लघुकथा
शहीद


सुषमा मानन्घर
ललितपुर
mdhsusma@yahoo.com

 
त्यहाँ एउटा भव्य फोटो प्रदर्शनी भैरहेको थियो । आन्दोलन, द्वन्द र शहीदहरुका अप्राप्य र अहिलेसम्म अप्रकाशित फोटोहरु समेत राखिएकोले निकै टाढाबाट पनि त्यो हेर्नलाई मानिसहरु ओइरीएका थिए । अरुभन्दा शहीदहरुका फोटोको सूची अलि पछाडि र निकै लामो पनि थियो । 

फोटो प्रदर्शनीको आज अन्तिम दिन । ऊ पनि अनुकुल समय मिलाएर प्रदर्शनी स्थल छिरेको थियो । प्रदर्शनीमा उर्लिएका दर्शकहरु शहीदहरुका फोटो अगाडि झुम्मिँदै विभिन्न टिकाटिप्पणी गर्दै थिए । 

टाँसिएका थुप्रै शहिदका फोटोहरुमा उसले चिन्ने कुनै पनि अनुहारहरु थिएनन् । कहाँ कति बेला कसरी शहीद भए होलान् जे भए पनि देश र जनताको लागि मृत्युवरण गर्ने ती शहीदहरुप्रति उसले मनमनै नमन गर्यो ।

हेर्दाहेर्दै एउटा फोटोमा पुगेर ऊ नराम्ररी झस्कियो । त्यो ढाका प्रसादको फोटो थियोउसको आफ्नै छिमेकी ।

द्वन्दताका एक रात उसको गाउँमा ठूलै गोलाबारी भएको थियो । अँध्यारो रातमा हरेक घरमा खानतलासी हुँदै थियो । प्राय घरका पुरुषहरु आत्तिएर भागाभाग गर्दै थिए । डराएर ऊ पनि घरनिरैको मकैबारीमा लुकेको थियो । उसैको छेऊमा ढाका प्रसाद पनि डल्लो परेको थियो । "एक हूल मान्छे आका थे, म त पछिल्लो ढोकाबाट भागेर आछु ।" ढाका प्रसाद डरले बोल्नै सकिरहेको थिएन । दुवै छिमेकी भगवानको नाम जप्दै काँपिरहे । त्यहीबेलामा तल बजारमा शायद केही पड्क्यो । मुटु दुख्यो भनेर छाती समाउँदै लडेको ढाका प्रसाद फेरि उठेन । नजिक आउँदै गरेका जुत्ताका पदचापहरु सुनेर ऊ भने त्यहाँबाट पनि भागेको थियो । 

अहिले उसको अगाडि त्यही ढाका प्रसादको फोटो थियो ऊ घरि त्यो फोटोलाई हेथ्र्यो घरि त्यसैमाथि लेखिएको हाम्रा वीर शहीदहरु भन्ने शिर्षकलाई ।

नजिकै उभिरहेको आयोजक मध्येका एकजनालाई कोट्याउँदै उसले सोध्यो "प्रजातन्त्रकोलागि मरेका चार शहीदहरु देखिएनन् नि के तिनका फोटा छैनन् ?"

आयोजकले मुन्टो हल्लाउँदै जवाफ दियो " ए…तिनीहरु ती त पुराना भैसकेत्यही भएर यसपालि नराखेको !"