हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

ग्रेभयार्ड र मेरो गन्तव्यः ककनी

गीता त्रिपाठी, (बालुवाटार, काठमाडौँ)

                                                   
नदी नर्मदालाई सत्तरी वर्षको उमेरमा आफ्ना पाइलाले पूरै नापेका थिए अमृतलाल बेगडले । त्यो सघन नदीमा कुन आकर्षण थियो, जसलाई उनले जीवनभर पछ्याइरहे । आफ्ना समकालीनहरूलाई युरोपको आकर्षणले तानिरहेका बेला उनी नर्मदाको दुई हजार छ सय चौबिस किलोमिटर लामो किनारैकिनार तिनको प्रवाहसँगै उद्वेक मनले बगिरहेका हुन्थे । पछि ती सारा आकर्षण र यात्राको खतरापूर्ण रोमाञ्चकतालाई उनले सौन्दर्यकी नदी नर्मदायात्रासंस्मरणमा रूपान्तरण गरे । अन्य यात्राभन्दा फरक उनको यो यात्रामा धार्मिक उद्देश्य मात्र थिएन, जीवनको शाश्वत पक्षको दर्शन थियो । उनले आफ्नो यस संस्मरणमा जोर मेरा शीर्षक अन्तर्गत लेखेका छन्— “प्रवाह नदीको प्रयोजन हो । आफ्नो अस्तित्वका निम्ति बग्नु उसको अनिवार्यता तर नदीको ऐश्वर्य त उसको त्यो निर्झरता हो, उसले दिने अतिरिक्त मूल्य । यही अतिरिक्त मूल्यले नै कुनै चिजलाई सौन्दर्य प्रदान गर्दछ । जहाँ प्रयोजन समाप्त हुन्छ, त्यहाँ सौन्दर्य सुरु हुन्छ ।
बेगडको यो अनवरत नदी प्रेम र नदीमय जीवनप्रतिको अनुरागले मलाई पनि आफ्ना सुन्दर ठाउँहरूप्रति जिज्ञासु बनाएको थियो । ती धेरै नदीहरू, ती धेरै तालहरू र ती धेरै पहाड, मैदान र हिमालका सौन्दर्य धुवाँजस्तो भएर मेरो गतिहीनतामा पिरो पोखिरहेका थिए । टाढाटाढा मात्र होइन नजिककै प्राकृतिक भूमिमा टेक्न नसक्नुको लामै शृङखलाले स्मृति आकाश भरिएको थियो । यसै शृङ्खलाको पहिलो नाम व्यञ्जनध्वनिको पहिलो वर्णबाट बनेको थियोककनी ।
ककनी मेरो मुटुमा त थियो तर आँखामा ओर्लिन पाएको थिएन । सायद त्यसैले मलाई त्यसको उचाइ पनि थाहा थिएन, न त गहिराइ नै थाहा थियो । मेरो लागि ककनी आदिम सपनाजस्तै थियो, नदेखेको आकृतिका बारेमा गरेको अनुमानजस्तो, जो बारबार मनले अभ्यर्थना गरे पनि अनभिज्ञताले अन्योलग्रस्त हुनेगर्छ । म यसको स्वरूपका बारेमा जिज्ञासा राख्थेँ तर उत्तर सायद आफैभित्र थियो— “मेरो यात्रा यो पहाडले रोकेको होइन, ढुङ्गाभित्रको खुट्टाले रोकेको हो ।यही चिनियाँ उखानले मलाई ककनीप्रतिको उपेक्षामा खिन्न बनाइरहन्थ्यो, मलाई त ककनी काठमाडौँबाट कति किमिको दुरीमा पर्छ भन्ने समेत थाहा थिएन । कसैकसैले भनेको सुनेकी थिएँ— “ककनी पनि जाने ठाउँ हो र ! के छ र त्यहाँ ? न बजार, न रमाइलो ! व्यर्थको हावा चलेर छुट्टी पार्छ ।
यसैबीच कवि नोरेमले आफ्नो अनुभव सुनाउनुभयोसाबी भाउजूसँगको जीवन्त यात्रा ककनीको । अब यो जीवनमा फेरि प्राप्त गर्न नसकिने क्षण उहाँका लागि । मैले उहाँको जलमग्न आँखामा ककनीको प्रतिबिम्ब देखेँ, सायद मैले खोजेको ककनीको स्वरूप त्यस्तै थियो, नोरेमको पवित्र प्रेमको स्मरणमा स्वच्छ भरिएको आँखा र एउटा अगम उचाइको प्रेमकथाले प्लावित त्यहाँको परिवेश । दुवैको उचाइ अगम अगम लाग्यो । नोरेमले बैशाख २० लाई लक्षित गर्दै मलाई सपरिवार त्यहाँ जान आग्रह र उत्साह दिनुभयो । तर त्यो उत्साह कतै अल्झिन पुग्यो । ककनीको सौन्दर्य, बाटाको ट्राउट माछा र डालाभरिभरि पाइने स्ट्रवेरीको तिर्सना फेरि कहिलेसम्मलाई हो बन्दकीमा पर्यो, म काठमाडौँमै फेरि पनि अल्मलिएँ ।   
पुस ३, २०६७ का दिन बिहान सात बजे सेफर्ड कलेजमा आइपुग्न भन्नुभएको थियो अनन्त मैनालीजीले । केही विद्यार्थीहरूको असीम आग्रह पनि थियो एक हप्ता अगाडि देखिको । नरेन्द्र पाल सरले छाडेदेखि कलेजमा यस्तो 'गेटटुगेदर'को अवसर पनि मिलिरहेको थिएन र म यो पिकनिक ककनीमै हुँदैछ भन्ने सुनेदेखि अवसरका केही सम्भाव्य परिस्थिति सिर्जनामा लागिरहेकी थिएँ । 
अन्ततः बिहान बितेर गयो, म परिस्थितिको परिबन्दमा परेँ अर्थात बल्लबल्ल हप्तामा एकदिन सपरिवार बस्न पाउने दिन । मैले आफूलाई परिवारबाट त्यो दिनको लागि अलग्याउने प्रस्ताव राख्न सकिन । मनमा के के छुटेजस्तै भइरहेको थियो, मेरो मोबाइल बज्यो, “हेलो म्याडम ! ककनीको बाटोबाट बोल्दैछु म राजेन्द्र के ! राजेन्द्र बानियाँ, हजुरको स्टुडेन्ट । हजुर नआई नहुने भो है, जसरी पनि आउनोस्...।
राजेन्द्र बानियाँलाई विएमटि र एमएमटिको दुई सेमेष्टर विद्यार्थीको रूपमा पाएँ मैले । उनी मेरा विद्यार्थी मात्र नभएर देशका सञ्चारकर्मी, स्रष्टा र शिक्षक पनि हुन् । सगरमाथा टेलिभिजनमा एक बिहान उनले मेरो साहित्यिक यात्राका सन्दर्भमा कुराकानीको कार्यक्रम बनाएका थिए । सम्झन्छु मसँग राखिएका जिज्ञासामा उनको श्रद्धा र सद्भाव ज्यादा थियो । बहुआयामिक प्रतिभा भएका राजेन्द्रले आदर्श मान्ने गरेको अध्यापक म । उनले धेरै ठाउँमा गर्वका साथ भनेका छन्— “मेरा जीवनमा दुई गुरूहरूको विशेष स्थान छ, उहाँहरूलाई म मेरो आदर्श मान्छु, गीता त्रिपाठी म्याडम र सालिक सरलाई ।राजेन्द्रको यो महानता त्यसै आएको होइन, उनमा महान हुने धेरै गुणहरू अनुभव गरेकी छु मैले । उनको आग्रहलाई बेवास्ता गर्न मलाई गाह्रो भइरहेको थियो । साथमा सञ्चारकर्मी र जनकपुर एफएमका सञ्चालक शीतल शाह, छुनुमुनु एफएम पोखराका रवि बस्यौला, इमेज च्यानलका दिपेन्द्र डङ्गोल लगायतका मेरै समकक्ष मेरा विद्यार्थीहरू । 
सहकर्मी साथीहरू सुरेश आचार्य, अनन्त मैनाली पनि हुनुहन्थ्यो, यो मैले पछि थाहा पाएँ ।
गुरु हुनुको गौरव अनुभूत गर्दै पनि थिएँ र उता आउन नसक्ने बताउन चाहन्थेँ पनि तर राजेन्द्र आफैले सायद अनुभव या अड्कल गरेको हुनुपर्छ मेरो परिस्थिति र फोन मेरा श्रीमान्लाई दिन उनले आग्रह गरे । मैले मोबाइल यादवजीलाई दिएँ । राजेन्द्रले साथीहरूको एकमुष्ठ आवाजको प्रतिनिधित्व गरे । उनको यो सद्भावले सायद हाम्रो अल्झिएको परिस्थिति सुल्झिएको थियो र म कवि नोरेमको हामीप्रतिको कामना यसै वर्ष पूरा हुन लागेको आनन्दानुभूतिले उज्यालिएकी हुँदी हुँ ! सेफर्ड कलेजको आयोजनाको यो पिकनिक कार्यक्रममा हामी सपरिवार निम्त्याइयौँ । 
एकैछिनमा हामी अर्थात कृष्ण, समीप र सीजाका साथमा यादव जी र म सुखद यात्रामा निस्कियौँ । ककनी अब हाम्रो गाडीको पाङ्गै्रमा थियो, यादवजीको हातको स्टेयरिङमा थियो अथवा पियानोबादक उपेन्द्र सिंहको नोस्टाल्जिया एल्बमको धुनमा थियो । यात्राको किलोमिटर यही एल्बमको फन्कोले नापिरहेको थियो, यात्राभरिको सबैभन्दा प्रिय थियो त्यो धुन, जसलाई सुनेर हामी ककनीको आकाश छुन गइरहेका थियौँ । जतिजति उचाइमा पुग्थ्यौँ नोस्टाल्जियामा समेटिएका नारायण गोपालकालीन आधुनिक गीतको सङ्गीत अनुगुञ्जित त्यो अथक क्षितिज वरिपरिबाट एक सङ्गीत आकाशजस्तो लागिरहेको थियो । सङ्गीत प्रेमी नेपालीका लागि एक विशेष नोस्टाल्जिया । एक विशेष ग्यालेक्सीको त्यो अप्रतिम विश्व ककनीको परिचय मनभरि प्रादुर्भाव भइरहेको थियो । 
मेरो निम्ति ककनी नवजात थियो, म भावनाको झरनाले नुहाइदिँदै थिएँ र ककनी झनझन स्वच्छ, पवित्र र स्निग्ध भएर मेरो आँखाभित्र अटाउन आइपुगेको थियो । बर्षौँपछि मैले एउटा गन्तव्य पाएकी थिएँ, जुन सायद मेरो कल्पनाभन्दा माथिको थियो ।
मेरो आँखामा ककनी एक अलौकिक र दीर्घ प्रतिक्षित स्वर्ग थियो । 

यात्राको आरम्भमा काठमाडौँको महाराजगञ्जचक्रपथ हुँदै बालाजु क्षेत्रको अस्तव्यस्त सडक र पेटीलाई छाडेर हामी त्रिशुलीतिरको बाटोमा उक्लियौँ । सडकमाथिका हरिया रूखपातको सघन मौनता र सडकमुनिको केही चौडा फाँटले काठमाडौँको कोलाहललाई एकैछिनमा बिर्साइदिएको थियो । सडकमुनि ससाना तर थुप्रै संख्यामा होटल लजहरू थिए । तिनको प्रयोजन त्यति भएजस्तो लागेन तर नामाकरणमा तिनले केही उदारता देखाएका थिए । यता सहरमा स्कुल, कलेजदेखि सारा कार्यालयसमेतका नामलाई अङ्ग्रेजीकरणले छोएका बेला त्यहाँ भने केही खाँटी नेपाली शब्दहरूबाट नामाकरण गरिएको पनि पाइयो, तर केहीमा चाहिँ नसुहाउँदो गरी राखिएको अङ्ग्रेजी नाम र तिनको अवस्था एकप्रकारले हास्यास्पद पनि थियो ।
पत्तै नभई हुर्केको सन्तानजस्तो बिस्तारै बढ्दै गएको उचाइतिर प्रवेश गरिरहेका थियौँ हामी । हरियो वनभित्रको स्वच्छ पर्यावरण आमाको अनुहारजस्तै सरस थियो र म ती सारा अनुभावलाई मुटुले छोइरहेकी थिएँ । तपोवन प्रवेश गर्ने सिँढीबाट माथि जङ्गलतिर हेरेँ मैले । तपोवनका बारेमा सुनेका अनेक प्रसङ्गहरू स्मृतिमा आउँदै बिलाउँदै गए । 
नागार्जुनको अर्को कोल्टोमा तहतह परेको हरित पहाड हाँसिरहेको थियो । मोडहरू थुप्रै थिए, ती अप्ठ्यारा पनि थिए तर जीवनमा आजसम्म काट्दै आएका मोड र अप्ठ्याराभन्दा त सहज र प्रिय थिए ती । 
जङ्गलबीचको एउटा मोडमा होडिङ् बोर्ड थियो र त्यसमा आरोहण गुरुकुलको नाट्यकार्यक्रमको विज्ञापन थियो । मैले सहरको बीचमा सहरभन्दा बाहिरको टापू प्रदेशजस्तो लाग्ने गुरुकुलको विज्ञापन यात्राको त्यस प्रकृतिले स्वयम् निर्माण गरेको हरियाली मञ्चबाट पढेँ । गुरुकुलको इतिहास र त्यसका एकपछि अर्का शृङ्खलाहरू जो विस्मृतिमा सुरक्षित थिए, केहीबेर स्मृतिमा ओर्लिए । अनि ती सम्झनाहरू एकैछिनमा गुरुकुल लेख्न प्रयोग गरिएको लहरे अक्षरको पत्रभित्र गुजुल्टिएर तिनै अमूर्तका सादृश्यविधान भए । 
केहीबेरको त्यस फ्ल्यासब्याकमा ककनीको पृष्ठभूमि एउटा अर्को रङ्गमञ्चजस्तो अनुभूत गर्दै थिएँ म । 
काठमाडौँ र नुवाकोटको बोर्डर पार गरेपछिको दोबाटोमा पुगेपछि हामी कुन बाटो जाने भन्ने विषयमा अल्मलियौँ । एउटा बाटोले ओरालो झाथ्र्यो र अर्कोले उकालो चढाउँथ्यो । यो हाम्रो उमेर र उद्देश्य जस्तै थियो । अहिले उकालै चढ्ने बेला हो । दुःखहरू तपसीलमा राखेर एउटी सानी केटीले दिएको निर्देशनमा हाम्रो ककनी यात्रा उकालोबाट अघि बढ्यो । 
अब बाटो साँगुरिँदै गएको थियो । मोडहरू अझै खतरापूर्ण थिए । तर यादवजीको ड्राइभिङ्मा आज नयाँ ठाउँमा जाँदाको दुविधा र असमर्थता थिएन । एकप्रकारको उत्साह र हौसलामा उहाँ हामीलाई स्वर्गको परिभ्रमणमा खिच्दै हुनुहुन्थ्यो । माथि सबैभन्दा अग्लो डाँडामा बौद्धको शान्ति स्तुपजस्तो देखियो जहाँ लङ्दरहरू फहराइरहेका देखिन्थे । मनले भनिरहेको थियो त्यति टाढा त होइन होला ककनी ! तर हामी त्यही टाढाको गन्तव्यलाई पछ्याइरहेका रहेछौँ । 
पहाडलाई छातीमै चिरेर बनाइएको थियो यो सडक । सडकको भित्तामा कुलेसोबाट कञ्चन पानी ओरालो झरिरहेको थियो । त्यो पानी छोएर जीवन अनुभव गर्ने इच्छा गरेकी थिई सीजाले । पश्चिमतिर झर्ने सुरसार गरिरहेको घामले लेखेटिएका थियौँ हामी । उसको यो इच्छालाई फर्किँदाका लागि भनेर पन्छाउनु प¥यो, उसले परिस्थिति बुझेर स्विकारी । त्यही सडकमुनि केही आधुनिक पक्की घरहरू थिए । ती होटल वा रिसोर्ट के थिए तर त्यहीँ थियो कवि नोरेमले बिर्सन नसकेको स्वादिलो ट्राउट माछा, ढिँडोको भोजन र साबी भाउजूको अप्रतीम प्रेमको मधुशाला । हामीले त्यहाँका लागि पनि रोकिने अवकाश पाएनौँ । 
त्रिशुली जाने बाटो छाडेर दाहिने मोडिएपछि संघारमै थियो खाऊँखाऊँलाग्दा भुईं ऐँसेलुले भरिएको डाली । त्यताको खास सौगात पनि हुनेरहेछ यो । सीजालाई असाध्यै मनपर्ने फलफूल । यता न्युरोडको सडकपेटीमा घाम र धूलोले तिनलाई आक्रमण गरिसकेको हुन्थ्यो तर त्यहाँ ताजा थियो तिनको रूप । गाडी रोकेर सडक साँगुरो भएकाले हतारमा किनियो एक केजी । बोतलमा भएको खानेपानीले अलिअलि पखालेर कपाकप खान थाले सीजा र समीप । हामीले भने स्वादसम्म लिन पायौँ ।
मोटरसाइकलमा यात्रा गर्नेहरू अधिकांश जोडी थिए । तिनका के कस्ता कल्पना र योजना हुँदा  हुन् जीवनका बारेमा ? के ती जीवन भन्ने विषयमा चिन्तन पनि गर्छन् होला ? मलाई यी प्रश्नहरूले आफ्नै विषयमा गम्भीर बनाइरहेको थियो, उता सशस्त्र प्रहरीको चेकिङ् पोष्टमा सबैलाई रोकेर सवारी जाँच भइरहेको थियो । हामीलाई पनि पुछताछ त गरियो तर हामीबीचको नातामा शङ्का गरिएन । 
मोटरसाइकलमा सवारहरूमध्ये केहीको भने परिस्थिति जटिल बन्दै गएको पनि देखियो । प्रायः कारमा आउनेहरूलाई केटी ल्याएको छ ? भनेर सोधिने रहेछ । माया पनि लाग्यो केटी जातिप्रति नै । कठै ! ती प्रेमका कारणले भन्दा बढी वस्तुका रूपमा ल्याइँदा हुन् र त सुरक्षामा खटिएकाहरू यसरी छानबिन गरिरहेका थिए । अथवा घुम्ने र घुमाउने स्वतन्त्रता पुरुषको लागि मात्र हो, सहभागी पुरुष दोषबाट जन्मजात मुक्त छ अनि नारी ? किन आउँछे ऊ यसरी लज्जित बन्न यति टाढा आफ्नो प्रेमीप्रति विश्वास गरेर ? प्रेमलाई प्रेमकै मर्यादा दिन जान्ने नहुन्जेल त यसरी घुम्न निस्कनु एक बर्वादी वा ठूलो जोखिम हो । बर्वादीको एउटा सिङ्गो इतिहास मेरा अगाडि ककनीको स्निग्धताको विपर्यासमा पहाड भएर उभिएको देखेँ । मनमा केहीबेर मृत्युबोधको लामै शृङ्खला चलिरह्यो ।
अब हामी निकै माथि पुगिसकेका थियौँ । आकाश र हाम्रोबीचमा अर्को कुनै उचाइ थिएन । क्षितिज र आकाशको सन्धिस्थलको यो अनुपम दृश्य आजभन्दा दसवर्ष अघि मैले नगरकोटको टावरबाट दर्शन गरेकी थिएँ । तर त्यो भन्दा बेग्लै अनुभूति थियो यो । उत्तरी क्षितिजको ठाउँठाउँबाट चियाइरहेका हिमशृङ्खलाको अपूर्व दर्शनले मन चोरेर लगिसकेको थियो । हरिया थुम्काथुम्कीले बनेको ककनीको शिरमा पिकनिक मनाउने सयौँ समूह थिए त्यस दिन । आआफ्नै रुचिको खाना, बसाइ र मनोरञ्जनको स्वरूप । 
दुई थुम्काका बीचमा रहेको मैदानमा गाडी रोकेपछि मैले राजेन्द्रलाई फोन गरेँ, आफ्नै बगालमा मिसिने मनसायले । दाहिनेतिरको थुम्काबाट उषाले फोन गरिन् । उषा भट्ट अहिले मैनाली । उनी पनि आएको थाहा पाएर मलाई थप खुसी मिल्यो । अनन्त मैनाली सर र उनको प्रेमको आफ्नै कथा छ । दाम्पत्यको सुन्दर परिणाममा पुगेर लहलह छ उनको जीवन यतिखेर ।   
सञ्चारकर्मी उषालाई सेफर्ड कलेजको स्थापनाको पहिलो वर्षमा पढाएकी थिएँ मैले । उनी इमेज एफएममा बिहान छ बजेको समाचार भनिसकेर मेरो क्लास लिन आइपुग्थिन् सात बजे । रातो स्ट्रिट मोटरसाइकल उनको गन्तव्यको सहयात्री । हाल बिबिसि नेपाली सेवामा कार्यरत कमल कुमार, नेश्नल टेलिभिजनमा कार्यरत महेश श्रेष्ठ र उषा भट्ट मेरो प्राध्यापनका लागि कक्षाका ऊर्जा थिए । 
एकदिन उषाले सोधेकी थिइन्, “म्याम ! स्पर्शमा माया हुन्छ कि मायामा स्पर्श हुन्छ ?” यो व्यक्ति सापेक्ष विषयमा मैले उनको चित्त बुझ्ने उत्तर दिन सकेँ या सकिँन, तर उनले सोधेको यो दार्शनिक प्रश्नमा मैले उनको सिर्जनात्मक क्षमता पढेकी थिएँ । उनी राम्रा गीत लेख्ने गीतकार पनि । आज ककनीमा तिनी मलाई पर्खिरहेकी रहिछन्, सानो छोरा उनको माया खोजिरहेको थियो, स्पर्श खोजिरहेको थियो । मलाई एकपटक सोध्न मन लागेको थियो उषालाई, “मायामा स्पर्श हुन्छ कि स्पर्शमा माया हुन्छ ?” तर मैले जानेरै सोधिन त्यसबेला ।
सीजाको हात समाएर पहाड चढाएँ मैले । हामीलाई आदर र माया गरेर बोलाउने राजेन्द्रसँगै सबै नयाँ पुराना विद्यार्थीहरूको उत्साह थपिएको देखेँ मैले । सुरेश सर र अनन्त सर पनि हाम्रो उपस्थितिलाई हार्दिक स्वागत गरिरहनुभएको थियो । 
अभिवादन आदानप्रदानको औपचारिकता पूरा भएपछि समीप, सीजा, कृष्ण तथा यादवजीलाई लिएर सुरेश सर, अनन्त सर र शीतल शाह वरपरको रमणीय क्षेत्रको भ्रमणमा निस्कनुभयो । म र उषा म्युजिकको धुन र विद्यार्थीका आत्मीय भावमा डुबिरह्यौँ । अकस्मात् कसैले मेरो हात समाएर तान्यो । ओ भगवान् ! दिनेश गौतम र युगल दुवैले मिलेर मलाई मञ्चमा पु¥याइसकेका थिए । हात जोडेर तिनले अनुनय गरिरहेका थिए मलाई नचाउन । मैले छल्न कोसिस गरेँ तर जित उनीहरूकै भयो । 
म मेरा प्यारा विद्यार्थीहरूसँग मर्यादाको बलियो रेखामा उभिएर पहिलोपटक नाचिरहेकी थिएँ, उनीहरू अपार विजेताझैँ प्रफुल्ल थिए, मैले नाच्नुको अर्थ पनि त यति नै थियो । ककनीको उचाइमा उभिएर नाचिरहेकी मैले मेरो घुमाइमा सारा विश्व घुमिरहेको अनुभव गरेँ । मैदानबाट हेर्दा तहतह परेका पहाडी शृङ्खलाहरू शिखरबाट हेर्दा फूलका पत्रझैँ देखिन्थे । हिउँको जलप लागेको क्षितिज, स्वच्छ आकाशको अनुपम निलिमा, बादलको एकलहर समाधि यी सबै शालीन दर्शकका सामु म आफ्नो प्राकृतिक नाचमा मग्न थिएँ । 
याङ्काईले माया गरेर आलुको अचार ल्याइदिइन् । मेरो बचपनको एउटा तीतो अनुभूतिसँग जोडिएको तिनको नाम । मलाई सातआठ वर्षको उमेरमा हुँदा घरमा दाइ र दिदीहरूले याङ्काई भनेर गिज्याउने गर्थे । किन ? मलाई थाहा थिएन । उनीहरू मलाई रिस उठाउनुप¥यो भने याङ्काई हुई माओत्सेतुङ् खोइ ? भनेर जिस्काउँथे । मेरो बालमनोविज्ञान छट्पटाउँथ्यो । मलाई के थाहा याङ्काई हुईको ऐतिहासिकता । के थाहा माओत्सेतुङको वैचारिकता । म त ती दुईको जोईपोईको नाता मात्र जान्दथेँ र त्यसै कारण प्रताडित हुन्थेँ । मेरोे मनमा साह्रै बिझेको बचपनको त्यो पीडा सगर्व नामधारी यी याङ्काईलाई भेटेपछि पुनः स्मरण भयो तर म त्यो बेलाको मनोविज्ञानबाट उम्किसकेकी रहेछु । 
ती सोलुखुम्बुकी याङ्काई लामालाई असाध्यै मन पराउँछु म । बाक्लो जिउडालकी तिनी स्नातकोत्तर तहमा पढ्छिन् । शान्त र मायालु तिनको अनुहारमा अहम्को लेस छैन । गुरुप्रतिको आदर तिनको जन्मजात विशेषता हो भन्ने बुझ्न बेर लाग्दैन । हेभी मोटरसाइकल चलाउँछिन् । तिनको नेपाली लेखाइ असाध्यै राम्रो छ, अङ्ग्रेजी पनि त्यस्तै छ भन्नुहुन्छ सुरेश सर । तिनले मलाई उनका केही कथाहरू सम्पादन गरिदिने आग्रह गरेकी थिइन् । उनको शैली र विषय छनोट विशेष लागेकाले मैले उनलाई प्रकाशनमा ल्याउन सल्लाह पनि दिएकी थिएँ । 
अनि तिनकी चञ्चल तर सुन्दर बहिनी चाँदनी स्नातक तहमा छिन् । दुवै दिदीबहिनीलाई पढाएँ मैले । दुवैको रुचि मिडियामा छ । दुवैको नेपाली राम्रो छ । उनीहरूलाई देखेपछि मलाई नेपाली भाषाको उत्तराधिकारी पाएजस्तो लाग्छ । उनीहरूमा जातीयता र मातृभाषाको अहम् छैन, ती सादा छन् ककनीको वायुजस्तै स्वच्छ र सपाट छन् तिनीहरू । 
उदास आँखाकी तेन्जिङ नजिकैको ठूलो ढुङ्गामाथि बसेर मलाई हेरिरहेकी थिइन् । म उनको छेउमा गएँ । धेरै भयो तिनी क्लासमा आउन छाडेको । मैले सोध्न नपाउँदै उनले आफू अमेरिका जान लागेको कुरा गरिन् । तिनी थोरै बोल्छिन् । मैले भविष्यको योजना सोध्दा भनेकी थिइन्, “पछि नेपालमै फर्किन्छु म्याम ! अहिले बाआमा उतै भएर जान लागेको ।
उनी मिडियामा काम गर्न थालिसकेकी रहिछन् । एकदिन उनले भ्वाइस अफ ओमन अङ्ग्रेजी म्यागाजिनका लागि मेरो अन्तर्वार्ता लिएकी थिइन्, टेलिफोनबाट । मैले उनलाई त्यसबेला चिनेकी थिइनँ । लिभ इन रिलेसनका बारेमा मेरा मत छाप्न चाहन्थिन् तिनी । म उनको आशय र प्रकाशनप्रति स्पष्ट हुनसकेकी थिइनँ । उनमाथि शङ्कालु भएर पनि एक जिम्मेवार नागरिकका तर्फबाट मैले आफ्ना विचार राखेकी थिएँ, पछि त्यो छापिँदा मेरो भाव नबिगारीकन राम्ररी दिइएको थियो । म तेन्जिङ्प्रति आश्वस्त भएँ । 
एकदिन तेन्जिङ् मेरो क्लासमा नयाँ विद्यार्थीका रूपमा भित्रिइन् । परिचयको क्रममा उनैले चिनाइन् मलाई, “म तेन्जिङ्, म्यामसँग भओ पत्रिकाका लागि कुरागर्ने तेन्जिङ् ।” 
उनको सरलता र मेरो शङ्का कति नमिल्दो कुरा थियो । ककनी र तेन्जिङ्, तेन्जिङ् र ककनी दुवैको सरलताले परिव्याप्त थिएँ म । उनी भने मेरो अनुहारमा अझै पनि एकटकले हेरिरहेकी थिइन् । 
हाम्रो पिकनिक स्पटभन्दा ठ्याक्कै सामुन्नेमा अर्को विशेष थुम्को थियो, हरियो र भरिलो । कलात्मक किसिमले बनाइएको गार्डेन र स्मारकहरूको सुन्दरता । अक्षरहरू कुँदिएका थिए शिलालेखमा । म त्यतातिर उक्लिन खोज्दा अन्यमनस्क भावले रोकिएँ । डु नट इन्टर इन दिस् ग्रेवयार्डलेखिएको त्यो सुन्दर हरियाली बगैँचामा कैयन् जोडीहरू प्रवेश गरिसकेका थिए । त्यो सुन्दरताभित्र मृत्युको अक्षर तिनले सायद पढ्न नचाहेको हुँदो हो अथवा आफ्नो प्रेममा विश्वस्त तिनले मृत्युलाई समेत जित्ने सङ्कल्प लिएको हुँदो हो । 
मैले त्यति नै बेला त्यो भयावह क्षण सम्झिएँ र सजल भावले ती धेरै आत्माहरूप्रति मौनतापूर्वक श्रद्धाञ्जली चढाएँ । थाइ एअरक्र्यासमा परेका स्वदेशी तथा विदेशीहरूको स्मृतिमा बनेको त्यो ग्रेवयार्ड । त्यसमाथिको त्यो सुन्दर पार्क । जीवनको एउटा पाटो सुन्दरता र अर्को पाटो विभत्सता । एउटै ठाउँमा अभेद्य भएर बसेको तर नितान्त फरक विषय र अनुभूति । मैले अमृतलाल बेगडको जीवनदर्शन यहाँ पनि सम्झिएँ— “जहाँ प्रयोजन समाप्त हुन्छ, त्यहाँ सौन्दर्य सुरु हुन्छ ।” 

मैले वरिपरि बगिरहेको चिसो बतास र त्यसैमा तरङ्गित सङ्गीतको अनुगुञ्जनमा भर्खरै पढिसकेको एउटा प्रसङ्ग सम्झिएँ । उदयन वाजपेयीको यात्रा वृत्तान्त 'पतझर केपाँवकी मेंहदी'मा रहेको एउटा निबन्ध— ‘बोर्खेज की कब्र और नेरुदा की थकान। उदयनलाई बोर्खेजको समाधि नजिक उभिँदा जुन प्रकारको सन्नाटाको अनुभव भएको उनले उल्लेख गरेका छन्, त्यहाँ मेरो मनको अवस्था त्यस्तै भएको थियो । उनले भनेका छन्— “बोर्खेसलाई भेट्न आतुर मेरा पाइलाहरू उनको समाधि अघि आइपुगेपछि एकाएक पर्खालमा ठोकिएजस्तो भएको छ ।”   
मृत्युको त्यो अवरोध यो स्मारकभन्दा अथाह बलियो हुने नै भयो । ती सयौँ आत्माहरूले मलाई वरिपरिबाट हेरिरहेको जस्तो अनुभव भइरहेको थियो तर म पनि मृत्युको दिवारले छेकिएकी थिएँ । 
मैले चारैतिर हेरेँ । जहाँ प्रकृतिको अगाध सौन्दर्यभन्दा पर अरू केही थिएन । यहाँ त मृत्यु पनि सुन्दर हुन्छ जस्तो । सारा दुःखहरू पराजित भएको स्वर्गीय भूमिमा मैले यो समाधिलाई अमर प्रेमको स्मृतिकोष ठानेँ । उदयनले बोर्खेसको समाधि वरिपरि फैलिएको सन्नाटाबाट मुक्ति पाउन बोर्खेसकै भनाइलाई साभार गरेका छन् त्यो लेखमा— “जबसम्म यो सङ्गीत रहन्छ, हामी ट्रायकी हेलेनसँग प्रेम गरिरहनसक्छौँ । ... कोही कहिले पनि मर्दैन किनकि सबैले आफ्नो छाया हामीलाई छाडेर गएका हुन्छन् ।
ककनीको यो यात्राले मलाई जीवनका धेरै पक्षहरूसँग सम्झौता गर्न सिकाएको छ ।  

                                                 
२०६७, चैत्र ९








 

Comments

norem

geeta bahini,
i\'ve just gone through your travelogue to kakani. yuma noticed me about it and sent the link. deeply touched by the words about me and my beloved sabi. the article is so strong both in expression and thoughts. thank you so much.

pratigya

Such a good article. didi is one of fav

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |