सुन्दर मेरो नेपाल
(मन्दाकान्ता छन्द)
-मुकेश घिमिरे, आर्लिङ्गटन भर्जिनीया


खोला नाला कल कल गर्दै खल्ल बगिरहेका
डाँडा काँडा हरियाली छर्दै खिस्स हाँसी रहेका
सेता हिमाल उत्तरतिर टल्ल टल्लकी रहेका
झरना अनि खहरेहरु छङ खसी रहेका ।१।

डाँफे मुनाल मयूर चरी छम छम नाची रहेका
मृग गैँडा अनि अर्नाहरु चमचम चरिरहेका
बाघ भालु चितुवा बाँदर फूस्स निदाइरहेका
परेवा अनि मलेवाहरु मस्तले उडीरहेका ।२।

सुनखरी र लालीगुरास वासना छरी रहेका
लता अनि लहरा हल्लिएर वटुवा डाकी रहेका
हरिया चउर बेसीतिर च्यादर सारी सजेका
सुरिला सल्ला बतास सँगै मच्ची सुसाइ रहेका ।३।

डाँडाकाँडा पछाडि लुक्दै बादल हिँडी रहेका
झमझम  वर्षे पानी पर्दा पातमा बाजा बजि रहेका
घामपानी घामपानी हुँदै इद्रेणी हाँसी रहेका
घामको लाली लिएर गित रङ्ग पोखी रहेका ।४।

स्वर्ग सरी प्यारो मेरो देश नाम यसको नेपाल
नबुझ्दा महत्व प्रकृतिको दुख्या छ मेरो कपाल
स्वर्ग पारौं हामी सबै मिलि जुटौं देश सिँगार्न
सम्झाउँ है सबैलाई हामी हुन्न है देश बिगार्न ।५।