भ्यालेन्टाईन्स डे को अवसरमा
भारती गौतम,
कपासको गलैचा ओछिईएको उत्तरी जमिन पग्लिन नपाउदै अनि पारिलो वसन्त आउने संकेत पाउन थालिसकेको मौसममा रंग र रौनक को वर्षा गर्दै फेव्रुअरी महिनाको १४ तारिखलाई भ्यालेन्टाईन्स डे भनेर पहिले पश्चिमी मुलुकहरुमा अनि अहिले धेरै जसो अरु मुलुकहरुमा पनि मनाईन थालेको छ। आफूले माया गरेकाहरु र आफूलाई माया गरिएकाहरु बीच विभिन्न माध्यम द्वारा माया प्रदर्शन को रुपमा मनाईने यो दिनलाई हाम्रो परिप्रेक्षमा “प्रेम दिवस” पनि भनिने गरेको पाईएको छ।
जव स्थानीय दोकानहरुका भित्ताहरु माया बारेका अनेकौ संदेशहरुले भरिएका कार्डहरुले सजिन थाल्छन, जव दोकानका मीठाई र चकलेटका दराजहरुमा मुटु आकारका राता, पहेला र सेता मिठाई र मुटु आकारका राता वट्टाहरुमा चकलेटका खात हरु चुलिन थाल्छन, अनि फेब्रुअरी लागेछ भन्ने थाहा हुन्छ। त्यसैगरी जव रेडियो, टीभी र पत्र पत्रिकाहरुमा रेस्टुरेन्ट, होटल, रिजोर्ट, को विज्ञापन तछाड मछाड गर्दै छापिइन थाल्छन्, गहना पसल र अरु पनि पसलहरुमा हीरा मोती, जुहारतको चर्चा हुन थाल्छ, अत्तरको बास्नाले मलहरु र मलका कस्मेटिक आयलहरु मगमगाउन थाल्छन् , मुटु आकारका बेलुनहरुले दोकान ईन्द्रेणी जस्तै रंगिन थाल्छन् त्यति बेला भ्यालेन्टाईन डे संघारमा नै आई पुगेको निश्चित हुन्छ। प्रेम आदान प्रदानको चरमसिमाको यो दिनको रौनक हेर्दा त पारपाचुके शव्द पनि शव्द कोषमा होला र जस्तो लाग्छ। त्यसै गरी दोकानहरुको क्यास रजिस्टरको लाईन, दोकानका आयल आयलको घुईचो, मीठाई फूल र अत्तरको मेलाहरुले मल खचाखच देख्ता त आर्थिक मन्दिको समय होला र अझ आर्थिक मन्दिले सवै भन्दा बढी असर परेको मुलुक यहि हो त जस्तो लाग्छ। वास्तवमा मायाको जादु अनौठो नै हुदो रहेछ।
“तिमी जता जान्छौ माया फैलाउदै जाउ, सवै भन्दा पहिले माया आफ्नै घरमा फैलाउ। छोराछोरीलाई माया गर , पतिले पत्नीलाई र पत्नीले पतिलाई माया गर, पल्लो घरको छिमेकीलाई पनि माया गर” –मदर टेरेसा।
विज्ञान र प्रविधिको अनुग्रहले विश्व एउटै छाना मुनी अट्टाएको बेला भूगोलको एक कुनामा पानी पर्यो भने अर्को कुनामा छाता ओढ्नु पर्ने जस्तो भै सक्यो। हवाईजहाजमा चढेर विसौं घण्टा पछि पुगिने ठाउहरु को दुरीलाई प्रबिधिले आफ्नै कोठाको कम्प्युटर भित्र समेटिदिएको छ। ई-मेल, वेभक्याम, च्याट, अनि फेस बुकहरुको आविष्कारले उहिले का पधेरा, चौतारा, देउराली , पार्क सवैलाई ईतिहासका कथा मा परिणत गरेका छन्। भ्यालेन्टाईन्स डे पनि अहिले पश्चिमको मात्र नभएर झण्डै झण्डै विश्वकै पर्व भएको छ।
भ्यालेन्टाईन्स डे भन्ने बित्तिकै प्रेमी र
प्रेमिका बिचको माया साटासाटको रुपमा मुख्यतया लिइएको देखिएको छ। भ्यालेन्टाईन्स डे
को शुरुआत भएका मुलुकहरुमा मुख्यरुपमा दुईजना जीवन साथी बिचको माया प्रदर्शन रुपमा
यो दिनलाई लिईन्छ भने यो प्रथा अनुकरणगरी मनाईने मुलुकहरुमा त भ्यालेन्टाईन्स डे
लाई केवल जीवन साथी बिचको प्रेम प्रदर्शन को रुपमा लिईने गरेको देखिन्छ। यहा मनाईने
भ्यालेन्टाईन्स डे तर साथी साथी विच, आमा बाबु र छोराछोरी बिच, दाजु भाई र दिदि
बहिनी विच सबै प्रकारको संबन्धको बीच माया प्रदर्शन गरिन्छ। बिगत दुई दशक देखि मेरा
छोरा छोरीले हामी बाबु आमालाई नै भ्यालेन्टाईन्स डे, भनेर कार्ड दिएका हुन्छन् र
हामीले पनि उनीहरुलाई कार्ड र साना साना उपहार दिने गरेका हुन्छौं। मान्छे बिचको सवै
प्रकारको मायाको उत्सव यो भ्यालेन्टाईन्स डे लाई प्रेमी प्रेमिका बीचको माया बारे
मात्र खुम्च्याउनु र प्रेम दिवसको रुपान्तरणलाई केहि फराकिलो बनाउदा झन राम्रो
हुन्छ होला।
“जहां माया हुन्छ त्यहा जीवन हुन्छ”
महात्मा गान्धी।
साच्चै माया जीवन संगै जन्मिएको हुन्छ। जीवन संग जन्मिएको माया तर जीवन मरिसक्ता पनि बाची रहेको हुन्छ। सृष्टीको आरम्भ देखि अन्त्य सम्म माया बेग्ला बेग्लै रुपमा , भूमिकामा र बेग्ला बेग्लै माध्यममा हामी संग रहेको हुन्छ।
बास्तबमा भ्यालेन्टाईन्स डे के रहेछ यसको
थालनी कसरी भएको रहेछ भनी खोजी गर्न मन लागेकोले यो चाड बारेका केहि तथ्य र केहि
किंबदन्ती लाई यहा प्रस्तुत गर्न खोजिएको छ ।
भ्यालेनटाईन्स डे कसरि शुरुआत भयो भन्ने बारे धेरै मतहरु पाईन्छन। त्यस मध्ये कुनै
मत भ्यालेन्टाइन भन्ने मान्छे बारेका छन भने कुनै मत फेब्रुअरी महिना र त्यसको पनि
किन १४ तारिख नै बारेका छन्।
एउटा भनाई अनुसार प्राचीन रोममा फेबुअरी १४ का दिन रोमका सबै देवी देवताकी पनि देवी
जुनोको सम्मान गरिने उत्सब मनाईने गरेको थियो। रोमनहरुले देवी जुनो लाई नारी र
विवाहकी देबी पनि मान्ने गरेका रहेछन्। त्यसको भोलिपल्ट फेब्रुअरी १५ देखि 'लुपरसेलिया"(Lupercalia)
भन्ने चाड आरम्भ हुने रहेछ। यो चाडमा जवान केटा र केटिहरु कुनै बोतलमा राखिएका
थुप्रै नाम बाट नाम छानेर त्यसैलाई आफ्नो प्रेमी वा प्रेमिका मान्ने गर्थे अरे, कसै
कसैले त त्यसै संग बिहे समेत गर्थे अरे। तर अब भ्यालेन्टाईन चाहि को थिए र किन यो
चाड संग उनको नाम गासियो बारे पनि धेरै मतहरु पाईएका छन।
भ्यालेन्टाइन जो भए पनि धार्मिकरुपले
प्राचीन रोमका कुनै पनि धार्मिक बिश्वास र कृस्चियानिटि को कुनै संदर्भ संग उनको
नाम जोडिएको छैन अरे। अर्थात क्रिस्चियन धर्म र भ्यालेन्टाईन को कुनै संबन्ध रहेनछ।
एउटा विश्वास अनुसार तेस्रो शताब्दि तिर रोममा भ्यालेन्टाईन भन्ने एकजना पुरोहित
थिए। सम्राट क्लाउडियस (Claudius 11) द्वितीय ले आफ्नो सेनामा भर्ती भएका र हुन
सक्ने सबैलाई विवाह गर्न मनाही गरेका थिए अरे, अविवाहित सेना विबाहित सेना भन्दा बढि
लगनशील र आफ्नोकाममा कटिबद्द हुन्छन् भन्ने बिश्वास भएका सम्राटको सिद्दान्त
न्यायिक नभएको भनेर पादरी भ्यालेन्टाईनले सेनाहरुको विवाह उनीहरुका प्रेमिकाहरुका
साथ गोप्य तवरले गराईदिने गरेका ले त्यो थाहा पाएर सम्राटले भ्यालेन्टाईनला मृत्यू
दण्डको सजाय दिएका थिए अरे फेब्रुअरीको मध्य तिर। अर्को यस्तै भनाई अनुसार रोमनहरुको
सास्ती बाट क्रिस्चियन कैदीहरुलाई भगाउदा भ्यालेन्टाइनको यसै समय ताका मृत्यू भएको
पनि बताईएको छ।
तेस्रो यस्तै भनाईमा भ्यालेन्टाईन जेलमा
परेका बेला उनलाई निगरानी राख्ने जेलका अफिसरकी छोरीलाई भ्यालेन्टाईनले प्रेम गर्थे
र आफू मर्नु अघि ती युबतीलाई लेखेको चिठीको अन्तमा "तिम्रो भ्यालेन्टाईन" भनेर सहि
गरेका थिए र आज सम्म पनि यो चाडमा बाडिने कार्डको अन्तमा "तिम्रो भ्यालेन्टाईन" अनि
"तिमी मेरो भ्यालेन्टाईन बन्ने हो" आदी वाक्य प्रचलित छदैछन। भ्यालेन्टाईन बारेका
कथा जे जस्तो भए पनि उनी शाहसी , समबेदनशील र असल प्रेमी भएको तथ्य सबैले स्वीकारेका
छन्। उनी बेलायत र फ्रान्समा ज्यादै लोकप्रिय सन्त(Saint) रहेछन्।
बेलायतमा लोकप्रिय भ्यालेन्टाईन डे १९सौ शताब्दी तिर अमेरिका मा बसाई सरि आएका
ब्रिटिशहरु संगै अमेरिका भित्रिएको अनुमान गरिएको छ। शताब्दीको मध्यतिर आएर खासगरी
लोग्ने मान्छे ले स्वास्नीमान्छेलाई बिभिन्न प्रकारका उपहारहरु दिने अनि प्रेमपत्र
लेख्ने गर्थे अरे। उपहारहरुमा गुलाबका फूलहरु र बिभिन्न प्रकारका चकलेटहरु हुने
गर्थे अरे। पहिले हातैले लेखेका चिठीको आदान प्रदान हुने गर्थ्यो अरे अनि पछि
बनिबनाउ कार्डहरुको चलन चलेको अरे। सन् १९८० तिर देखि गहना पसलेहरुले हिराको
बिक्रिबितरण गर्ने उद्योगले भ्यालेन्टाईन डे को दिन बिशेष गहना उपहार दिने चलन
चलाउन थालेको अरे। अहिले त फूल, चकलेट , गहना र लुगा कपडाहरु सबै नै प्रकारका
ब्यापार यो दिनमा तंछाड र मछाड गरि प्रचार गरिरहेका छन् । हुदा हुदै "हिरा भनेको
मायाको प्रतिक हो' तपाई आफ्नी जीबनसंगिनी या प्रेमिकालाई माया गर्नु हुन्छ भने यो
ह्रदय आकारको हिराको हार दिन नबिर्सिनु होला" आदि बिज्ञापन देख्ता हिरा किन्न नसक्ने
ले कसरी आफ्नी प्रेयसीलाई माया देखाउनु जस्तो पनि अर्थ लाग्ने हुन लागि सक्यो।
समबेदनालाई राम्रो संग प्रयोग गरेर मनोबैज्ञानिक प्रभाव पारि ब्यापार गर्न सिपालु पश्चिमेली ब्यापारकलाको शिकार नबन्न निकै गाह्रो हुन्छ। तर ब्यापार भए पनि समबेदनाको सदुपयोग र दुरुपयोग जे भएको भए पनि वर्षको एक दिन नै भए पनि आफूले माया गरेका बाट माया गरिनेले जुन सुकै प्रकारको भए पनि उनीहरुको मायाको लागि उनीहरु भैदिएकै मात्र कारणको लागि भए पनि कृतज्ञता ब्यक्त गर्नु कुनै पाप हैन अपराध हैन अनि कुनै भूल त हुदै हैन। यस दिन यो मुलुकमा आफ्ना प्रेमीका, पत्नी कसैले आमा र छोराछोरीलाई समेत कार्ड दिने, रेस्टुरेंटमा खुबाउन लाने र उपहारहरु किनिदिने गर्छन।
अनुसरण गरेको भए पनि अनुकरण गरेको भए पनि भ्यालेन्टाईन्स डे को सट्टामा शिव सतीदेवी अर्थात मुना मदन आदि जे सुकै नाम ले भए पनि ३६५ दिनमा एकै दिन मात्र भए पनि आफूलाई माया गर्ने र आफूले माया गरेका प्रति त्यो माया प्रदर्शन गरिनु सकारात्मक नै हो। हाम्रा आमा हजुर आमा ,फूपु , आदिले जिन्दगी भरि आफ्ना पति , छोराछोरी, सासु ससुराको सेवामा आफूलाई लिन गराउदा यस्तो एक दिन नै सहि कसैले उहाहरुप्रति कुनै पनि तरिकाले आभार ब्यक्त गरेको अनुभव नगरे पनि आफूले माया नपाएको त ठान्नु भएन होला तर वर्षमा एक दिन कसैले “ल आज तिमी(तपाई)ले आराम गर्ने र रमाईलो गर्ने” भनेर सवै जिम्मेदारी बाट छुटकारा पाएर सानो तिनो केहि उपहार पनि पाए पक्कै पनि “भो चाहिदैन “ भन्नु हुन्न्थ्यो होला। माया विर्सिएर ब्यक्तिगत स्वार्थ र महत्वकांक्षाले मानव जाति ले घृणालाई अंगालेको परिप्रेक्ष्यमा मायाको एक छिटो मात्र पनि संजिवनी बन्न पुग्ने छ। भ्यालेन्टाईन्स डे को उपलक्षमा सवैमा शुभकामना।
“मायाको स्पर्शले हरेक व्यक्ति कवि बन्न पुग्छ” –प्लेटो।