हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

कथाकथित पात्रको खोजीमा

प्रकाश सायमी, (ललितपुर)


‘‘
मुम्बई स्वप्ननगरी, स्वप्नद्रष्टाहरुको यथार्थ, नक्कलीपनाभित्रको अन्तर्द्वन्द र चलचित्र क्षेत्रको अति रोचक चित्रण प्रस्तुती, नायिका मीनाकुमारी, निर्देशक बी आर चोपडा, उपन्यासकार राही मासुम रजा, गायक उदित नारायण पाकिजा फिल्म आदिको चर्चा, खलिल जिब्रानको जीवनदर्शन, हिटलरको अवसरदर्शन, रजनीशको उत्कृष्ट प्रेमदर्शन, भारतीय महिलाहरुको औसत व्यवहार, भारतीय देश कालअन्तर्गतको रचनागत वातावरणको तुलना भारतीय पूर्वोत्तर रेलवेसँग, वास्तवमा मेरो बुझाइको सीमाभित्रका कुराहरु अत्यन्त गाम्भीर्ययुक्त छन् । धन्यवाद प्रकाश दाइलाई यस्तो रचना पढ्ने अवसर प्रदान गर्नुभएकोमा ।"

      वर्षादी दिनहरूछापिएको दसमहिना सातदिन पछि फेसबुकको मेरो स्ट्याटसमा कृष्णसिँह पेलाले यूनिकोड फन्टमा लेख्नु भो, उहाँसित मेरो सशरिर परिचय त छैन तर उहाँको टिप्पणीपछि म निकै झस्किएँ । उहाँले यति गम्भिर रुपले पुस्तक पढेर लेख्नुभएको प्रतिक्रियाले म तरङ्गित भएँ । विहान करिब नौ बजे उहाँले प्रेषित गरेको यो प्रतिक्रियाले म करिब नौ बीससम्म झुमिरहेँ ।

मलाई लाग्छ, लेखकका रुपमा मैले लेखेको यो  रचना संस्मरण, नियात्रा वा आत्मगाथा जे भएपनि यो एउटा अतीतकथा हो जसमा म धेरै चक्रवात् भएँ । यो बम्बई, गुरु र वर्षादी दिनहरु शीर्षकमा नेपालको श्रेष्ठ साहित्यिक मासिक मधुपर्कमा छापिएको थियो । छापिएपछि मलाई पहिलो प्रतिक्रिया दिने पाठक क्याप्टेन जनकबहादुर राणा महफिल छोडेर हिँडिसके । त्यसबाहेक अन्य केही पाठक अझै पनि सम्पर्कमा छन् र यो कथा दोहोर्याएर भनिरहन्छन् । म चूपचाप सुन्छु, मानौँ यो मेरो नभएर अरु कसैको कथा हो । र, अझै पनि यो कथा यदाकदा मेरो जीवनको छनौटबाट गुज्रिरहन्छन् । केही साता अगि मेरा प्रिय कथाकार दिदी माया ठकुरीले एउटा दीवान्त भोजनमा बोलाएर यही कथा सुनाउनु भो र भन्नु भो, यस संस्मरणमा चित्रित अनिला मै हुँ जस्तो लाग्छ । उहाँको बोलीमा सरस्वति थियो हामी हाँसिरह्यौँ । हामी भन्नाले  कविताजस्तै शाश्वत लाग्ने मेरी जीवनसंगिनी अञ्जली, गीतजस्तै हुर्किरहेकी मेरी छोरी  प्रतिज्ञा र लेखन अनि अध्ययनमा साथ दिने कविमित्र गीता त्रिपाठी । त्यो समय माया दिदीले भनेको कुरामा जति सत्यता थियो त्यति नै सत्यता बोकेर मेरा अगाडि अनिला शास्त्री दृष्यिक भएर झुल्किएकी थिइन् । माया दिदीकै सौजन्यमा हामीले त्यो दिन च्याप्टर नाइनमा भव्य दीवान्त भोजन गर्यौँ, त्यो वर्षादि दिनको निम्ति पुरस्कार ठानेँ, जीवनमा कहिले पुरस्कार नलिने मेरा निम्ति 

यो पहिलो पटक लेखिएको मेरो संस्मरण तर त्यही  शीर्षकमै  रत्न पुस्तक भण्डारबाट विक्रमाब्द २०६७ को चैत्र ३ गते  किताबै निस्कियो । त्यो किताब  पढ्नेले जुन प्रतिक्रिया दिए त्यसबाट विम्बित छु । मेरा मित्र गायक दीपक खरेलले पुस्तक बजारीकरण भएको दिन पहिलो प्रहरमै  किन्ने वित्तिकै अड्डाबाट छुट्टी लिएर घर गएर पढेको र आफ्ना पिता चण्डिका खरेललाई पनि सस्वर सुनाएको प्रसंग  मलाई सुनाउँदा म आकाशचित्त भएको थिएँ । स्वरसम्राट नारायणगोपालपछिका  मेरा सर्वकालिक प्रिय गायक खरेलले किनेर पढेको र पढेर पिताजीलाई सुनाएको घटना भन्दा त्यो पुस्तकको निम्ति एक दिन विदा नै हापेको उदारताले म स्थिर र स्तब्ध भएँ, मोबाइलमा कुरा गर्दा गर्दै । उहाँले यो पुस्तक पढिसकेर पठाएको समोस (सरल मबाइल सन्देश ) अहिले सम्म मैले दैनिकीमा सुरक्षित राखेको छु ।

आज समयौँ पछि पेलाजीले पठाएको फेसबुक स्टायट्सले म झन् अचम्भित भएको सत्य अहिले छर्लङ्ग भयो ।

पेलाजीले आफ्नो विचारमा खलिल जिब्रान, हिटलर र रजनीश जस्ता चिन्तकको गुण गुणको गणितमा उल्लेख गर्नु भो । म रजनीशमा माथि दिइएको सिट्कम (नामाँकन गरिएको शीर्षक) मा अल्झिएँ ... रजनीशको उत्कृष्ट प्रेमप्रदर्शन ।

रजनीश बीसौँ शताब्दिका अन्तिम महान विचारक हुन् त्यसमा कुनै विवाद वा सन्देह अब रहेन, मलाई त कहिले पनि यस कुराको चिन्ता पनि भएन  । उनी मेरा निम्ति के थिए, भन्ने तर्कातीत तटतिर म जान चाहन्नँ । रजनीशसित साँच्चैको मेरो प्रेम कहाँबाट कसरी सुरु भयो म यकिन गरेर भन्न वा खोल्न सक्तिनँ । तर रजनीश नपढेको भए, म साहित्यको यति नगिच  हुने थिइँन । वा, यसो पनि भनौँ, साहित्य नपढेको भए म रजनीशको निकट पनि हुने थिइँन ।

रजनीश र साहित्य । साहित्य र रजनीश ।

वा रजनीशी साहित्य मेरो जीवनका एक्कासि आए । म सत्रको हिउँदमा थिएँ , काठमाण्डूको बजारमा भर्खरै दुइवटा घटनावली  सकेर गएको थियो, छत्तीससालको आन्दोलन । र, त्यससँगै भर्खरै सम्पन्न भएको विश्वप्रसिद्ध साँगीतिक समूह  गोदाइगोको म्युजिकल कन्सर्ट ।

नेपालको इतिहासमा पहिलो पटक सम्पन्न  भएको जापानी समूह  गोदाइगोको त्यस भव्य र सभ्य सांगीतिक झाँकीमा पत्रकार मदनमणि दीक्षितजस्तै म पनि एक साक्षी थिएँ । काठमाण्डूको दृश्यमान दशरथ रंगशालाको प्रेक्षालयमा हज्जारौँ हज्जार दर्शकका माझ अघिल्तिर बसेर सो कार्यक्रम हेर्न पाएको र नजीकबाट गायकहरूलाई देख्न अनि  सुन्न पाएको त्यो घडीले मलाई संगीतप्रेमी बनाइदियो ।

हाम्रो केटाकेटीको नाउँ राम्रो छ ..

नाउँ राम्रो छ .... बोलको उनीहरूको त्यो गीतले म धेरै दिन धेरै रात मधुमयी भएको थिएँ ।

बेलायतको रोयल अल्बर्ट हल र मेडिसिन पार्कमा हुने गरेका जस्ता शालीन कार्यक्रम नेपालजस्तो ठाउँमा पनि हुनु नेपालवासीको निम्ति कत्तिको खुसी कुरा थियो, त्यो करेन्ट आज पनि महशुश गर्न सक्छु    त्यसकारण पनि म सो कार्यक्रममा कोरसका रूपमा सहभागी थिएँ र समवेत स्वरमा तिनको गीत हाम्रो केटाकेटीको  नाउँ राम्रो छमा साथ दिन पुगेँ । गोदाइगोको साङ्गीतिक कार्यक्रम हेरेको दिन देखि सङ्गीतका सूरमा झङ्कृत हुन  थालेँ । सत्तरीको दशकमा विश्व संगीत बजारमा बिटल्सबाट भर्खरै विमुख भएका  जोन लेनन चर्चाको शिखरमा थिए, उनी  ख्रीष्टानका परमपिता क्राइष्ट भन्दा लोकप्रिय भइरहेकोमा विवाद यथावत् थियो भने  अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले उनी माथि गरेको प्रतिबन्ध सम्पूर्ण समाचारका शीर्षक बन्दैगरेकाथिए ।

हि इज रियल नोव्हेयर म्यान

सिटिङ्ग इन हिज नोव्ह्वेर  ल्यान्ड

मेकिंग अल् हिज नो व्हेर प्लान

डजन्ट ह्याभ एनी प्वाइन्ट अफ भ्यू ......

 

दि बिटल्सको नो व्हेयर म्यान सुनेको समय यही गीतलाई खूब मनपराउने नेपाली जनस्थानका लोकप्रिय  गायक अम्बर गुरुङको म अम्बर हुँ तिमी धरति पनि सुनिएकै हो । अम्बर, नारायणगोपाल, दीप श्रेष्ठ, माणिकरत्न, दावा ग्याल्मो, लता, मेहन्दी हसन, मोहम्मद रफीबाट गुज्रिरहेको धरोहरीय समय थियो त्यो मेरो । स्रोता हुनुको गर्व एकातिर र सङ्कलनको  शौखले अर्कोतिर मेरो भावकिय शक्ति बढाइरहेको थियो ।

एउटा प्रेमी हृदय लिएर हिँडिरहेकै हुँदो हुँ त्यही बेला संयोगले द बिटल्सको आइुम लुकिँग थ्रो यू , इफ आइ नीड समवन सुनिएकै हो  । म साँच्चै झुक्किन्थेँ, बिटल्स् मेरा निम्ति गाइरहेका हुन् कि भनेर । दाजुहरुका माझ, समवयी साथीहरुका माझ म बिटल्सको कुरा गर्दा अलि अभेक भइसकेको मैले चाल पाउनथालेँ । काठमाण्डूको भोटाहिटी, मरुहिटी र झोछ्येँ तिर पाइने बिटल्सका पोष्टर मेरा निम्ति दैनिकी कमाइका चीज भइसकेको मलाई थाह नहुँदो हो । म घरको भित्तामा आमाले टाँसेको देवीदेवताको पोष्टर झिकेर जोन लेननको चित्ताकर्षक फोटो टाँस्ने पराक्रमी वा अनुरागी भइसकेको नजान्दो हुँ ।

त्यतिवेला भखैरै  एसियाइ भूभागमा फ्रिक स्ट्रिट नामले प्रकाशिकरण  हुँदै गरेको झोछ्येँ अब तन्किएर बसन्तपुर, मरुढोका, मरुहिटी हुँदै कङ्केश्वरीदल्लुबाट  स्वयम्भूका निलिमित आँखामा अन्तरण भइसकेको थियो । र, त्यही बाटो भएर गुञ्जिन्थ्यो... ब्लूज, रक र ज्याज् । ती सबै त्यससमयका परधान सङ्गीत बने, तिलस्मी तुल थिए ।

बब डायलन् , बिटल्स् , जोन लेनन र आरडीबीका घमैला गीत गुञ्जिने बाटोमा मेरो घर परेकोले पनि मलाई यस्ता  ब्लूज सुत्र सुविधा र सभ्यता थियो । बिटल्स्का गीत आधुनिक शैलीले विलक्षण थिए । यो त्यतिवेला पनि नयाँ थियो अहिले पनि नयाँ नयाँ बन्दै गएको छ  । त्यस समयका युवा, किशोर र बालमनोजगतमा संगीत थियो र तिनले संगीतमा आफ्नो शक्ति र अभिव्यक्ति देख्न थालिसकेको तरलता थियो ।  पञ्चायतको चरमकाल अनि अभिव्यक्तिको दमनमा अँग्रेजी कम बुझ्ने सरकारी अड्डाका हाकिमलाई ई गीतले त्यति दुःख दिँदैनथिए, जति भाषा आन्दोलनमा गुञ्जिने नेवारी नारा.. भाषा म्वासा जाति म्वाई । भिन्तुना दु भिन्तुना, न्हुगु दँ या भिन्तुना । थन क्रान्ति मजुइक शान्ति जुइमखु ।। ई संलापले देश थर्काइरहेको बेला नीलिम आकाशमा गएर विलीन हुने नीलो धूँवामा बिटल्स, बब मार्ली, अब्बा र बब् डायलन् गुञ्जेको म खूब सम्झिन्छु ।

यो सत्य हो कि हामी सबै अनुभवतन्त्रको एउटा यस्तो स्तरमा छौँ वा थियौँ, जो संस्कृति र सभ्यताको घेराबन्दीमा रहन्छौँ जसलाई प्रसिद्ध वास्तुकार चाल्र्स कोरियाले शून्यभनेका छन् । हाम्रो शून्य क्षेत्रमा त्यसवेला यस्ता परधान संगीतले प्रवेश ग¥यो । क्रान्तिकारी गीत पनि परधान संगीतकै रुपान्तरण भन्नुपर्छ । संगीतको रुपमा अन्तरण्ङ, रूप र संगीतको एकरेखीय सम्बन्ध । परधान संगीतको  विशेषता नै यो हो ,  यसमा सुरको विग्रिएको सन्तुलनकायम रहन्छ , बब् डायलनमा त्यही थियो त्यो बेला । र, उनी कवितालाई गीतजस्तै गाउँथे । बब डायलन्का शैली लिएर त्यतिबेला नेपाली संगीतसमाजमा राल्फाका अगुवा देखिए । नारायणगोपाल विस्तारै ब्लूजका विरोक्ता भएकाथिए समयसँगसँगै । परम्परान्वेषी कवि रचनाकारका बोली  नारायणगोपालीय भइसकेका थिए । यो रुपाकार त्यति होइन जति शब्द हुने गर्छ, त्यसमा ध्वनि छ । यस्तो ध्वनि जसको स्पर्शले मानस विम्बको जीवन्त दृश्य वा कथागायनलाई जगाउँछ । काव्यशास्त्रीहरु यसलाई काव्य मानसमा प्रसुप्त अर्थ वा अर्थको संयोजनलाई जाग्रत गर्ने कला भन्दछन् । पश्चिमीया दार्शनिक यसलाई कतै कतै  किस्फोट भन्छन्, हामी त्यही स्थितिमा बगिरहेकाथियौँ , गाइरहेका थियौँ । हिन्दुस्तानी निकट नगरमा प्रविष्ट भइसकेको हिप्पी संस्कृति र पप्पी कल्चरको हल्ला खल्ला नेपालको  गल्ली र गल्छेँडामा सर्पालु भएर पसिरहेको बेला म  धुम्म भएर येल्लो सबमारिन् सुन्दैथिएँ ।

यही समय भारतको बनारसमा सितार सिक्न बिटल्स् आउने अफवाह जोडले चल्यो । बिटल्स हेर्ने रहरले भारतीय पत्रपत्रिका किनेर पढ्ने र  सामग्री जुटाउने कामधन्दा थालियो । यही बेला बिटल्स् उनका दर्शन गुरु महेश योगीको व्यापक कलेवर लिएर  छापामा देखियो, म अचूक भएर रातदिन महेश योगीका बारेमा पढ्न थालेँ । महेश योगी कहिले अदानन खशोगीसित, कहिले इमेल्डा मार्कोससित , कहिले राजनीतिज्ञ इन्दिरा गाँधीसित देखिन्थे खबरकागजमा ।

योगी त्यस समय भारतीय राजनीतिमा र हलिऊड सिने जगतमा पनि शक्तिशाली व्यक्ति  थिए । तर उनको ढोङ्ग, तमाशा र प्रदर्शनबाट सार्वजनिक जगत विमुख हुँदै गरेको अवस्थितिमा जबलपुरबाट आचार्य रजनशी देखा परे, गहिरो चिन्तन र चेतना लिएर । स्वामी महेश योगीले राजनीतिको सेवा सश्रुषा चलिरहेको बेला  आचार्य रजनीशले पहिलो प्रहार राजनीति माथि नै गरे । राजनीतिको जगलाई उनले थरकन दिए । सुरुमा हिन्दीमा प्रवचन दिने रजनीश विस्तारै अँग्रेजीमा अवतरित भए, हाम्रा निम्ति बुझ्न सरल र साध्य हुँदै गयो । क्यासेट संस्कृतिमा उनी घर घर भित्रिँदै गयो । सुरुमा उनको क्यासेट लुकेर सुन्नुपर्ने अवस्थाबाट अब अलि विस्तीर्ण हुँदै गयो । रजनीशको बारेमा सुरुमा जे जस्तो हल्ला भए पनि उनी त्यस्ता होइनन् भन्ने पुष्टि गर्न मलाई गाह्रो भएन ।  उनी जीवन, दर्शन र धर्म माथि एकनाश बोल्न थाले , भन्छन् नि धाराप्रवाह । कमा, विराम, आरोह, अवरोह सबै यथा यथास्थान नापतौलमै अडिएको हुन्थ्यो    उनको विचारलाई एक स्तम्भका रुपमा लिइन थाल्यो बौद्धिक जनस्थानमा ।

उनी चर्चा र विवादमा सँगै आउन थाले । उनी सिनेमाका तारिका, संगीतका साधक, साहित्यका ऋषिमुनिका सभासंगत र निकटबाट रस लिँदै आफ्ना भावशाली विचार राख्न थाले । रजनीश कहिले कवि, दार्शनिक । कहिले चिन्तक, कहिले चित्रकार । थरिथरिका रूपमा रजनीश एकैपटक देखिन थाले । उनी साहित्य, संगीत र कलाका वारेमा एकरसमा बोल्न थाले । उनी आफ्ना विचार राख्दा उर्दका महाकवि गालिब, खलील जीब्रान, सिग्मन्ड फ्रायड, हिन्दीका महान कवि साहिर लुधियानवी, चिनीया दार्शनिक लाओत्से, अनि फ्रान्सेली अस्तित्ववादी लेखक झँ पल् सात्र्र बोकेर हिँड्थे आफ्नो विचारमा । 

म उनको साहित्यिक अभिव्यक्तिको यति नजीक पुग्न थालेँ । उनले बोलेका, भनेका पंक्ति पुस्तकमा खोज्न थाल्थेँ ।

एकदिन संयोगले उनको विचारको संकलनको पुस्तक पढ्न पुगेँ , शिक्षामा क्रान्ति । यो पुस्तक पढेपछि मलाई उनी एक राम्रा लेखक पनि हुन् भन्ने लाग्यो तर पछि थाह भो, यो उनले जीवनमा कुनै किताब लेखेका नै रहेनछन् , त्यो लेखेको नभई बोलिएको प्रवचनको संकलन मात्र रहेछ  । उनी पनि पाइथागोरसजस्ता रहेछन् जसले आफ्नो जीवनमा हस्ताक्षर बाहेक कुनै काम गरेका रहेनछन् , केही पत्र हातले लेखेको स्मरणसम्म उनी गर्छन्  । म अचम्भित भएँ, उनको जीवन साधनादेखि ।

मलाई सम्झना भएसम्म उनको पहिलो श्रोतव्य सामग्री मैले नेपाली चलचित्रका एक कलाकारको घरमा सुन्ने मौका पाएको थिएँ, उनी भर्खरै भारतबाट फिल्म अभिनयमा प्रशिक्षित भएर आएका थिए । उनीसित यस्ता थुप्रै संकलन थिए र म उनीसित मागी मागी सुन्न लान्थेँ र, प्रेमपूर्वक फर्काइदिन्थेँ । मेरो इमान्दारीले गरेर उनी मलाई उनका सारा क्यासेट सुन्न दिन्थे । म रागपूर्वक सुन्थेँ र फेरि हस्तगत गरिदिन्थेँ । ती कलाकार थिए, ढोकाटोल निवासी हिमालय लोहनी । जसको वास्तविक नाउँ सुरेन्द्रनाथ लोहनी भएपनि उनी भारतमा गएर पढ्न थालेपछि जन्मभूमिलाई परबाट सम्झेर आफ्नो नाउँ हिमालय राखेका रहेछन् त्यो कुरा पछि उनका भाइ वा भनौँ उनका शिष्य चलचित्रकर्मी नीर शाहले  पछि मलाई बताए । आज हिमालय लोहनी कहाँ छन् त्यसको सम्झना सम्म पनि नेपाली चलचित्र जगतले गरेको म पाउँदिन, अब उनका चेला नीर शाहलाई थाहसम्म पनि छ कि छैन उनका बारेमा ।

हिमालय लोहनी तत्कालीन राजपरिवारसित निकट थिए, विचारले होइन पेशाले । उनका पूर्वज काम विशेषले दरबारका निकट थिए । उनका सगीसम्बन्धी राजपरिवारको शक्तिमा चलेको होटलको व्यवस्थापन हेर्थे । उनी थिए, उग्रराष्टवादी । भारतमा पढे पनि उनी भारतको बडे भैया प्रवृत्तिको घोर आलोचना गर्थे । कहिलेकाहिँ उनी पिपलबाटमा, इन्द्रचोकमा उभिएर भारतविरोधी भाषण पनि गर्थे । एकपटक त उनले हिन्दी सिनेमाका नायक शशिकपूको विरुद्धमा पोष्टर छापेर पनि भित्तामा टाँसे । सांस्कृतिक संस्थानका महाप्रबन्धक नारायणगोपाल गुरुवाचार्यले दसैँको मुखमा हरिवंश आचार्य, सुशिला के.सी.जस्ता चालीसजना कलाकारलाई जागिरबाट बर्खास्त गर्दा उनले खुलेर विरोध मात्र गरेनन् , पम्प्लेटिँग गरेर नारायणगोपाल बहिष्कार आन्दोलन पनि थाले ।

त्यस्ता थिए हाम्रा हिमालय लोहनी । जो रजनीशको प्रवचन मद्यपान नगरी सुन्थे र बेलुका मधुमयी भइसकेपछि अपार व्याख्या गर्थे चोकमा बसेर । उनी भारतको सबै कुरा खराब भएपनि संगीत, सिनेमा र साहित्यबाट हामीले सिक्नुपर्छ चैँ भन्थे । उनीबाट रजनीश सुनेर म रजनीश प्रेमी भएँ तर भक्त हुन सकिनँ । रजनीश आफै भन्थे कुनै प्रसँगमा ... चेलाको चार स्तर हुन्छ रे , भक्त, विद्यार्थी, साधक र अनुयायी । म केमा पर्थेँ त्यसको व्याख्या म आफैँले कहिले गर्न सकिनँ । तर रजनीशलाई मैले फैशनको रुपमा भन्दा जिज्ञासाले सुनेँ, पढेँ वा जानेँ । मेरो अध्ययनका क्रममा जिद्दू कृष्णमूर्ति, रमण महर्षि वा दलाई लामाका साध्यपरक किताब नआएसम्म म रजनीशमा अल्झिरहेँ । अहिले पनि दर्शनको अध्ययन शुरु गर्न चाहने मित्रलाई म रजनीश महोदयबाटै आफ्ना स्तर बढाउन संकेत दिन्छु । र, त्यो नै ठीक प्रक्रिया हो भन्ने ठान्दछु । तर रजनीशमा धेरै अल्झिएमा सावसचेत पनि गर्छु किनकि त्यहाँ पोखरीको जस्तो पानीको तरङ्ग मात्र हुन्छ तर मानवीय जीवनमा नदीको जस्तो लहर हुनुपर्छ । पुस्तक पढ्ने कला पनि नदीमा नुहाएजस्तै हो, नदीमा हामी हिजो नुहाउँदाको पानी आज हुँदैन । त्यस्तै हो पुस्तक पनि हाम्रानिम्ति । म पछि रजनीशका पुस्तकसित त्यसरी नै भागेँ ,पढ्दै छाड्दै । एकदिन मैले मेरा ओशोभक्त मित्र नूतन सिंहलाई भने, मलाई रजनीश थुप्रै विदेशी चकलेटजस्तो लाग्छ ।तर त्यो हो पनि ।

आज रजनीशका कृति नपढेको भए, म रमण महर्षिसम्म पुग्न सक्तिन थिएँ । रमण महर्षिको मौन नै सबैभन्दा ठूलो भाषा हो भनेर बुझ्न मलाई हम्मे हम्मे पथ्र्यो । जापानका बोशो, जेन कथा, वा हायकू बुझ्न एक पराकाष्ठा हुन्थ्यो । अर्जेन्टिनाका होर्हे लूई बोर्हेस मेरा निम्ति हराएको तासजस्तै हुनेथियो होला । मीरा, कबीर, नानक, गोरख वा बुद्धका वारे शीर्षकसम्मत कुरा सम्म पुग्न मेरो उमेर वा अवस्थाले भ्याउने थिइँन वा आज कृष्ण सिंह पेलाजस्ता पाठकका निम्ति म कलम चलाउने थिइँन । राम्जि तिमिल्सेना, साम्ब ढकाल, रत्ना लामिछाने, डा. प्रत्युश वन्त,  मिथिला प्याकु¥याल, शैलेश सिंह, भूपिन व्याकुल  वा किशोर पहाडी मेरा निम्ति पढ्ने थिएनन् । कालिम्पोङबाट विचलन पत्रिका चलाइरहेका सम्पादन  सुधीर क्षेत्रीले एकदिन विद्युतपत्रमा लेखि ठोके ,

प्रकाश सायमीज्यू, मैत्रिक अनुरोध स्विकार्नु भएकोमा धन्यवाद छ । विशेष तपाईँको गद्यको म फ्यानै हुँ ।

फिचर लेख्नमा तपाईँ बेजोड हुनुहुन्छ ।

सुधीरको त्यो विपत्र पढेपछि मैले गद्य लेखनमा समय फालेको रहेनछु, सुखी भएँ । तर यसको सबै श्रेय सन् सत्तरीको दशक र त्यसपछि विश्वमा आएका साहित्यिक, सांगीतिक तरँगलाई जान्छ जति बेला मैले जोन लेननको इम्याजिन देअर इज नो हेभेन कल्पना गर त्यहाँ स्वर्ग हुने छैन । ) सुनें । त्यही समय पश्चिमजगतमा एलएसडी, ब्राउन सुगर, इपीको युगमा युवापुस्ता फँसिसकेको थियो हामी पुर्खाको खोजमा इतिहास र साहित्य पढ्दै थियौँ ।

जोन लेननले यू मे से आइम ड्रिमर ( तिमीलाई लाग्न सक्छ म एउटा स्वप्नजीवि हुँ ) गाउँदा हामी निर्दलीय व्यवस्थाको विरोधमा बहुदलीय व्यवस्थाको माग गर्दै विद्यार्थी आन्दोलनमा  थियौँ, सपना हाम्रो पनि थियो तर लेननको भन्दा फरक । ऊ कम्बोडियामा अमेरिकी सेना नझरोस् भन्ने चाहन्थ्यो, हामी भीमनारायण श्रेष्ठ र यज्ञबहादुर बस्नेतजस्ता क्रान्तिकारी फेरि गूपचूप नमारियोस् भन्ने चाहन्थ्यौँ । समयले हामीलाई ज्ञान,विज्ञान र सञ्चारको यति नजीक पुर्याइदियो, मान्छे देख्न र सुन्न मात्र होइन भेट्न पाइने भो ।

साँच्चै एकदिन रजनीश पाहुना भएर काठमाण्डू झर्ने खबर आइपुग्यो । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको लामो बहादुरी पछि उनी ओरेगावँजस्तो जङ्गलबाट देश निकाला भए , डेविड वाशिँगटन नामबाट । उनी अमरिका जाँदा जुन नाम लिएर गएका थिए त्यो नामले उनी फर्कन पाएनन् । त्यो षड्यन्त्रका निम्ति रेगनले तीन हप्ता लगाए, उनलाई थुने रेडियो ध्वनि प्रदूषण, छापा अखबारका मसीगन्ध र चुरुटका वेस्वादिला धूँवाका माझ रजनीशचन्द्र मोहन जैनले भगवान रजनीश हटाएर डेविड वाशिङ्गटन नामबाट दस्तखत गरेर उनी घर फर्के , घर भन्नाले उनले आफूलाई बुद्ध सम्झेर नेपाल फर्के । मलाई उनी त्यतिवेला साह्रै प्रिय लागे जति वेला बुद्धको जन्मभूमि नेपाल जान चाहन्छु भने । सारा भारतीय सञ्चारमाध्यम आफ्नो औसत बुद्धिमा बुद्ध भारतमा जन्मेको भनेर भ्रामक हल्ला फैलाइरहेको वेला उनले बुद्धको जन्मभूमिको घोषणा जेएफके विमानतलबाट गरे । हामी बुद्ध नेपालको मात्र हो चिन्ता गरिरहेको बेला रजनीशले बाँच्दा राजाजस्तो बाँच मर्दा जोगीजस्तो मर भनेर सम्बोधन गर्ने गोरखनाथको जन्म नेपालमा भएको हो भनेर प्रवचन दिए । ती महान गोरख माथि उनले भयावह प्रवचन दिए सन् १९७९ मा,  मरौ है जोगी मरो मा । सातसय दस पृष्ठको सो पुस्तकमा बेलाबेला नेपालको प्रसँग आउँदा एउटा गोरखबासी म त्यसैपनि खुसी हुन्थे । ती गोरखका महान भक्त रजनीशले अमेरिकी सरकारका सबै शर्त मानेर सजायँ स्वीकारेर अमेरिकाबाट हिँडे , अन्तराष्ट्रिय वायुयानमा हातकडी सहितको यात्रा गरे । यो हवाई निगमा कानूनमुताविक पहिलो यस्तो घटना थियो जसका निम्ति उनी तयार भए, नवभारत टाइम्स् मा यो फोटा छापिएको  देख्न पाउँदा म अमेरिकी सरकारप्रति लज्जित भएको थिएँ । यहाँबाट थाह हुन्छ, अमेरिका जसलाई जे पनि गर्न सक्छ । त्यसैले त अमेरिकी कवि एलेन्स गिन्सवर्गले भने अमेरिका आइ फक यू ।।

यसरी सन् १९८६ को झरीपछि रजनीश जोर्बा दी बुद्ध हुने तयारीमा नेपाल विमानस्थलमा आए , हाम्रो पञ्चायतमिश्रित शाह सरकारले चूपचाप उनलाई स्वागत गरे । उनी केही नबोली नेपालको अत्यन्त विवादास्पद होटल सोल्टी गए , एउटा सुइटमा मौन साधन गरे । म उनलाई भेट्न लालायित भएँ तर कसरी ? चिन्ताका क्षणमा थिएँ । म कसैलाई चिन्दिनथेँ, मेरो पहुँच केही थिएन । म न दरवारका मान्छे चिन्थेँ, न होटलका । म त केवल कवि लेखन, गुरु सन्त चिन्थेँ त्यो पनि रजनीशले नै चिनाएका र चिनाइदिएका मात्रै । अनि बाँकी मेरै देशका साहित्यिक पत्रिकाले छापेर चिनाएका कवि लेखक चिन्थेँ जसलाई रजनीश नेपाल आउनुको न कुनै चासो थियो न रहर ? न कुनै अनुक्रिया थियो नै कुनै जागरण । मलाई त उनी अति आदरणीय नै लाग्थ्यो किनकि उनीबाटै मैले साहिर लुधियानवीको ताजमहल कविता पढेँ भला पछि देवकोटाको संस्मरणमा ताजमहल हेर्न गएका माधव घिमिरे र श्रीप्रकाश घिमिरेबाट थाहापाएँ । रजनीशले नै साहिरको जाने वो कैसे  लोग थे जिन को प्यार में मिला, को पचासौँ पृष्ठमा व्याख्या गरेको पढेँ, पछि निबन्धकार शंकर लामिछानेले भूपि, अम्बर र ईश्वरवल्लभलाई सँगै राखेर त्यसमाथि निबन्ध लेखेको त पछि पढेँ । धेरैवर्षपछि वा शंकरको अवसान भएको तीसवर्षपछि होला मेरा मित्र वसन्त खड्काको अमेरिका प्रस्थानको वेला धोवीघाटस्थित एउटा रेस्तराँमा बसन्तको एल्बमको विमोचनमा प्रमुख अतिथि भएर अम्बर गुरुङले त्यसवेला शंकरकै भाषामा त्यस गीतबारे भनेको पछि सुनेँ , यो एउटा यस्तो गीत हो सही समयमा सही मान्छेले सही गीत गाएको गीत यही हो । र, यसको संगीत पनि सही मान्छेले गरेका हुन् ।

रजनीशले यस गीतको यतिविध्न व्याख्या वा विस्तृति नगरेको भए म साहिरको जाग उठे ख्वाब कई कहिले पढ्न पुग्दिन थिएँ होला, वा मेरा सहृदयीका निम्ति कहिले उपहार दिन सक्ने हुने थिइँन होला । त्यही प्रेम र उत्सर्गले रजनीशलाई भेट्न वा देख्न इच्छुक थिएँ तर त्यो मौका कहाँ ??? म उनलाई सन्त महन्तभन्दा नेपाललाई माया गर्ने एक सज्जनका रुपमा दिनदिनै पढ्न थालेँ । उनले अमेरिकाबाट खेदिएपछि पहिलो प्राग्भूमिका रुपमा हिमाली राज्य नेपाल नै छाने दलाई लामाले जस्तै । संसारको अन्तिम उपनिवेश मुलुक तिब्बत छोड्नु अगि  महामानव दलाई लामाले पनि आफ्नो जन्मथलोको अन्तिम किनारमा बसेर नेपालका राजाको स्वीकृति पर्खेर बसेका थिए, उनको अन्तिम आशा पनि नेपाल नै थियो । चीन सरकारसित डराएर नेपालका राजा महेन्द्रले उनलाई यहाँ आमन्त्रण दिन सकेनन् उनी भारतको अरुणाचलतिर लागे । रजनीशको पनि त्यही दशा होला भन्ने मलाई डर थियो । उनले मौनसाधनको दुई दिनपछि बोले , पच्चीससयवर्षपछि बुद्ध फेरि तिम्रो धरतिमा आएको छ । स्वागत गर ।

राजा महेन्द्रका छोरा पनि बाबुजस्तै डराए अमेरिकासित । बीरेन्द्र उपचारको बाहनाले रजनीशलाई नभेटी बैँकक गए । त्यसपछि रजनीशले आफ्ना शुभेच्छुक, स्वजन र सारथिमार्फत् सरकारलाई विनत भावमा बोल्ने भए, सोल्टीको बल रुममा । टिकट दर पनि तोकिएको थियो , पाँचशय र हजार । दुवै मूल्य मेरा निम्ति आकाशको  फल थियो महिनामा बाह्रसय कमाउने मजस्ता विद्यार्थीका लागि । म पनि  राजा बीरेन्द्रजस्तै लाचार भएँ, आँगनमा आएको पाहुनालाई देख्न सुन्न नपाउने भएँ । मैले त्यतिवेला खूब विचार गरेँ मेरो र बीरेन्द्र शाहको राशि एउटै हो कि भनेर । पञ्चायती व्यवस्थाको भक्त भएको भए म एक सञ्चारकर्मीका रुपमा रेडियो नेपाल वा राससका निम्ति अन्तर्र्वार्ता लिन जान सक्थेँ पत्रकारिता पढेको हुनाले । त्यो सौभाग्य मेरो हात परेन किनकि म छत्तीससालमा व्यवस्था विरोधीका रुपमा जेल गइसकेको एक असफल नेता थिएँ , अहिलेको होटलको जागिरे । साहिरकै गीत सम्झेँ ,

ती को  हुन् जसले मायामा प्यार पाए 

मैले त फूल मागेँ काँडाका हार पाएँ

.... साहिरले भनेजस्तै मेरो पनि त्यही हाल थियो, सुनाउनु र सुन्नु कसलाई । विगत दसवर्षदेखि जसलाई महेन्द्रमाला झै पढेँ आज ती नै मेरा निम्ति ल्हासाको सुन भयो । जसले व्याख्या गरेका कथाकथित पात्र मेरा अगाडि दृष्यिक हुन थाले, कहिले साहिर, कहिले गालिब, कहिले मुल्ला नसीरुद्दिन, कहिले कबीर, कहिले फ्रायड, कहिले सात्र्र ....तर म उनैलाई चिनाउने प्रिय सूत्रधारसित भेट्न नपाएर अवाक् छु । म रिसले फेरि उनका किताब पढ्न थालेँ विहान र बेलुका ड्युटीमा बस्दा ।

म त्यतिवेला होटल बज्रमा रिसेप्सनिष्ट थिएँ दिउँसो कलेज पढ्थेँ, राति देखि बिहानको ड्यूटी गर्थेँ । निद्रा धपाउन राति किताब पढ्थेँ, किताबमा शक्ति हुन्छ भन्ने मेरो ज्ञान त्यतिवेला पनि कमजोर थिएन र भएन पनि ।

एकरात यसै अनिद्रामा  किताब पढ्दै थिएँ , ड्यूटीमा । अचानक बत्ती गयो । बत्ती गएपछि होटलमा बास बसेका एक अतिथि मसित मैनबत्ती माग्न आए, मैले खोजाखाज गरेर मैनबत्ती दिएँ । मैले काउन्टरमा मैनबत्ती खोज्दै गर्दा उनले मैले पढ्दै गरेको रजनीशको किताब हेरेछन् र पछि मलाई सोधे ,“ डू यू रिड भगवान ?”

प्रश्न उनले अँग्रेजीमा गरेको भए पनि भगवान शब्दको उच्चरित उनको ध्वनिमा स्पष्टता थियो र मैले तत्काल उनको पनि यस मनुवाप्रति प्रेम छ भन्ने बुझेँ ।

मैले भने, “या आइ डु । एन्ड आइ एडमाइर हिम लट ।

उनले अझै भने, उनी काठमाण्डू छन् । उनको प्रवचन सुन्न गएनौ ?

कसरी जानूँ ? उनी सबैका लागि होइनन् रहेछ , केवल धनीका लागि मात्र आएका रहेछन् । म त जान्नँ । मेरो त किताब मै संसार छ उनी यहीँ छन् । ....

कुन्नि के के भनेछु, आक्रोशमा प्रेममा र वितृष्णामा । ती गोराले मलाई गौरपूर्वक हेरे र आफ्नो परिचय विस्तारपूर्वक दिए, “मेरा मित्र । तिम्रो होटलको रजिष्टरमा मेरो जुन नाउँ छ त्यो मेरा नाउँ हैन । मेरो नाउँ होन्साकर चाल्र्स । भगवनले मलाई प्रेमपूर्वक नयाँ नाउँ दिनुभएको छ, स्वामी दीक्षान्त । म उहाँको ....

उनी के के भन्दै थिए, मैले ध्यान दिएर केही सुनिनँ । नाम पनि मैले स्पष्ट बुझिनँ तर पछि मात्र थाहा पाएँ । त्यतिवेला त एउटै कुरा मनमा लिएँ , यो पनि मजस्तै एउटा प्रेमी रहेछ, धनी भएकोले यहाँसम्म आएर भेट्न पाएको हुँदो हो । म त भानुभक्त न ठहरिएँ, ऊ त घाँसी रहेछ । मेरो लागि उसले कुवा खनिदिने सक्ने कुराको विद्युतीय चेत त्यतिवेला सम्म भएन जब उसको स्वामी लेखिएको भिजिटिङ्ग कार्ड भोलिपल्ट मेरो डेस्कमा आइपुग्यो ।

होन्साकर चाल्र्स त रजनीशका सुरक्षाप्रमुख पो रहेछन्, म त उनलाई भेटेर नै खुशी भएँ । उनी मलाई हलमा टिकट मिलाइदिन सक्ने व्ल्याकजस्तो पनि लाग्न थाल्यो 

मलाई भोलिपल्ट मात्र थाहा भो, सोल्टी होटलको गेटदेखि रजनीश बस्ने सुइट कोठासम्मको सुरक्षा उनले हेर्दारहेछन् । प्रवचन दिने दिनको विहान देखिको तयारीका निम्ति उनी सोल्टीमै बस्ने गरी सर्ने भएका रहेछन् । उनी हामीसिविदा माग्न आएका वेला मलाई भने, “ मित्र । तिमी आउन चाहन्छौ भने सोल्टीमा आज दिउँसो आऊ । पहिलो दिन हो ..स्वागतका भावमा उनले मलाई भन्न त भने तर मैले मनमनै भने , “के हातमा पाँचसय लिएर आउनू ।

अब त टिकट पनि प्याक् भइसक्यो । त्यति भनेर उनी हामीबाट ओझेल भए तर उनले मेरो नाउँमा  एउटा किताब छोडेर गए टिप्सजस्तै । त्यो होटलको चलन नै हो । मलाई त्यतिवेला के लाग्यो, अहिले रजनीश नै मबाट विदा भएर गएका हुन् कि ?उनी गएको धेरै वेरपछि मैले त्यो पुस्तक खोलेर हेरेँ, एउटा अचम्म र अनौठो लाग्दो कुरा देखेँत्यहाँ मेरो नाउँमा उनले एउटा सानो चीट लेखेकारहेछन् । त्यो  चीटसँगै उनले मेरा निम्ति छोडेर गएका प्रवेशपत्र रहेछन् जुन कार्यक्रम अवधिभर तीन दिनको लागि नै रहेछ । अगि हलको ब्ल्याक् जस्तो लागेका मेरा प्रिय मित्र  होन्साकर चाल्र्स यतिवेला मेरा निम्ति भगवान नै ठहरिए, म खुशीले अजब गजब भएँ । उनले दिएको प्रवेशपत्र बोकेर म त्यही दिन प्रवेशपत्रमा तोकिएको समयमै म सोल्टी होटलको प्राँगणमा पुगेँ ।

रजनीश सबैको दर्शनको निम्ति ध्यानस्थ भएर होटलको गेटबाट निस्के, उनका भक्तहरुले रोइकराई विला गरे, कोही हाँस्दै रुँदै आलाप विलाप गरिरहेका थिए । यो दृश्य मलाई अलि नाटकीयजस्तो लागे पनि तर नियन्त्रण बाहिरको थियो, त्यहाँ कोही धनी, को गरीब सबै एकै पंक्तिमा थिए । रजनीश आफ्नो प्रख्यात चोलामा थिए जसलाई रजनीशीहरु चोगा भन्थे । उनको शिरमा एउटा टोप थियो जसमा एक करोड सत्तरी लाखको हीरा जडिएको छ भन्ने भारतीय अखबारनवीसको दावी थियो, म ती सबै चीज भन्दा त्यहाँ देखिएको तमाशामा लोभिएँ । त्यहाँको दृश्य उदेकलाग्दो बन्दै थियो , मान्छे त्यहाँ यसरी रोइरहेका थिए मानौँ त्यहाँ कोही मलामी जाँदैछन् र हामी त्यो मलामीका साथी हौँ ।

होटलबाट केही परसम्मको रुखमनि पुगेर रजनीश फर्किए चूपचाप । अनुहारमा कुनै खुशी, कुनै ग्लानि केही केही प्रतिक्रिया थिएन । उनी हात जोडेर सबैलाई प्रणाम गर्दै डेढ इञ्चको मुस्कानका साथ हिँड्दै थिए । म पुगे द्वारको छेवमा, होन्साकर त्यही थिए आफ्नो शालीन मुद्रामा । मलाई देख्ने वित्तिकै उनी मुस्काए, म हारेको उनी जितेकोजस्तो खालको उनको हाँसो थियो । जब म मुस्काएँ, उनलाई लाग्यो जीत उनको मेरो भएको रहेछ । 

रजनीश विस्तारै आफ्नो सुइट कक्षमा विश्राम गर्न गएपछि हामी सबै निम्तालुलाई प्रवेशका निम्ति बोलाइयो । म सबैभन्दा पहिले हलभित्र पसेँ, जहाँ मेरो स्थान रजनीश बस्ने सोफाको ठीक नजीक थियो , मसँगै जर्मन टेलिभिजनकी रिपोर्टर सुजानी भोन्डी बसेकी थिई, उनी फत्तफत्त कराउँदै थिई मैले भगवानलाई बीसओटा प्रश्न दिएकी थिएँ तर मेरो त जम्मा दुइटा प्रश्न मात्र स्वीकृत भयो । ओ जिजज ...।

रजनीशलाई प्रश्न सोध्नुअगि पहिले प्रश्न स्वीकृत गराउनुपर्ने प्रावधान रहेछ । विश्वका धेरै कलाकार, फिल्मकार, नेताको त्यस्तो चलन हुँदोरहेछ । यदि प्रश्नको उत्तर पहिले नै दिइसकिएको छ भने सोध्न मनाहि रहेछ । सुजानी यसैका निम्ति एक हप्ता अगि देखि आएर डेरा जमाएर बसेका रहेछन् । दुर्भाग्यवश उनको दुइटा प्रश्नको सम्बोधन मात्र हुने भएछ आज ।

म बस्दा बस्दै तत्कालीन नेपालका प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि आएर अघिल्लो दीर्घामा बसे । त्यसपछि राजदरबारका ज्वाइँ कुमार खड्गविक्रमले कुर्सीमा आसन जमाए तर उनलाई भूईकै कुसनमा बस्न भनियो । नियमतः त्यहाँ रजनीश बाहेक कोही पनि सोफामा बस्न नपाउने रहेछ ।

सुजानी भोन्डी आफ्नो प्रश्नलाई दोहोर्याएर हेर्दैथिई र गनगन गर्दै थिई, त्यही बेला एकपटक सुरक्षा जाँचकी आएर ढाड नदेखाइ बस्न र प्रवचनको बीचमा उठेर नजान आग्रह गरे । सुजानी भोन्डी र म बसेको ठाउँको पछिल्तिरबाट आउने भएको हुनाले हामी उल्टो दिशा फर्केर बस्न वाध्य भयौँ ।

केही मिनटपछि हलको बत्ती निभ्यो, ठूलो स्वरमा झ्यालीजस्तो एउटा चहकिलो बाजा बज्यो । झ्याँग ।

म सतर्क भएँ, मजस्तै अरु पनि । प्रवेशद्धारमा बत्ती बल्यो, ढोका खुल्ने वित्तिकै धूपको गन्धसँगै आचार्य रजनीशले प्रवेश गरे । हलमा भएका सय डेढसयजना सबै नमस्ते गर्दै उठे, धेरै विदेशी र थोरै नेपालीसँगै उठे । यसपालि अगि बाहिरजस्तो कोही रोएनन् , कराएनन् । रजनीश गएर मञ्चस्थ भए । सबैलाई बस्न आग्रह गरियो । रजनीशले सम्बोधन लगत्तै बोल्न थाले ....अहंकारको अन्तिम निष्कर्ष यही हुन्छ कि म श्रेष्ठ हुँ अरु बाँकी सबै निकृष्ट हुन् ।

उनी अमेरिकाको दम्भमाथि प्रहार गर्न थाले ।

उनी बोल्दै गए हामी सुन्दै गयौँ । उनको हातको उतारचढाव, नयनको गति सबै नोट गर्न लायक थियो । उनी कुनै पंक्ति नहेरिकन र अझै कुनै प्रश्न नपल्टाइकन उत्तर दिँदै थिए , स्वरको आरोह अवरोह, शब्दमा दिइएको मूढता सबै नियन्त्रित थियो नियन्त्रण नभएको एउटै कुरा थियो समय त्यहाँ वित्दै गरेको समय ।

Comments

prakash Sayami

Thank you DilliRam Neupani ji and Shiv Prakash ji .And my Great thanks goes to Basu ji and Khasskhass team.

shiv prakash ji ra Dilli ram ji lai ani Basu ji lai dhanyabbad cha 

शिव प्रकाश

यति लामो लेख एक बसाइमा धेरै पछि पढे । निक्कै जानकारीमूलक र रोचक पनि लाग्यो ।
http://www.nepalimanharu.com/

Dilliraman Neupane

Ekdam ramro lagyo, samagri bhanda lekhan shaili. Nepali / Bieshi sahitya padhne abasar tetti paudina taipani yo rochak chha. Ubelaka (itihasma nalekhiyeka) ghatanaharu ko bare lekhnubhako le pani utsuktapurbak office mai basera (office hafera) padhe. Dhanyabaad.

prakash sayami

padhanu bhaye pachi kehi pratikriya pau hai 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |