिदिन ।
“नमस्ते ।” ज्योतिले भनी ।
“नमस्ते ।” मेघ शर्माले सेलफोन र कारको चाबी हातमा बोकेको बहानामा एकै हातले नमस्कार फर्कायो ।
“कत्ति पछि भेट हुँदा पनि उस्तै देखेँ नि !” मेघ शर्माले दुई अर्थ लाग्ने भाषा बोल्यो । मतलब यत्तिका वर्षको अन्तरालले पनि पहिलेकै यथार्थलाई छोडेको छैन भन्ने थियो । आजकाल जनमानसमा फैलिएको ‘मै मात्र बाठो’ भन्ने सूत्रबाट मेघ शर्मा पनि टाढिएको रहेनछ ।
“अनि एक्लै फर्किएको ?” साथमा फर्किनेवाला कोही थियो भन्ने थाहा भए झैं उसले सोध्यो– “कस्तो रह्यो त विदेशको बसाई ?”
“फलदायी ।” उसले भनी ।
“थाहा लाग्यो ।” फेसबुकमा हेरेकोे फोटोको कुरा कोट्याउँदै उसले थप्यो– “मान्छे राम्रै लाग्यो ।”
मेघ शर्मा सिधै विषयवस्तुमा प्रवेश गर्न चाहन्थ्यो ।
“मेघ शर्मा नाउँको फेसबुक फ्रेण्ड मलाई भएजस्तो लाग्दैन ?” ज्योति सम्झिन  खोज्छे ।
“वर्षा शर्माको नाउँमा छु म ।” नक्कली परिचय खोल्छ । 
“पापाराजी शैलीको पूर्ण प्रतिनिधित्व गर्नुहुँदो रहेछ ।” उसले जासुसको संज्ञा दिँदै भनी– “कसैको निजी जीवनलाई छद्मभेषी भएर नियाल्नु राम्रो होइन ।”
प्रष्ट भो । मेघ शर्मा ज्योतिका प्रत्येक दिनहरूको जानकार थियो । उसले ज्योतिको पिछा छोडेको रहेनछ ।
“हामीले सकेसम्मको सान्त्वना बाँडेकै त थियो नि ।” आखिर उसले ज्योतिले बिर्सन खोजेको विगत सम्झाएरै छोड्यो ।
“न मैले मेरो लोग्नेको दुर्घटनाको जिम्मेवार तपाईं हो भनेँ, न सान्त्वना नबाँडेको भने ? मैले केवल त्यो सान्त्वनाका लागि तिर्नुपर्ने ऋण पो तिर्न असमर्थ छु भनेकी थिएँ ।” उसले फेरि पनि प्रष्ट्याई ।
हुनत हो, एम्बुसमा परेर चिन्न नसकिने भएको सरोजको लाशलाई बटुलेर ल्याउन सहयोग गर्नेमध्येको एक मेघ शर्मा थियो । काजक्रिया नसकिन्जेल दिनमा एकपटक भेट्न आउँथ्यो । साथी हुनुको कर्तव्य पूरा गरेको थियो । त्यसपछिका दिनहरूमा पनि उसको उपस्थिति बाक्लै भैरहन्थ्यो । आर्थिक सहयोग पनि गरेको हो उसले । बैगुनी कसरी मान्ने ? ज्योतिले पनि असल नै भनी । तर चित्त नबुझ्ने नाता जोड्न कसले मान्छ ? मेघ शर्माको प्रस्ताव उसले अस्वीकार गरी । बसन्ती भाउजूले त मुखै भनिदिएकी– “कहिले पालो आउला र खाउँला भनी बसेको कि क्या हो ?”
“सात समुद्रपार गएर जे गरे पनि सरोजजीको आत्माले शान्ति पाएन ।” गम खाएर उसले भन्यो ।
“मैले लोग्ने गुमाएर विधवा हुनुको अर्थ बिलौना गर्दै यतै बसेर रोइरहनु भन्ने थियो र ? उसले असहमत हुँदै भनी– “तपाईंको साथ दिएको भए झनै सरोजजीको आत्माले शान्ति पाउने थिएन ।”
मान्छे हुनुको एउटा विशेषता ! अर्कालाई आत्माग्लानी गराएर छोड्ने, जसको उदाहरण– मेघ शर्मा । बहस गरिरहेको छ कसैको निजी जीवनमाथि ।
“हाम्रो दौरासुरवालको पुरुषार्थ काफी थिएन र ?” उसले प्रश्न गर्दै भन्यो– “पिटर नै रोज्नुपर्ने के थियो ?”
“उसै पनि आँगन खनेर मझेरी पुर्नु एउटै हो ।” मेघ शर्मालाई आँखा घुराउँदै ज्योतिले थपी– “तपाईंको पुरुषार्थ काफी हो, तर मानसिकता छोटो !”
 कारण मानसिकता नै हुनसक्छ । पिटर प्रकृतिलाई निजी सम्झदैन । उसँग नाता जोड्दा रङ्गहरूको बार्गेनिङ हुँदैन । सम्बन्धलाई प्रेमले जोड्छ, रङ्गले होइन । योभन्दा ठूलो मानसिकता एउटी विधवालाई के हुन सक्छ ?
“बकिङ्गहम प्यालेस ठूलो हुनसक्छ तर व्यक्तिको मानसिकता बकिङ्गहम प्यालेस जत्रै होला भन्ने म मान्न सक्दिनँ ।” तर्क गर्न नआउने भए त्यत्रो पोष्ट कसरी सम्हाल्थ्यो ? तर्क बोल्यो उसले ।
बसन्ती भाउजू भित्तामा छेलिएर कुरो सुनिरहन्छिन् । ज्योतिले चिया, कफी जे चाहन्छ पियाउनु होला है भाउजू भनेकी थिई । चियाकफीको माहौल बन्ला जस्तै छैन । भाउजू दोधार हुन्छिन् ।
“तपाईंको मानसिकताको आकार कुनै प्यालेस जत्रो हुनुपर्छ म भन्दिनँ, केवल तपार्इंको कारको साईज जत्रो भए पुग्छ ।” बसिरहेको ठाउँबाट मेघ शर्माको छेउ पुग्दै उसले भनी– “हत्ते हाल्नुहुँदो रहेछ ! थाहा लाग्यो । पानी त आफ्नै मूलको मिठो भन्छन् अरूले पनि ! पिटरलाई तपाईंकै खातिर छोडिदिन्छु, के अहिले पनि मलाई स्वीकार्ने हिम्मत छ ?”
भाउजू जिब्रो टोक्छिन् । के थाहा ? कार आँगनमै छ । लौ हिँड, म स्वीर्काछु भन्यो भने मैयाँले एकसरो कपडा पनि झोलामा हाल्न नभ्याउलिन् । भाउजू सानोतिनो सुटकेश थमाएर पठाउँला भनी बसेको ठाउँबाट जुरुक्क उठ्छिन् ।
फेरि सेल फोन बज्यो ।
टिर्रर... टिर्रर.... ।
मेघ शर्मा फोन उठाउँदै भन्छ– “ओ, नो ! म दस मिनेटमा आइपुग्छु ।”
इमर्जेन्सी कल आएर निस्किएको मान्छे ज्योतिको एकमहिने बसाईभरी कहिल्यै देखिएन । शायद अपहरणमा प¥यो कि ?
 
ब्रसेल्स, बेल्जियम

Comments

subash paudel

brilliant story I like it  

deep

nice story..... 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |