सम्झना भाई टिका को

शरद निरोला

अब त धेरै बर्ष बिते
यो निधारमा देवानान्दको जुल्फी थियो
टिका लगाउँदा दिदी झोक्किईन्थी
तेरो यो जूरेलीको गुंड माथी सार न !
टिका कसरी लाउनु ?

झल्याँस्स भएर निधार छाम्न पुग्छु
आज बीस बर्ष पछि
देवानान्दको जुल्फी बेपत्ता छ
त्यसको ठाउँमा अशोक कुमारको खल्वाट छ
आज त म नेपालमा भएको भए
दीदीको घरमा टीका थाप्न जान्थें
अनि भन्थेँ: दीदी, आज त निधारमा जताततै ठाउँ छ
मेरो बलियो भाग्यको रेखा कोरिदिनोस
मेरो दिर्घायुको शुभकामना गरिदिनोस

तर अहिले त म परदेशमा छुँ ,
प्रत्येक बर्ष तपाँईलाई मीस गर्छु .

न्हूँ दँ या भिन्तुना

बसन्त श्रेष्ठ

अलग अलग चेहराका
अलग अलग परम्परा
भिन्दा भिन्दै जातका
भिन्दा भिन्दै रीत
बेग्ला बेग्लै थरका
बेग्ला बेग्लै भाषाहरु

मानौ नेपाल एउटा
विशाल सँसार हो
सँस्कृति र परम्पराको
खानीको देश हो ।

तिहारको रमझम भित्र
सन्तमान गुभाजुले बाँडेको
न्हूँ दँ या भिन्तुना
बैशाख महिनाको शरुमा
हरि भट्टराईले दिएको
नयाँ वर्षको शुभकामना
अनि ल्होसार पर्वमा ल्हाक्पाले
दिएको ल्होसारको शुभकामना
लाग्छ
हामी विभिन्न जातीका
एउटै बगैचाका फूलहरु हौ
हामी थुप्रै धारणा भित्रका
एउटै मूल विचारका अस्तित्व हौं
हामी छरिएर रहेका
हिमाल पहाड र तराईका
एउटै देशका वासिन्दा हौ

सोच्छु
एउटा नेपालीको मृत्यूमा
अर्का नेपालीको मुटु दुख्छ भने
एउटा नेपालीको भावनामा ठेस पुग्दा
अर्का नेपालीको स्वाभिमान जाग्छ भने
कसैले साँस्कृतिक परम्पराको विरोध गर्दा
सम्पूर्ण नेपालीको नेपालीत्व जाग्छ भने
यो भिन्तुना
सन्तमान गुभाजुको
मात्र हुन सक्दैन
त्यो शुभकामना हरि भट्टराईको
मात्र पनि हुन सक्दैन
अनि त्यो टासी या
ल्हाक्पा लामाको मात्र पनि हुन सक्दैन

त्यसैले
नयाँ वर्षको शुभकामना
गोविन्द गिरीलाईमात्र होईन
गोविन्द प्रधानलाई पनि हो
ल्होसार पर्वको शुभकामना
नेत्र घिसिङ्गलाई मात्र होईन
लेखनाथ भण्डारीलाई पनि हो
अनि यो न्हूँ दँ या भिन्तुना
राम मालाकारलाई मात्र होईन
डि. वि. तामाङ्गलाई पनि हो ।
 

 तिहार

हेमन्त श्रेष्ठ
स्प्रिङ्गफिल्ड, भर्जिनीया
 

हरेक दिन
ढाडभरि
दाउराको छाप बोकेर हिड्ने
कुकुर
जिल्ला भ्रमणमा हिडेको
नेता जस्तै
घाँटीभरि माला लगाएर
आज लसकलसक हिडिरहेछ
सुकुटी चोर्ला भनेर
खेदिने गरेको काग
आज फुल र अबीरले रङ्गिएर
कौसीमै नृत्याङ्गना झैं नाचिरहेछ
सधैँको भन्दा अलग
सधैको भन्दा भिन्न
मान्छेहरु
बिहानैदेखि माग्ने हुन सिकिरहेछन्
बिहानैदेखि मात्न खोजिरहेछन्
औंलामा दीयो जलाएर
भुइँचम्पा र पट्काको मुटु राखी
रोटी खाँदै देउसी खेल्दै
समय
जूवाको खालमा लडिरहेछ ।

 

२०६४ तिहारको चिन्तन

बासु श्रेष्ठ
उडबृज, भर्जिनीया

रङ्गिचङ्गि फूल फुल्यो घर झिलिमििल
सयपत्री फूलसँगै फूल मखमली
मनाऔ तिहार आउ सबै हामी मिलिजुली
आशिष दिउँ आशिष लिउँ द्यौसी खेलीखेली

दशै गयो तिहार आयो कालो औसी रात
औसी रात हामी खोज्छौ लछमीको साथ
साथ साथ हिडौ खेल्न अनि बन्छ बात
राखौ साथी उसको हातमा हाम्रो पनि हात

भेदभाव त्यागौ आज त्यागौ जातभात
सिङ्गो रुख देश हो यो हामी यसको पात
साथ मिलौ जुटौ हामी जान्छ कालो रात
राख साथी मेरो हातमा तिम्रो पनि हात

तिहार आयो हटाउँ आज सारा मनको मैलो
खोलौ मार्ग फुकाउँ आज मिलनको थैलो
आशिष लागोस् सदा तिनको जसले खेल्छ भैलो
चम्कोस् सदा आकाशमा घरको धूरी दैलो

बलोस् दीयो बाह्रैमास सबको घर घर
बनुन् सबै एकै ढिक्का नहुन् पर पर
खुल्ला मनले हिँडुन सब त्यागी डरसर
मिलिजुली बसौ हामी आउ वरवर

 

 

दीपावलीको शुभकामना २००७

होमनाथ सुवेदी
उडबृज, भर्जिनीया

त्यो सूर्यमा ग्रहण लाग्छ सदा रहन्न
यो देशमा दुर्दिन आउछ भाग्न हुन्न
मान्छेहरु चरित्रघात गरेर लुट्छन्
दीपावली अगि बढे अब सह्य हुन्न ।

लौ अन्धकार सब नै निचरेर आयो
मान्छे निशाचरहरु निमठेर आयो
मारेर धूर्त सतको पथ खोल्न आयो
दीपावली सुख र शान्ति लिएर आयो ।

द्यौसी सुनी ह्दयमा अति घाम लाग्छ
लाली गुराँससित मङ्गल कामना छ
बालौं बलौं विजय यो नव दीपमा छ
बाडौं अथाह मुटुको सुभकामना छ ।

परदेशी दिदिको कामना

मन्जु निरौला
मेरिल्याण्ड अमेरिका

मखमली सयपत्री फूलले सजाई दिउँ
ओखर कटुस भोगटे अनि निबुवा
सेलरोटी अनरसा मसलाले पुरि दिउँ
तिम्रा मटान आँगन अनि घरबार
पँचरङ्गी टिका निधारमा लगाई
दूबो सयपत्रीको हार पहिराई
तिमिबाट सहस्र अशिर्वाद पाउन सकुँ म
तिम्रो दिघार्यूको कामना शुभआशिष लिँदै
यम र यमिकाको भूमिका निर्वाह गर्न सकुँ म ।

लालुपाते र सयपत्री गुनकेशरीको मालाले
तिम्रा आँगनमा लिपिबद्ध रगतका प्रहारहरु
बिटुलिएको विषाक्त विद्रोहका लाप्काहरुमा
भैली र देउसी सङ्गीत मिश्रण गिर
एकपल्ट शान्तिको दीयो बाली जलाउन सकुँ
घरैपिच्छेका मेरा दाजुभाईको दिर्घायु कामना
नजर कसैको नलागोस् भनि आराधना गर्न सकुँ म
प्रत्येक शूभ क्षणले प्रत्येक पल अनि पलाले
माईति घरमा अशान्तिको डढेलो नआओस् भन्न सकुँ म

को मधिसे को पहाडि अनि को लिम्बुवान्
सबै मेरा आफन्त हुन् भेदभाव कसरी गरुँ म
भाका भेद केही नगरी छठ पर्व मनाउन पाउँ म
पहाडे दशै तिहारको खुशी बाँड्न समर्थ होउँ म
ल्होसार पर्वपनि मेरो आफ्नै हो यो भावमा
सम्पूर्ण नेपाली दाजुभाईलाई आव्हान गर्न सकुँ म
दुःख पिडा क्रन्दन चित्कार जे भोगे ता पिन
अशान्तिका नारा र शब्दहरु नाश गर्न सकुँ म
सम्पूर्ण मेरा भाईहरुको दिर्घायूको कामना गर्न पाउँ म

शरद गृष्मको पावन पर्वमा
प्रत्येक नेपालीको आँगनमा शान्ति दियो जलाई
घमाईलो तिहारको शुभकामना दिन सकुँ म
सुस्केरा तनाव उत्पिडन डिप्रेसन जे जति छ
सम्पूर्ण तीतोपन हटाई सुख चयनको भाका लिई
अमन चयन आँगनमा छर्न सकुँ म
अर्चना आराधना पूजा जे जति छन्
सम्पुर्ण आलङ्कारिक पर्यायवाची शब्दले
सम्पुर्ण दाजुभाई प्रति माङ्गलिक कामना गर्न सकुँ म

२०६४को शुभ दीपावली

डा. तारानाथ शर्मा

tanasarma@gmail.com

आयो आयो उज्यालो घरवरिपरी बत्ती बालेर हाम्रो

कालो औँसी हटाई सबतिर सजिने फूलमाला छ राम्रो

लक्ष्मी हुन् आदिमाता धरणितलको सृष्टिलाई सम्हाल्ने

दुष्टात्माको उछित्तो गरी मुलुकको पाप पूरै पखाल्ने

आए सारा युवकयुवती द्यौसीको चाड पारी

नाचौँ नाचौँ खुसीले दिदिबहिनिहरू दाजुभाई सिङारी

प्यारा भाइ र दाजु थरिथरि रङका फूलटीका लगाई

खाऔँ पिऔँ  मनाऔँ सकल जनको एकतामा रमाई

 

यो तिहारमा........

राम प्रसाद खनाल
भर्जिनिया, अमेरिका
rampdkhanal@gmail.com

 

दिदी बहिनीको घरमा जान पाईयोस
उनीहरूले पकाएका सेल रोटी खान पाईयोस
मखमली र सयेपत्रीको माला लाइयोस
हरेक घरमा रुवावासी होइन देउसी भैलो गाईयोस
धम्की दिन र चन्दा लिन नआईयोस
अपहरण, हत्या आतंक मच्चाउन नपाइयोस
आफ्नै मातृभूमिको राष्ट्रीय झण्डा नजलाइयोस
परम्परा र संस्कृति माथि बलात्कार गर्दै गृहयुध्द नफैलाइयोस
हज्जारौं सन्ततिको लाश हेरेकी मातृभुमिलाई नगलाइयोस
पापी, अधर्मी, राक्षसहरुको छिटै मलामी जान पाईयोस
शान्त समुन्नत नेपाल सबैको चाहना
दीपावली २०६४ को यही छ शुभकामना !