उल्टो कोट
कृष्ण प्रसाई
हाल: कोरिया
सिगरेटको अन्तिम सर्को तानेर निखिसकेको ठुटोलाई छेउकै खाली भूइँमा फ्याँकिसकेपछि
पुरानो फाटिसकेको जुत्ताले किचेर निभाउदै लामो सास तानेर काकाले भने -"मेरो पुरानो
प्रतिज्ञा लाई पुनःर्जीवित पार्दै आजैदेखि फेरि मैले आफ्नो कोट उल्टो लगाउने निधो
गरेँ ।" यति भनिसकेपछि तत्कालै उनले आफ्नो पुरानो इष्टकोट उल्टाए र सहज रुपले आफ्नो
शरिरमा लगाए ।
रत्नबहादुर कार्की अर्थात रत्नकाकालाई मैले आजभन्दा पैँतीस वर्ष अघि पश्चिम वंगालमा
पर्ने शिलगडी शहरको प्रधाननगर भन्ने ठाउँमा पहिलो पटक देखेको थिएँ । त्यतिखेर उनले
आफ्नो इष्टकोट उल्टो लगाएको देखेर मैले मेरा आफ्नै काकासँग यसवारे जिज्ञासा राखेको
थिए । मेरा काकाले सहज रुपमा भन्नु भएथ्यो । "२०१७ सालअघि रत्नदाई प्रजातन्त्रका
प्रवल हिमायती हुनुहुन्थ्यो र पार्टीगत व्यवस्थाको सकृय सदस्य रहेर कांग्रेस
राजनीतिमा होमिनु भएथ्यो । सत्र सालको राजनैतिक काण्डको विरोध गरे वापत उहालाई
पक्राउ पुर्जी आउँदैछ भन्ने थाहा पाएपछि एकाएक पलाएन भएर उहाँ भारत पस्नु भयो ।
त्यतिखेर व्यवस्था विरोधीलाई 'अराष्ट्रिय तत्व' भनेर तत्कालिन व्यवस्थाका
हिमायतीहरुले भन्ने गरेका थिए । व्यवस्था विरोधी जो कोहीलाई अछुत झैँ सम्झने
तत्कालिन सासन व्यवस्थाले धेरैलाई आफ्नो वशमा पारे । कत्तिका घरजग्गा सरकारीकरण भए
। धेरैलाई विभिन्न जालसाजी मुद्दा लगाएर आफ्नो ठाउँबाट उठिवास लगाईयो । धेर थोर नगद
हुने र आफ्नो थोर बहुत जमिन हुनेहरु टुक्राटाक्री जमिन बेचेर समेत प्रवासिए । कोही
टाढाकै मुग्लान पसेर लापत्ता भए जसको पछि सम्म खवर रहेन । रत्नदाई तिनै मध्येका एक
इमान्दार कार्यकर्ता थिए जो आफ्नो भए भरको जायजेथा आफ्नी श्रीमती र नाबालक
छोराछेरीलाई जिम्मा लगाएर भारत भास्सिएका थिए । रत्नदाई तिनै मध्येका एक सहयोगी
प्रजातन्त्रप्रेमी कार्यकर्ता थिए जो आफ्नो प्रवाशी नेतालाई राति-राति सिमा वारी
आएर सिमाना नजिक घर रहेका नेताहरुका घरबाट खाने चामल फलफूल र कुखुराका अण्डाहरु
ओसारेर पुर्याउथे । रत्नदाई तिनै मध्येका एक व्यवहार कुशल मान्छे थिए । जो प्रवाशित
नेताहरुका नेपालतिरका सम्पूर्ण व्यवहारहरु भूमिगत रहेर नेपालमै मिलाउने गर्दथे ।
उनले गर्ने यी सब काम निःशुल्क थिए । रत्नकाका तिनै मध्येका एक त्यागी र
प्रतिज्ञारत कुशल योद्धा थिए जसले प्रजातन्त्रको हरण पछि पुनः नेपालमा प्रजातन्त्र
नफर्काउन्जेल सम्म सुल्टो कोट लगाउँदिन भनेर किरिया खाएका थिए ।"
मेरा काका अझै थपिरहनु भएको थियो "सरल र जुझारु रत्नदाई अत्यन्तै मिलन्सार छनू ।"
रहदै वस्दै जाँदा मैले थाहा पाएँ रत्नकाका वास्तवमै सहयोगी र सहृदयी रहेछन् । कुनै
काममा भेद भाव थिएन रत्नकाकाको । म जस्तो स्कूल पढ्दै गरेको स्कूले ठिटोसँग पनि
उत्तिकै मिल्न सक्ने र पैसा हुने वित्तिकै नजिकैको आदुको पसलमा गएर सितलु मिठाई
किनिदिने काका सानोभन्दा सानो काम पनि आफै गर्दथे । प्रवाशी नेताहरुलाई 'अमृत वजार'
पत्रिका किनेर ल्याइदिने देखि नेतापत्नीका साडीहरु बोकेर ड्राइक्लिनर्ससम्म
पुर्याउन पनि उनी धक मान्दैनथे । ।
यस्तै यस्ता वानी व्यवहार र मिलनसारितामा मैले पाएको थिए रत्नकाका लाई त्यो प्रवाशी
भूमिमा । एक पटक त नजिकको किरिया पुत्री नभएका एक नेताको काज किरियामा १२ दिन सम्म
किरिया पुत्री भएर जुठो वारेका थिए उनै रत्न काकाले ।
मेरो सम्झनामा रहेको अर्को ताजा घटनामा रत्नकाका र म भएर नै एक दिन हाम्रा नेता
पत्नीका नयाँ र राम्रा साडीहरु प्रधाननगरको 'वेण्डवक्स' भन्ने ड्राइक्लिनर्समा जाकट
राखेर ल्याएको पैसाले वनारसबाट आएका एक जना प्रभावशाली प्रजातन्त्रवादी नेताको अतिथि
सत्कारमा खर्चिएका थियौँ । प्रवाशमा भोग्नु परेको गरीवी र अभावको सबै भन्दा ठूलो
घटना हुनु पर्छ त्यो । वागडोगरा हवाई अड्डा सम्म लिन जाने र पछि २ दिन सम्मको
अतिथ्य सत्कार पछि त्यसै ठाउँमा छोड्न जाने निर्वासित नेताहरुको पंिक्तको लाममा
रत्नकाका पनि एक थिए । तर उनको नाम न ती वरिष्ठ नेतालाई थाहा थियो न उनका कामलाई
चासो लिएर उनी प्रति कसैले गम्भीर हुन सकेकै थिए ।
सम्झनै सम्झनाहरु वीच अर्को एउटा सम्झना छ काकासँग मेरो । जाडोको छोटो स्कूले विदामा
छुट्टी मनाउन म काकासँग एक साँझको समय पारेर आफ्नो घर नौवाबारी फर्केको थिएँ ।
आजभोली झैँ त्यसताका पनि नेपालका पूर्वी तराई फाँटहरुमा धान पहेँलपुर भएर लटरम्म
फलेका हुन्थे । आखाले भ्याइन्जेल सम्म पहेँला धानका फराकिला मैदानहरु औधि रमाइला
लाग्थे । १५ दिनको जाडो विदा सकिनै लागेकोले म पुनः आफ्नै प्रवाशी स्कूलमा फर्कने
तरखरमा थिएँ । त्यसताका रातैभरि स्याल कराएको आवाज गाउँमा सुनिन्थ्यो । एक ठाउँबाट
स्याल कराउन थालेपछि एक पछि अर्को लहरै आवाजमा स्यालहरु घन्टौं सम्म कराउथे जुन
आवाज धेरै टाडासम्म फैलिएर आफै एकाएक बिलाएर जान्थ्यो । धान काटिसकेपछि खमारमा
थन्क्याइसकेको समय हुन्थयो त्यो । त्यतिखेर आजभोलि जस्तो फेदै लगाएर धान काट्ने चलन
थिएन । धान काटिसकेर छोडिएको एक फुट जतिको नरुवा भएका गराहरुमा सिलाधान खोज्नेहरुको
जमातै भेटिन्थ्यो । सिलाधान खोज्नु कसैका लागि वाध्यता र कसैका लागि रहर थियो
त्यतिखेर । दिनभरि सिलाधान खोजेर बेलुका घर फर्केपछि खुट्टा धुने बेलामा घुडामुनि
पानीपर्दा चहर्याएर खपिनसम्क्नु हुन्थ्यो शरीरलाई । मुसाले चोरेर पाँजैपाँजा मिलाएर
खेतका आलीमुनी दुलामा लुकाएका बाला सहितको मुसे धान पनि मानिसहरुले मुसाको दुलोबाट
खनेर निकाल्ने गर्दथे । त्यस्तै दिनहरुमध्ये त्यो एउटा हिँउदे विदा मनाउँदै गरेको
दिनको याद छ मलाई काका मलाइ छाडेर प्रवाश फर्केपछिको समय थियो त्यो । मुसा जस्तै
स्याल लुक्ने अलि ठूला र दुलैदुला भएको ठाउँमा हामीले एक दिन स्याल समाउन भनेर केही
दूलामा धुँवा निस्किरहेका पुल्ठा हालेर बन्द गरेपछि केही दूलामा लठ्ठी सहितका हामी
चौकिदारी बसेका थियौँ । दूलाभित्र बस्ने स्याललाई बाहिर निकाल्न यसरी धुँवा लगाइएको
थियो । तर ठूला स्यालको सट्टा पाँचवटा स्यालका वच्चाहरु धुवाले निसास्सिएर फुत्फुति
दूलाभित्रबाट बाहिर निस्केका थिए । कस्तो अचम्म ! ती स्यालका बच्चाहरु बाहिर
निस्कनासाथ एकोहोरो गरी आकाशतिर मुख फर्काएर सबै एकै नासले रोएका थिए । एकै पटक
त्यति धेरै संख्यामा रहेका वच्चाहरु रोएको देखेर म पनि गोठालाहरु झैँ अत्तालिएको
थिएँ । हामी मध्येको जेठो मंगले तामाङ्गले सम्झाए पछिमात्र हामी शान्त भएका थियौँ ।
मंगले तामाङ्गले त्यतिखेरै भन्थे 'ती बच्चाहरु रामस्यालका बच्चाहरु हुन् रे र
स्यालको जातमा राम स्याल स्यालहरुको राजामा गनिन्छ रे ।' पुल्ठोका धुवाँले
निसास्सिएका ती वच्चा स्यालहरुलाई हामी सबैले कुटी कुटी मारेका थियौं ।
अहिले सम्झदा कहाली लाग्छ ती विदाका दिनहरुमा विताएको पूर्वी तराइको वास । जाडो विदा
सकिएर प्रवाशको स्कूल सम्झने वित्तिकै डरलाग्दा दृश्यहरु आँखा वरिपरि घुम्दथे
त्यसताका । तौलेर खान पाइने सिमित खानेकुरा आफूले खाएको भाडाकुडाहरु आफै टल्काएर
माझ्नु पर्ने अनुसासन स्कूलदेखि केही पर रहेको चर्च । चर्च छेउमै लहरै सुतेका इसाई
चिहानहरु चिहान सम्बन्धी साथीभाईले सुनाउने गरेका पत्ताले भूतका कथाहरु होस्टल छेउमै
रहेको वधशाला र वडेमान गोरु र राँगाहरुलाई मेसिन द्वारा गर्धन गिडेका दृश्यहरु ।
यस्तै थिए तिनताका मैले पालेका म भित्रका दैनिकीहरु । जसले सधै भरी मलाई डसिरहन्थे
स्कूल बनेर ।
२०३६ सालको जनमत संग्रहमा रत्नकाका भूमिगत रुपमै नेपाल भित्रिए र बहुदलको पक्षम
खुलेर वकालत गरे । उनको पक्राउ आदेश त्यति वेला सम्म पनि फुकुवा भैसकेको थिएन ।
प्रजातन्त्र फर्काउने संकल्पमा जुटेका रत्नकाका पुरानै उल्टो कोट लगाएर
प्रचार-प्रसारमा जुटेका हुन्थे । नेपाल फर्किएर प्रजातन्त्रको पक्षमा चुनावी
आमसभाहरुमा भाग लिँदा विपक्षीहरुबाट कुटिएर काकाका दुईवटा दाहिने करङ् भाँच्चिएको
पनि सम्झना छ मलाई । सिलगढीकै कालु डक्टरले केही निको पारेपनि आकाश घुर्मैलो
हुनासाथ करङ्हरुले दुःख दिन शुरु गर्ने कुरा मलाई काकाले नै भनेका थिए ।
प्रजातन्त्र नफर्के सम्म आफ्नो कोट सुल्टो नफर्काउने कसम खाएका काकाले यस काममा जाडो
गर्मी केही भनेनन् । हिउँद र वर्षा केही छुट्याएनन् । डोरीले टालॆका एंडी खिइसकेका
प्याट्प्याटे चप्पल सहितको पुरानो झोला र कहिलेकाँही पुरानो जुत्तामा देखिने
रत्नकाका त्यतिखेर दिलो ज्यान दिएर जनमत संग्रहमा जुटे पनि अन्ततः उनको केही लागेन
। पहेँलोको जीत र निलोको हार भएको सरकारी रेडियोको घोषणा सँगै रत्नकाका फेरि पुरानै
ठाउँतिर पलायन भए । ।
सायद सँगसँगै थियो रत्नकाका पलायन हुनु र म नेपाल फर्किनु पनि । प्रवाशी स्कूलमा
काकाको सहयोगी भएर वाल्यकालमै प्रवाश छिरेको म कालन्तर सम्म मैले आफ्नो पढाई
प्रवासमा भर्न सकिन । काकाको त्यतिबेलाको राजनैतिक पद्धतिसँग विचलन भएर समयसँग गरेको
सम्झौता पछि म पनि आफ्नै गाउँ फर्किएको थिएँ ।
त्यति बेला देखि रत्नकाकासँग पातलिएका मेरा सम्बन्ध पछि सम्म पनि बाक्लिन सकेका
थिएनन् । यसो हुनुमा मेरो उमेर मेरा काकाको राजनैतिक विचलन र रत्नकाकाको
कर्तव्यनिष्ठाले काम गरेको हुनुपर्छ । तर पनि मेरो बाल्यकालमा उनले छोडेका अमिट
छापहरुले होला मैले रत्नकाकालाई कहिल्यै भुल्न सकेको थिइन । रत्नकाका प्रवाशिएको
बेला उनका निजी जीवनमा धेरै परिवर्तनहरु आएका थिए । अलि पछि काकाले छोडेका ठाउँ
जग्गाजमिनहरु र परिवेशको ठूलो कायापलट भैसकको थियो । काका प्रवाश छिरेको तीन
वर्षभित्रै उनकी श्रीमती काखको नानी च्यापेर अर्कैसँग पोइलिएकी थिइन् । ७ वर्षकी
एउटी छोरी र १० वर्षको अर्को छोरोलाई छोडेर आफ्नी श्रीमती यसरी हिडेको कुरा सुनेर
काका केही दिन हतप्रद पनि भएथे । तर समयमै उनले आफ्नो समस्या भूमिगत रुपमै नेपाल
आएर मिलाए । छोरालाई पुराना प्रजातन्त्र सेनानी रणधीर बुढाथोकीको जिम्मा लगाए र
बचेकी एउटी छोरीलाई आफूसँगै शिलिगुडी लिएर गए । अलिकति भएको चल सम्पति भाँडाकुँडा र
गाइबाख्रा श्रीमतीले साथै लगेकाले काकालाई कुनै ठुलो लेठा परेन सामान सम्हाल्ने ।
तर अचल सम्पतीको नाउँमा बचेको पौने दुई विघा जमिन भने काकाले वर्षेनीको खर्च धान्न
दुईतीन पटक गरी वेचेर सिध्याएका थिए । श्रीमती पोइलिनु अघि जमिन बेच्ने कुराले नै
आफ्नी श्रीमतीसँग ठाकठुक परेको कुरा पनि काकाले त्यसै ताका सुनाएका थिए ।।
४६ सालको परिवर्तन पछि काका स्वदेश फिरेको कुरा सुने । प्रजातन्त्र फर्काउने काममा
आफ्नो सर्वस्व गुमाएर सम्पत्तिको नाउँमा आफुमात्र रहेका सुकुम्वासी काकाले
केहीवर्षका लागि मात्र कोट सुल्ट्याएछन् ।
प्रजातन्त्र प्राप्ति पछिका १२ वर्ष रत्नकाकाले प्रजातन्त्र हाक्ने नेताहरु हेरॆ ।
प्रजातन्त्रले चलाएको संसद सासन र सरकार हेरॆ । नसुन्ने पनि सुने । नेदेख्ने पनि
देखे र नभोग्ने सबै भोगे । ।
काकाको मर्ने बेलाको अन्तिम इच्छा उल्टो कोटमै सद्गति गर्नु भन्ने थियो रे । नभन्दै
उल्टो कोटमै मरेका काकालाइ यथास्थितिमा उल्टो कोटमै जमिनमा अवसान गराइएको थियो रे ।
२०६५ सालको जेष्ठ १६ सम्म काका बाँचेका हुन्थे भने कमसेकम उनको कोट सधैँभरिका
लागि सुल्टिने थियो कि भन्ने म अनुमान गर्छु ।
अहिले म तिनै रामस्यालका बच्चाहरुलाई सम्झिरहेछु जसलाई निकाल्न र मार्न हामीले
धुँवाको पुल्ठो बनाएर लठ्ठीहरुमा मनोरन्जन साँधेका थियौँ । बाहिर निस्किए पछि
आकाशतिर फर्किएर रुने ती निरीह बच्चा स्यालहरुको कसुर अनि पुनः सम्झदैछु रत्नकाकाले
प्रजातन्त्रका लागि लडेर भोगेको नियति उनको इमान्दारिता र उनले देशका लागि आफू
बिग्रिएर दिएको समग्रता । उत्तर अझै पाउन सकेको थिइनँ ।
काकाको देश उल्टो कोटमै सुतिरहेको थियो ।