लेख्नुस्

बासु श्रेष्ठ

पढ्न जति सजिलो छ लेख्न त्यति सजिलो छैन । लेख्न सजिलो हुने भएको भए सबै लेखक हुने थिए होला । त्यसैले पाठकको दाँजोमा लेखक थोरै छन् । किनभने आफ्नो अनुभव तथा विचार पोख्ने क्षमता सबैमा हुँदैन । जबकि लेखकको विचार तथा सोचसँग मिल्दो जुल्दो विचार सबैमा हुन्छ । मानिसको सोच या अभिव्यक्ति लिपिबद्ध भएर सार्वजनिक हुनु नै लेख हो भन्न सकिन्छ ।

आफ्ना मनका भावना तथा सोचहरुलाई जबसम्म सार्वजनिक गरिँदैन त्यो भावना जतिसुकै मूल्यवान होस् चाहे जतिसुकै तर्कसिद्ध होस् तपाईको विचार हुँदैन । अर्थात अन्य व्यक्ति चाहे एक होस चाहे हजार होस् आफ्नो विचार या सोचाईलाई अभिव्यक्त नगरिएसम्म त्यसलाई विचार भन्न मिल्दैन सकिँदैन । तर जब त्यहि विचार सार्वजनिक हुन्छ त्यसलाई तपाईको विचार भन्न मिल्छ । त्यसकारण म यस लेखका पाठकहरुलाई के आग्रह गर्छु भने आफुलाई लागेका राम्रा राम्रा विचारहरुलाई सकेसम्म र यथाशिघ्र लिपिबद्ध गर्ने कोशीश गर्नुस् र त्यसलाई बाँड्ने यत्न गर्नुस् ।

'मेरो लेखाई यस्तो छ या नराम्रो छ, कसरी अरुले मन पराउला र ? भन्ने जस्ता हीन भावना मनमा नपाल्नु होस् । मात्र तपाईले सहि मार्गदर्शन दिने सोच राख्न सक्नुपर्छ । त्यो सोच मानवीय हित र उन्नतिकोलागी हुनुपर्छ । सोच व्यक्तिगत हित या वर्ग या समुहको भन्दापनि विशाल हुनुपर्छ । पाठकको समयको सदुपयोग गराउने तर्फ ध्यान दिनुपर्छ । विश्वप्रसिद्ध लेखकहरु तथा हाम्रै देशका प्रख्यात लेखकहरुले आफ्ना विचारहरु हामी समक्ष नबाँडेको भए तिनिहरु कसरी प्रख्यात हुनेथिए ? तिनिहरुले शाश्वत वाणी बोले, मानवजातीको हक हित र उन्नतिका बारेमा बोले अनि लेखे र त आज विश्वले तिनका नाम आदर र सम्मानपूर्वक लिन्छन् ।

तपाईको विचारले कोहि न कोहिको प्रतिनिधित्व गरिहेको हुन सक्छ । त्यस्तै कसै न कसैसँग तपाईको राय मिलेको पनि हुनसक्छ । तपाईको विचार या लेख त्यस्ता व्यक्ति या समुहले अवश्य मन पराउँछन् र तपाईको 'फ्यान' बनिदिन्छन् । त्यसकारण मनमा लागेको कुराहरुलाई लिपिबद्ध गर्नु तपाईको उत्तरदायित्व हो । कुनैपनि कुराहरु कागजातमा उतार्नु भनेको त्यसलाई स्थायित्व दिनु या प्रमाणीकरण गर्नु हो । आफ्ना मनमा लागेका विचारलाई प्रमाणीकरण गर्नु जस्तो असल के कुरा हुन सक्ला र ?

आफ्ना लेखहरुलाई आवश्यक परे एक पटक फेरि छाँटकाँट या थपघट गर्नुहोस् । एउटै लेख रचना प्रकाशनकोलागी सर्वत्र पठाएर आफ्नो रचनाको अवमूल्यन पनि नगर्नु होस् । कोहि कोहि भन्न सक्छन् म त एकपटक सरर्र लेख्छु कहिल्यै फर्किएर हेर्दिन । यस्तो व्यक्तिसँग तपाई आफुलाई नदाँज्नु होस् । बरु कविशिरोमणी लेखनाथ पौडेल कविता रचना गर्दा शब्द हातमा कौडा खेलाए झै खेलाएर जुन शब्दबाट राम्रो आवाज आउँथ्यो त्यहि शब्दको प्रयोग गर्थे भन्ने भनाईलाई सम्झनु होस् । अर्थात सम्पादन, काँटछाँट तथा थपघट हुनु या गरिनु रचनाको विकास क्रम हो भन्ने कुरालाई मनन गर्नु यथोचित हुन्छ ।

यो लेख पढ्दा पढ्दै तपाईको मनमा केहि नयाँ विचार फुरेन त ? लौ त्यसलाई लिपिबद्ध गरिहाल्नुस त लौ लेखिहाल्नुस् त ।