खसखस

खसखस डट कम का सम्पूर्ण आगन्तुक महानुभावहरुमा हार्दिक स्वागत अभिवादन छ । यो पृष्ठ तपाईहरुको आफ्नै पृष्ठ भएको हुनाले तपाईहरुलाई लागेका विभिन्न किसिमका खसखसहरु आआफ्नै तरिकाले तर शुभ्र भद्र तथा नरम तरिकाले विभिन्न विधा अर्थात कथा कविता लेख आलेख हाईकु गजल मार्फत पोख्न स्वागत छ ।  वास्तवमा खसखस् डट कमको अवधारणा यसै विचारले उत्प्रेरित भएको थियो । तर आफ्नैमात्र आत्मवाचना कदापी राम्रो होईन भन्ने सोचाईले पाठकहरुको रचनालाई पनि साथसाथै लिएर जाने रहर लाग्यो र यस्तै गर्ने जमर्काे गरेको छुँ । आशा छ साथ दिनु नै हुनेछ .
 

कुनै पनि विषयको पक्ष विपक्ष भइ नै हाल्छ । कोहि सहमति जनाउलान भने कोहि असहमति । सहमति वा असहमति जनाउँदा कुनै तर्क वा चिन्तनका साथ जनाईन्छ भने त्यो बढि उत्पादक उपलब्धिमूलक रचनात्मक र रुचिकर हुन्छ । तर्क या चिन्तनको अभावमा जनाईएको सहमतिले अन्धो समर्थन को गन्ध दिन सक्छ भने यसबिना जनाईएको विमतिले पनि विरोधकोलागी विरोधमात्रको भान दिन सक्छ । 
 

मन नपरेको मान्छेको सासै गन्हाउँछ भने जस्तै आफुले मन नपराएको मानिसले चाहे जस्तोसुकै रचनात्मक कार्य किन नगरोस् त्यसको विरोध गर्ने हाम्रो परम्परा रहि आएको छ । कतिपयहरु त विरोधकोलागि भएपनि विरोध गर्नैपर्ने मनशायमा हुन्छन् । यस्ता व्यक्तिहरु न आफु गरि खान्छन् न अरुलाई गरिखान दिन्छन् । यस्ता व्यक्तिहरुको उदाहरण हाम्रो समाजमा प्रशस्त छन् । खसखस लाग्यो भने खै खबर गर्नुस् पाइलैपिच्छे भेटिन्छन् ।  
 

यसको ठिक विपरित सहमति या समर्थन पनि त्यस्तै हो । आफन्तले गरेका कुनैपनि काम पि्रय हुनु अन्ध समर्थन गर्नु नजिक हुन जयजयकार गर्नु चाकडीको अर्को नाम हो । विना कारण तथा विना तर्क र उचित अनुचितको ध्यानै नदिई सहमति समर्थन गर्नुपनि तठस्थ व्यक्तिकोलागि उचित होईन ।  
 

तर आफन्तले वा पराईले गरेका गलत कार्यको धुँवाधार विरोध गर्ने तथा पराई वा आफन्तले गरेका राम्रा कामहरुको मन खोलेर समर्थन गर्नुचाँहि तठस्थ तथा बुध्दिमानको काम हो । यस्ता मानिसहरुको कमि भएपनि नभएको चाँहि होईन ।  हामीलाई के लागेको छ भने यस पृष्ठका पाठकहरु माथिका कुनैपनि वर्गमा पर्दैनन् । यस पृष्ठका पाठकहरु सहि कुरालाई सहि भन्छन् र गलत कुरालाई गलत भन्छन् । यसो गर्न हाम्रा पाठकहरु कदापी हिच्किचाउँदैनन् । 
 

यस खसखस् डट कम सँचालन गर्ने मेरो दुई तीन वर्षदेखिको धोको थियो । समस्या थियो सर्भर र वेव साईट डिजाईनरको । कोसँग र कसरी कुरा गर्नै भन्ने कुराले कहिले ठोस् रुप पाएन । एकदिन घरमा छोरा समीरले एन=एस=ए= को वेबसाईट डिजाईन गरिरहेको देखेर लौ डिजाईनर त घरमै रहेछ भन्ने कुरामा साह्रै दङ्ग भएपनि सर्भरको समस्या भने उस्तै रह्यो । र एकदिन साथी सुबुजीसँग कुरागर्न पुगें । फोनमा कुरा भयो र वहाँले सर्भर निशर्त र निशुल्क उपलब्ध गराउने वचन दिनु भयो र तुरुन्तै मैलेपनि डोमेन नाम रजिष्टर गरि आवश्यक सुचना सुबुजीलाई पठाउने वित्तिकै त्यहि दिन देखी शुरु भयो यस वेबसाईटको डिजाईन र आज यस रुपमा तपाईहरुको सामु उपस्थित भएको छ । साजसज्जा आदिको बारेमा पाठकहरुबाट खसखस पाउने नै छु जसले अझ बढि आकर्षक बनोस् । 
 

मित्र सुबुजी र पुत्र समीरको सहयोग बिना यस वेबसाईटको जन्म हुँदैन थियो । त्यसकारण  दुबैजनालाई धन्यवाद ज्ञापन नगरे यस खसखसको अभियान अधुरो हुने छ .

- बासु

तपाईको खसखस यहाँ पठाउनु होला:  khasskhass@gmail.com

यहाँबाट प्रवेश

last update: July 4th, 2007