लघुकथा

विरोध



सुषमा मानन्घर
ललितपुर
mdhsusma@yahoo.com


नदी किनारमा अवस्थित त्यो शहर आधुनिकता र विकासको हिसाबले प्रमुख नै मानिन्थ्यो । यति रमणीय शहरमा अचेल खै कुन्नि कसको आँखा लागेछ । बेलाबेलामा हुने चक्काजाम, बन्द र हडतालहरुले ऐतिहासिक र सार्वजनिक सम्पतिहरुको थुप्रै खती र शहरवासीहरुको जीवन प्रभावित गरिसकेको छ । त्यहाँ भएका स्कूल, कलेज र अस्पतालहरु समेत पनि त्यसबाट अछुतो रहन सकेका छैनन् । आजित भएर शहरवासीहरुले एउटा बृहत भेला गरेका छन् ।
"हैन, यो देशमा सरकार छैन कि के हॊ ? यत्रो बन्दहरु भैरहँदा पनि सरकारले कुनै वास्तै गरेको देखिँदैन ।"
"म पनि दिक्क भैसकें । एक दिन हैन, दुई दिन हैन सँधै सँधैको यस्तो ताल । जहाँ जे भए पनि बन्दै गर्ने । के हामी ब्यापार गरी खानुपर्नेले पसलै खोल्न नपाउने ?"
"याँ आफ्नो भएको क्या.बि. पनि बन्दमा ब्यर्थै बिदा लिँदा लिँदा सकिसक्यो । गाडी नचल्दा अफिससम्म त्यत्रो लामो बाटो हिँडेर जाने कुरा भएन ।"
"अरु त कुरै छाड्नुस् न । सिकिस्त परेँ भनेर अस्ति अस्पताल गएको त अस्पताल नै बन्द बा ! यो पाराले पनि कहीँ देश चल्छ ?"

सबैका आफ्ना आफ्ना समस्या र गुनासाहरु थिए र उनीहरु प्रतिदिन भने जस्तै हुने बन्दबाट वाक्क र दिक्क पनि भैसकेका थिए । ती सवैजना यस्ता बन्दहरुलाई रोक्न चाहन्थे । बन्दको आयोजना गर्ने व्यक्तिसंस्था वा राजनैतिक पार्टीहरु समक्ष बन्दको विरोधमा सशक्त प्रत्युत्तर दिन प्रतिक्रिया जनाउनै पर्छ भनेर भेलाका दुईचार टाठाबाठाले प्रस्ताव राखे । जनसमुदायले तालीको गडगडाहट सहित प्रस्तावलाई समर्थन गर्यो । उपस्थित सवैले दिमाग लडाए । उनीहरुले सँधै देख्दै आएकोभोग्दै आएको र जानेकॊ एउटा त्यही तरीका थियोबन्द गर्ने । भोलिदेखि बन्दको विरोधमा उनीहरुले पनि फेरि उपत्यका बन्द गर्ने भएका छन् ।