तरुनी रात


केदार श्रेष्ठ 'गगन'
भीमस्थान-५सिन्धुली
हाल-अनेसास यू.ए.ई.च्याप्टर


ओएलाएको सूर्य
दिनभरिको थकाइले
क्षितिज पर-परको सगरमा
जब बिलाउँछ
तब झ्याउँकिरीको
झन्झटिलो आवाजसँगै
जंगलतिरबाट निस्कन्छन्
हाप्सीला
स्याल

ब्वाँसाहरु
रात हाम्रै त हो नि भन्दै

दुधकटुवा साँझ
कालरात्रिको आगमनसँगै
तरुनी हुन्छे
र आफूतिर सबैलाई
आकर्षित गर्न भरमग्दुर
प्रयासरत रहिरहन्छे
बालक सूर्यको जन्म नहुन्जेल

त्यही
वयस्क रातको आडभरोसामा
हाप्सीला
स्याल
र ब्वाँसाहरु
निरीह प्राणीहरुको
निर्मम हत्या गरेर
आफ्नो पेट भर्दै
राम राज्य
मोजमस्ती गरिरहेका हुन्छन्
पूर्वको क्षितिज नउघ्रुन्जेल
मिर्मिरे नहुन्जेल
विहान नहुन्जेल
सूर्य नउदाउन्जेल ।