विचाराधीन



प्रकाश सायमी
गोधूलि संसार
सैँबु ८, ललितपुर ।

यो समय
केवल मेरो हृदय जान्दछ
म किन घर फर्किन चाहन्छु ?

यतिबेला विस्तारपूर्वक
भन्नुको अर्थ
अझ  अस्पष्ट हुन सक्छ

यतिबेला पछिल्लो वाक्यले
अघिल्ला वाक्यसित
कुनै मेल राख्दैन

भन्ने नै हो भने
यतिबेला
एकको संवेदनाले
अर्कोसित
सहानुभूति राख्दैन
म यसकारण
घर फर्किन चाहन्छु

यतिबेला म कमजोर छु
रुग्ण र नग्न भइरहेछु
तर
मसँग घरको सम्पूर्ण अर्थ छ
……जसरी सारा घर छोडेर गएकाहरु
फर्किन पाएनन्

हराए

घर बाहिरका सारा दृश्य नष्ट छन्
घरभित्र पनि सम्भवतः
नष्ट नै होलान्
तर पनि
म घर फर्किन चाहन्छु
जबकि त्यो मेरो गन्तव्य होइन

त्यहाँ मलाई पर्खिरहेका कोही छैनन्
यतिबेला
मेरो घर जत्ति सुरक्षित
यो देश पनि छैन ।