उसको मृत्यु



सङ्गीत आयाम
चितवन, भरतपुर
sangeetaayam@gmail.com



कुनै कारणबिना नै उसको मृत्यु भयो । मलाई विश्वास नै लाग्दैन कि भर्खरै उसको दाहसँस्कार सकेर म घर फर्किएको छु । खुट्टाहरु फतक्क गलेका छन् । हातहरु मानौं अपाङ्ग भएका छन् । संवाद हराएर ओठहरुमा मात्र मौनता फैलिएको छ । मनहरु लाग्छं आहत् भएका छन् कुनै ठूलो पहाडले किचिएर ।
 
साँझ ढल्दैछ । म झ्याल खोल्छु हावाको एक चिसो झोका कोठाभित्र पस्छ । लाग्छ हावाको झोंकासँगै उसको सम्झना पनि कोठाभित्र प्रवेश गरेको छ । स्मृतिहरुको भेलले मलाई बगाएर पर कतै एकान्तमा पुर् याउँछ । म उसको ओठ सम्झन्छु ।
 
उसका कलिला ओठहरुमा अद्भुत प्रकारको जादु थियो । त्यो जादुले ओतप्रोत भएका ती ओठहरु मैले सहस्र पटक चुमेका ओठहरु थिए । अहा ! कति राम्रा थिए ती ओठहरु । उसका स्वप्निल तरङ्ग व्यूँझाउने ओठहरु यति सुन्दर थिए कि मानौं ती ओठहरु मैले कोस्रमा पढ्ने गरेका शेलीका कविताहरु हुन् । मानौं मैले एकान्तमा भिजेर समयलाई मनोरम बनाउने गरेका डी. एच. लरेन्सका उपन्यासहरु हुन् ।
 
फेरि अर्को चिसो झोंकाले म स्मृतिबाट खस्छु । आर्कल्याम्पको प्रकाशले छोएको सेतो फूललाई झ्यालबाट टाउको निकालेर म बाहिर हेर्छु । बाहिर अलि चिसो नै रहेछ शायद रात पनि धेरै ढलिसक्यो होला । साँझ डुबेको पनि धेरै समय भैसक्यो खोइ ! निद्रा नै आउँदैन । संझनाहरु चाहिं यसरी आएका छन् कि के भन्ने म उसको आँखा सम्झन्छु ।
उसका ठूला ठूला आँखाले मलाई मानौं मोहनी नै लगाएका थिए । म उसको आँखा हेरिरहन्थें एकनाशले टोल्हाएर । मैले सयौं पटक चुमेका ती आँखाहरु कुनै सुल्झनै नसक्ने रहस्यहरु थिए । कति आत्मीय थिए ती आँखाहरु ! कति रोमााचक थिए ती आँखाहरु ! ती आँखाहरुको गहिराइमा एउटा पृथक संसार थियो । ती आँखाहरुले बोक्ने गरेका एउटा क्यानभासमा समय लत्पतिन्थ्यो अमूर्त भएर । म कसरी ती आँखाहरुलाई बिर्सन सक्छु र जसले मभित्र सहस्र स्पर्शहरु खोपेर गए । यो पीडाको मौसममा स्मृतिले दिएको थप पीडा पिएर म ऊबाट भाग्नै नसक्ने भएको छु यतिखेर ।
 
रात ढल्दैछ । समय बहकिदैछ । मात्र एकान्तमा रातलाई लिएर बस्नु शायद पागलपन नै हो क्यार ! शायद अरु नै केही हुनसक्छ रातभरि भरि आफुलाई टाँगेर बाँच्नु । अनायास यो के ? पानी परेजस्तो छ बाहिर । अघिसम्म त पानी पर्ने जस्तो मौसम नै थिएन मात्र चिसो हावा बगिरहेको थियो । होइन पानीको छिटा त भित्रै पस्नै लाग्यो झ्याल लगाउनु पर्यो । म उठ्छु । झ्यालतिर बढ्छु तर हातहरु भने सर्न नै मानिरहेका थिएनन् । स्मृतिको कुन सम्मोहनले तानेर मलाई फेरि पनि उसको नजिकै पुर्याइदिन्छ ।

केही दिन पहिलाको त घटना हो । यस्तै झमझम पानी परेको समय थियो । हामी ओत लागेर बसेका थियौं सडकको छेउमैं । बर्सिरहेको पानी देख्दा यस्तो लाग्थ्यो नजिक आउँदै गरेको रातलाई समेत पिइदिनेछ यसले आफ्ना ओठहरु फैलाएर । पानीको भेलमा सडक पनि बगेझैं लाग्थ्यो सँगसँगै । ठीक यसैबेला उसका हातहरु पानीमा सर्वाङ्ग रुझिरहेको गुलाफको फूलतिर सोझिन्छन् । मैले त्यस फूलमाथि आफ्नो ध्यान केन्द्रित गर्छुं । वास्तवमैं पानीमा भिजेको त्यो फूल यति सुन्दर देखिन्थ्यो कि मन बहकिहाल्दथ्यो । उसका ओठहरुले मसँग त्यो फूल टिप्ने अनुरोध गर्न थाल्छन् ।
 
"पापा, त्यो फूल मलाई चाहियो, टिपेर ल्याउनोस् न ।"
मैले उसलाई भन्छु "पानी परिरहेको छ, अहिले हुँदैन ।"

ऊ एकदमै जिद्दी थियो मेरो केही लाग्दैन । म फूलतिर बढ्छु र त्यसलाई टिपेर फर्किदा निथुक्क रुझिसकेको हुन्छु । मेरा कपडाहरु पानीले लप्रुक्क भिजेको देखेर होला उसको हाँसोले रोकिने नाम नै लिएन । "थ्याक्यूं पापा !" ऊ भन्दै थियो । उसको चंचल र कोमल हाँसोले त्यत्रो पानीले भिजाउन नसकेको मेरो मन चुर्लुम्म डुब्ने गरी भिजाएको थियो । मात्र संझना छ पत्र-पत्र हुँदै उप्किरहेका ।

ओहो ! पानीले सिरानी पनि भिजाएछ । पानी त क्रमशः बग्दै गएर तन्नाभरि फैिलंदै गएछ । म फेरि उठ्छु । अब त झ्याल लगाउनै पर्छ नत्र पानी कोठाभरि फैलिनेछ । कत्रो पानी परेको म बाहिर हेर्छु । बाढी नै आएजस्तो छ सडकमा । अनायास आर्कल्याम्पको प्रकाशमा नुहाइरहेको त्यो सेतो पुूलमा मेरो आँखा पुग्छ । ठ्याम्मै उस्तै फूल ! कत्ति फरक छैन मानौं त्यो फूल यस फूलमा रुपान्तरण भएको छ अहिले । तर …. खोइ उसको हात सोझिएको त्यो फूलतिर ? खोइ उसका ओठहरुले त्यो फूल टिप्ने अनुरोध गरेका ? पीडाको अदृश्य उदासी कोठाभरि पोखिन्छ र सुस्त सुस्त बढ्नथाल्छ त्यसको गाढा रङ्ग । म चुपचाप अघिको फूललाई नियाल्छु र देख्छु उसको स्मृतिले व्यूँझाएको प्रतिबिम्बित रुपलाई ।

ओहो ! पानीले तन्ना पुरै भिजाएर कोठाभरि फैलिएछ । अघि नै झ्याल लगाउनु पर्ने ! म झ्यालतिर बढ्छु र त्यसलाई बन्द गर्छु ।

मध्यरातको शून्यतामा एउटा अनौठो लाग्ने आवाजले मलाई झस्काउँछ म त्यस आवाज आएकोतिर हेर्नुपुग्छु । ए ! आमा पो हुनुहुँदो रहेछ ढोका खोलेर आउनु भएको । आमा पनि उसको मृत्युले आहत् हुनुभएको कुरा म उहाँको भिजेका आँखा हेरेर नै थाहा पाउँछु । आमातिर म सम्पूर्ण रुपमा केन्द्रित हुँदा न हुँदै उहाँको वाक्य खसिसकेको हुन्छ ।

"बाबु तँ अहिलेसम्म सुतेको छैनस् के गरिरहेको यतिबेलासम्म ..."

मैले भन्न खोज्छु "आमा तँपाई पनि त सुत्नुभएको छैन नि !" तर भन्दिन ।

आमाको ओठ फर्फराइरहेको थियो । शायद उहाँ अरु पनि केही कुराहरु भन्न खोज्दै हुनुहुन्थ्यो । आँखामा रसाएको आँसुलाई बलजफ्ती रोक्दै आमाले शब्दहरुलाई बडो कठीन ढङ्गले निकाल्नुहुन्छ ।

"बाबु गएको मान्छे अब फर्केर आउने होइन । नआउने कुरामा मन लगाएर मात्र के हुन्छ ?" मलाई थाहा थियो यो कुरा आमाले आफैंलाई सान्त्वना दिन भनिरहनु भएको थियो ।

"कसरी भुल्ने आमा उसलाई ?" मैले मनमनै आफुलाई दोहोर्याउँदै थिएँ ।

आमा कतिखेर त्यहाँबाट बाहिर जानुहुन्छ मलाई थाहा नै हुँदैन । म त आफैंमा हराएको थिएँ पीडा र उदासीको बोझले थिचिएर ।

मैले झ्याल खोल्छु । ए ! पानी त थामिएछ । त्यत्रो झमझम परेको पानी थामिएला जस्तै थिएन । आर्कल्याम्पको प्रकाशले त्यो परको सेतो फूलमा उज्यालो छरिरहेको थियो । तर उसको सामीप्यले दिएका सहस्र उत्साहहरु र खुशीका गीतहरु भने हराएका थिए कुनै अज्ञात गन्तब्यतिर यात्रारत रहेर ।
 
मैले अन्तिमपल्ट झ्यालबाहिर हेर्दा बिहान भैसकेको थियो । टेबुलमा चिसो भएको कप थियो चियाको शायद आमाले ल्याएर छोड्नुभएको थियो । बाहिर उज्यालो परसम्म पोखिसकेको हुन्छ म कोठाबाट बाहिरिन्छु र केही टाढा पुग्छु ।

झलमल्ल घाम लागेकोले मौसम सफा थियो । राती परेको पानीले गर्दा प्रकृति मुलायम देखिन्थ्यो । मलाई आफ्नो उदासी केही कम भएको जस्तो महसुस हुँदै जान्छ । सँधै उदास रहेर पनि त बाँच्न सकिदैन मैले सोच्दै हुन्छु । सँधै पीडा लिएर कसरी यात्रा तय गर्न सकिन्छ र मलाई समयले सिकाउँदै थियो ।

त्यो सेतो फूल त्यहाँ थिएन । मलाई फेरि समयले उपहास गरेझैं लाग्छ । कसले टिपेछ त्यो फूल कति निष्ठुर हात होला त्यो फूल टिप्ने उसलाई पनि त मृत्युले यसरी नै टिपेर लग्यो मैले केही पनि गर्न सकिन । जे कुरा भुल्न खोजिन्छ त्यही कुराले किन यसरी सताउँछ प्रश्न जीवन्त हुँदै थियो ।

घरी-घरी आइरहने उदासीबाट बच्न म डी. एच. लरेन्सको कथासङ्ग्रह पढ्न थाल्छु । 'दि रकिङ हर्स विनर' भन्ने कथा त्यस सङ्ग्रहको शुरुमैं थियो । यस कथामा सानो केटो 'पऊल'को मनोविज्ञान बिगारेर उसकी असन्तोषी आमाले अन्त्यमा आफ्नै छोराको मृत्यु गराएकी कुरा थियो । यो कथाले झन् उसको मृत्युलाई ताजा गराउँछ   । म पुस्तकलाई फ्यात्त मेचमा फाल्छु । किन हरेक कुरा उसको मृत्युसँग जोडिएर आउँछन् ? के यसबाट बच्ने उपाय छैन ? म साँच्चै नै यस्तो कुराको प्रतीक्षामा थिएँ कि कमसेकम उसको मृत्युले दिएको यातनालाई भुल्न सकुँ ।

मध्यान्नतिर एकहूल केटाकेटीहरु आउँछन् म उनीहरुलाई हेर्नथाल्छु । शायद उसका साथीहरु होलान् । अँ उसका साथीहरु नै रहेछन् । उनीहरुको अनुहारमा अनन्त खुशी छचल्किरहेको थियो । उनीहरुका आँखा यसरी चम्किरहेका थिए कि मानौं जसरी अन्धकारमा हठात् प्रकाश चम्कन्छ । आफ्ना साना हातहरुमा फूलका गुच्छाहरु लिएर उभिएका ती केटाकेटीहरुमाझ मैले उसलाई खोज्छु । अँह ऊ त्यहाँ थिएन । सँधै साथीहरुमाझ रहने उसको उपस्थिति आज साथीहरुका माझ नै हराएको थियो । मेरो आँखामा हेर्दै एउटा सानो केटाले मसँग केही सोधिरहेको मलाई आभाष हुन्छ । ऊ भन्दै थियो "अङ्कल, आकाश आज किन स्कूल नआएको ? आज हाम्रो रिजल्ट पनि भयो । अङ्कल सुन्नुहुन्छ आकाश त स्कूलभरिमा सबैलाई टपेर बोर्ड फस्ट भयो नि !"

म मौन थिएँ । आफ्ना आँखामा रसाएको आँसुलाई लुकाउन म उनीहरुदेखि उता फर्किन्छु ।

एउटी सानी केटी मेरो सामुन्यमा आउँछे र जिद्दी गर्न थाल्छे । "भन्नुहोस् न अङ्कल आकाश खोइ भन्या ?"

सार्है जिद्दीवाल हुन्छन् केटाकेटीहरु । आफुले खोजेको कुरा पाउने त यिनीहरुको स्वभाव नै हुन्छ । मेरो आकाश पनि सार्है जिद्दी गथ्र्यो र पनि अत्यन्त प्यारो थियो । उसले जिद्दी गर्दा उमेर अनुसार कति सुहाउँथ्यो पनि । मैले परतिर हेरें एकहूल चराहरु स्वतन्त्रताको उपभोग गरेर उडिरहेका थिए ।
 
केटाकेटीहरुको स्वर बढ्दै थियो । "अङ्कल, आकाश खोइ भन्या ? हामीसँग किन नबोल्नुभएको अङ्कल ?"

"बाबुनानी हो आकाश छैन ।"

मेरो कुरा खस्न नपाउँदै एकस्वरमा उनीहरुले सोध्छन् । "आकाश कहाँ गयो अङ्कल ?"

"बाबुनानी हो आकाश त हामीलाई छोडेर टाढा गयो ।" मैले भन्न नचाहँदा नचाहँदै भन्छु ।

"अङ्कल हामीले आकाशलाई बधाई दिन यी फूलहरु ल्याएका ।" ठूला ठूला आँखा भएकी केटीले फूलहरु मलाई दिदै भन्छे ।

केटाकेटीहरु जान्छन् । खोइ कति बुझे यी अबोध केटाकेटीले मृत्युको भाषा । फूलहरुलाई मायाले सुम्सुम्याउँदै म सोच्न थाल्छु ।

केटाकेटीहरु पर पुगिसकेका हुन्छन् । खोइ कुन सम्मोहनबाट प्रेरित भएर हो म उनीहरुलाई हेर्नथाल्छु । यो के मेरा आँखा अनायास पछिपछि िहंडिरहेको एउटा केटोमाथि पर्छ । मैले हरेक कोणबाट उसलाई नियाल्छु । आकाशको उचाइको र शरीर पनि आकाशको जस्तै । आकाशकै रङ्गको र िहंडाइ पनि आकाशको जस्तै । मेरा पाइलाहरुमा शक्ति भरिन्छ र त्यो केटोप्रतिको आकर्षणले म उतिर जोडसँग भाग्न थाल्छु । एकछिन पछि म त्यो केटोको नजिकै हुन्छु । हातहरु उसलाई उचाल्न खोज्दै हुन्छन् । ओठहरु उसलाई चुम्न उद्दत देखिन्छन् । काख आफ्नो शून्यपन पर फाल्न सायद रिक्तताको ठाउँमा उत्सर्ग भर्दै हुन्छ । छाती मौनतालाई पृथक गरेर सायद संवाद स्थापित गर्दै हुन्छ ।

मेरो आभाष पाएर होला ऊ मतिर फर्किन्छ । मैले उसलाई पैतालादेखि शीरसम्म हेर्छु । ए ! आकाश त होइन रहेछ । अँह आकाश जस्तो लागेको त आकाशको साथी पो रहेछ ।
म घरतिर फर्किदै गर्दा परैबाट आमालाई देख्छु । आमाले अघिदेखि नै मलाई हेरिरहनु भएको रहेछ । मलाई कस्तो कस्तो लागेर आउँछ । मलाई साँच्चै नै आफ्नो स्थितिको कारण अप्ठ्यारो महसुस हुन्छ । आमा घरभित्र जानुहुन्छ । म घरसम्म पुगेर टक्क अडिन्छु । वास्तवमा म यस्तो कुराको प्रतीक्षामा हुन्छु जसले उसको मृत्युलाई उसका संझनाहरुदेखि पृथक गरोस् जसले उसको मृत्युलाई उसका स्मृतिहरुबाट अलग गरोस् ।