सुवर्ण जयन्ती


विजय राज शर्मा
डेनभर, कोलोराडो

 

जीवनको शिशिर याममा वसन्तको याद आउँछ

यौवनका सम्झनाहरूले ऐले मन कुतकुत्याउँछ

मायालुको रूप उहिले लाग्थ्यो चंचल छहरा सरी

अहिले देखिन्छ त्यही रूप निचोरेको तौलिया सरी

 

आफुलाई नियालेर हेरें ऐनामा सुवर्णजयन्तीको दिन

शिरबाट हराएछन केशहरू उम्रेछन चामल र तील

आँखीभुईं भएछन बाक्ला मानौं हुन् अफ्रिकाका निकुञ्ज

जेब्राजस्ता उभिएका छन् त्यहाँ सेता र काला रौंका पुञ्ज

 

ध्यान दिएर नजर दगुराएँ नाकको ओरिपोरी

निस्किएका झुसी नेथ्रोबाहिर अहिल्यै घोचौंला गरी

धक फुकाउँदै खोलें कमिजको टाँक तरुनाहरू सरी

हत्तपत्त निस्के छातीका सेता रौं मुक्त कैदी सरी  

 

घोरिएँ, लाग्यो मेरा अंगहरू हुन् असनका पसलहरू

जसका अघिल्तिर झुण्डिएका छन् उमेरका बीलबोर्डहरू

पहेंलिएछु म जस्तै पहेंलिन्छन जाडोमा आस्पिन रूखहरू

जसमा झुण्डिन खोजिरहेछन् उमेरका हिउँका थुम्काहरू