वार्तालाप

गीता खत्री, न्यू योर्क


आमा भन्ने शब्दै हेर
कति मिठो प्यारो
कोखमा मेरो बास भयो
तिमिलाई कति गाह्रो ।

सुस्तरी हिँड आमा
अग्लो होचो हेरी
तल माथि गर्दा खेरी
गाह्रो होला फेरि ।

तिम्रो कोखमा चुलबुल चुलबुल
खेली दिँदा झन
सासै फेर्न गाह्रो जस्तो
भयो तिमिलाई झन ।

सानो ठाउँ चलमल गर्न
मलाई पनि गाह्रो
आङ तान्न खोज्दा खेरी
सास्ती हुने साह्रो ।

नौ नौ महिना बस्दा खेरी
मलाई पनि गाह्रो
आमा तिमिलाई मलाई
भन्दा कति होला गाह्रो

निगालाको मुरलीमा
कति मिठो धुन
गाह्रै हुदा बिसिनेछ्यौ
सुन्ने गर धुन ।

आँखाभरी फुलै फूल
मन तिम्रो चाचल
फर्याक फुरुक भई रहेछ
तिम्रो मन अचेल ।

सपनीमै पनि तिमी
हाँसी रहे सरी
दिन गन्ती गरी रहीछ्यौ
दिनको दश फेरि ।

कोखमा तिम्रो फूल खेल्दा
जीवन ठान्छेउ धन्य
म पनि त ऋणि भएँ
आज तिम्रो झनै ।

कहिले काँही तिर्सनाले
तिमिले पिरो खाँदा
गाह्रो हुन्छ कसो कसो
मलाई पनि आमा ।

बसेँ बास तिम्रो कोखमा
साइनो ज्यादै गहिरो
ऋणको भारा चुकाउन
आउँदैछु चाँडै ।