तिमीभित्रको आकाश



सुषमा मानन्घर
ललितपुर
mdhsusma@yahoo.com
 

प्रसव वेदना झेलेर
जसले तिमीलाई जन्माएकी छ
पीडाको गहिरो अनुभूति
उनले भन्दा
कसले गर्न सक्छ
आफ्नो भोक काटेर पनि
मुटुका टुक्राहरुको
तृप्तीमा
एक टुक्रा हाँसो चपाइरहने
आमाको हृदय ।
ऊभित्रको आकाश
सङ्गलो र उदार
हजार चोटहरुको बदला पनि
बाँडेकी नै छ
कोमल क्षमा
प्रेममा समर्पित
जीवन संगिनी ।

अविरल
निश्छल प्रेमका झरना
फूलका पत्रभन्दा कोमल
जुझ्दैपरे
ढुँगाभन्दा पनि कठोर
करुणा, कोमलता र शक्ति
त्रिवेणी समेटेर
एउटा तीर्थ ।

आफूभित्र श्रृष्टि सजाएर
एउटा माया
निरन्तर नदी
अटल पहाड

उदार आकाश
ऊ स्वास्नीमान्छे ।

के तिमीभित्र पनि छ
त्यही स्वास्नीमान्छे ?