सिरानी

नारायण अधिकारी, भर्जिनिया ।

मीठो निदाउन वा गहिरो निदाउन होस्
टाउकोलाई एउटा सिरानी चाहिन्छ ।
सिरानी ठीक नभए वा नमिले
घाँटी दुख्छ भन्छन् जान्नेहरु-
आरामले सुत्न सिरानी चाहिन्छ ।

हो साँच्चै यो सिरानी-
धेरै बाक्लो वा पातलो हुनुहुँदैन
धेरै बाक्लो भए घाँटी अररो हुन्छ
पातलो भए मुन्टो निहुरिन्छ
आरामले सुत्न सिरानी चाहिन्छ ।

त्यस्तै हो, देश पनि सिरानी नै हो
देशवासीका लागि टाउको अड्याउने
सन्चले नागरिक भएर बाँच्न
मान्छेलाई देशको नाम चाहिन्छ
सोझो घाँटी र उँचो शीर राख्न
एउटा साझा मुलुक चाहिन्छ ।
आरामले सुत्न सिरानी चाहिन्छ ।

अतिवाद उग्रराष्ट्रवाद
अग्लो सिरानीको बिम्ब
टाउको बङ्ग्याउनुमात्र
जातिवाद क्षेत्रीयतावाद
होचो सिरानीको प्रतीक
मुन्टो लत्र्याउनु मात्र ।
आरामले सुत्न सिरानी चाहिन्छ ।

फूलवारी हो सबै फूल फुल्नुपर्छ
सबै जाति सबै वर्ण एउटै हुन्
जता पनि डुल्नुपर्छ
केको मधेश केको पहाड
मेची-काली एउटै ओछ्यान
सबै सुत्न पाउनुपर्छ ।
आरामले सुत्न सिरानी चाहिन्छ ।
००