विज्ञान साहित्य र रुढ बोक्ने नेपाली समालोचक
- डा. कविताराम श्रेष्ठ
पहिले शास्त्रीय समालोचकहरुको बारेमा केही भनूँ उनीहरु त्यस्ता सूत्रहरुको बलमा
आफ्नो वर्चश्व कायम राख्न चाहन्छन् जो आजको स्थितिमा वेकामे र मृत छन् । विज्ञानको
उदय नै नभएको विज्ञान के भौतिकता नै आध्यात्मिकताको उरालमुनी दविएर रहेको स्थितिको
उत्पादित र कैयूँ त हज्जारौँ वर्ष पुराना जीर्ण सूत्रहरुले उनीहरु हाम्रा आजको
स्थितिसम्मत विज्ञान साहित्यहरुको मूल्यांकन गर्न खोज्दछन् । परिणाम के होला ? बाबु
बाजेको पालाको मानापाथीले आज आविस्कृत अणुपरमाणुको नपना कसरी हुन्छ परिणामतः त्यो
हज्जारौँ वर्ष पुरानो कसीहरुबाट ती नापिन्नन् । तिनमा भएका सूत्रहरुले कामै गर्दैनन्
अनि या त उनीहरुका सामू पस्किएका विज्ञान साहित्यलाई पाख नपुगेको सृजना मानेर
उपेक्षा गरेको नाटक रच्नु पर्यो वा होइन भने हात उठाएर भाग्नै पर्यो । शीष्ट भाषामा
यसलाई सुनियोजित उपेक्षा हो कि भन्ने आशंका गर्न सकिन्छ तर शीष्टाचारको हिसावमा
नभन्नॆ र सोझो हिसावमा भन्ने हो यो उनीहरुको सुनियोजित भगौडेपन हो । अझ निर्लज्ज
भगौडेपन भने हुन्छ ।
मलाई लागेसम्म विज्ञान साहित्यको लागि हामीसँग पाठकको कमी छैन । नयाँ पुस्ता यसको
फ्याननै भएको पाएको छु । हामीमा कमी भनेको यस क्षेत्रमा समालोचकहरुकै हो । हामीसँग
समालोचकहरु बढीमा शास्त्रीय मान्यताका वाहकहरु छन् । विशेष परम्परागत हज्जारौँ वर्ष
संस्कृत साहित्य र तीनका सूत्रहरु पढेर बनेका समालोचकहरु यसमा हावी छन् । परम्परागत
पश्चिमे साहित्य पढ्नेहरु पनि छन् तर उनीहरुको वर्चश्व अलि कमै छ । पुराना बनिबनाउ
शास्त्रीय सूत्रहरुका रुढ बोकेर आडम्बरपूर्ण ढंगमा प्रस्तुत हुने यस्ता शास्त्रीय
समालोचकहरु आफ्ना ढीँड सूत्रहरुको कसीमा नयाँ पुराना कुनैपनि साहित्यहरुलाई बुझेर
होस् वा नबुझेर परख गरेका नक्कल गरिरहेका छन् र नेपाली साहित्यका न्यायाधिश बनी
बसेका छन् । विडम्वना त यो छ कि धेरैजसो यस्ताखाले समालोचकहरु स्कूल वा
विश्वविद्यालयका पेशेवर अध्यापक वा प्राध्यापकहरु रहेका छन् र ती संस्थाहरु मार्फत
उनीहरुले आफ्नै प्रतिलिपिको उत्पादन गरिरहेका छन् । वस्तुतः समालोचकहरु उत्पादन
गर्ने मूल उद्योग नै रुढीग्रस्त छ । त्यसैले यसको उत्पादनबाट धेरै आशा राख्न
सकिँदैन । पख्नुहोस्, मैले रुढीवादी समालोचकहरुको संख्याको कुरा गरेको होईन । त्यो
रुढ सत्तामा रहेको चिन्ता पोख्दै छु म । व्यक्ति स्वयं निरिह छ । सवै सोचेजस्ता
विद्रोही वा क्रान्तिकारी हुन सक्दैनन् । हाम्रो जस्तो पछिपरेको समाजमा धेरैजसो
व्यक्ति विवशताको शिकार हुन्छन् । व्यक्ति प्रगतिशील हुँदाहदै पनि उसले नचाहँदा
नचाहँदै पनि वेतनको लागि सत्तासीन रुढप्रति आफूलाई समर्पित गर्न उ विवश छ । अर्थात
रुढीहरुलाई जित्ने वा त्यसको विरुद्ध उठेर समालोचना गर्ने विद्रोही तथा प्रगतिशील
समालोचकहरु यहाँ नभएका होइनन् तर उनीहरुका विद्रोह तथा प्रगतिशीलता घरमा
पुर्याउनुपर्ने चामलमा गएर हावा खाइरहेको छ । तथापी आफ्नो स्वतन्त्रता पनि केही हो,
चामलै सवै कुरा होइन भन्ने स्वाभिमानी समालोचकहरु यहाँ छैनन् भन्ने मेरो भनाइ होइन
। छन् नगन्य मात्रामा भएपनि छन् । त्यस्ता समालोचकहरु स्वयम शास्त्रीय सूत्रहरु कै
चीरफार गर्दै मैदानमा उत्रिएका छन् । शास्त्रीय सूत्रहरुका सकारात्मक पक्षहरुलाई
आफ्ना आधारशीलामा व्यवस्थित गर्दै ती होनहार समालोचकहरु आधुनिक वा पुरातन सबैखाले
विषयहरुप्रति उदार र खुलस्त छन् । यस्ता समालोचकहरुमा विज्ञान सहित्यप्रति
नकारात्मक भाव छैन र छैन शास्त्रीय ढर्रा र नखरा । सबै आफूले जानेका छौँ र आफूले
जानैकै मात्र सत्य हुन् वा उनका शास्त्रले नओथारेका कुनैपनि पक्ष सत्य होइनन् वा
हुनै सक्दैनन् भन्ने मान्यता पनि उनीहरु राख्दैनन् । उनीहरु हाफूलाई वाकिंग
इन्साइक्लोपेडिया वा आदर्शका श्रोत भनेर ढोँग रच्दैनन् । आफुले नजानेको क्षेत्रमा
इमानसाथ आफ्नो अनभिज्ञता प्रकट गर्ने महानता राख्छन् । अनभिज्ञता प्रकट गर्न
लगाउँदैनन् र यसलाई लज्जाको विषय मान्दैनन् । तथापि जनसंख्या नै कम रहेको हुँदा
उनीहरुको योगदान नगन्य छ । तथ्य यो पनि छ उनीहरु स्वयं नै शास्त्रीय मारबाट पीडित
छन् । उनीहरुको विद्रोहले सत्तालाई प्रभावित पार्न सकिरहेका छैन । मान्नु पर्ने
वास्तविकता यो पनि छ प्रगतिशील प्रतिपक्षिस्वर नै उनीहरुको अभीष्ट रहेको हुँदा
स्वभावतः जनताबीच उनीहरुको बजार गरम छ । शीर उनीहरुकै ठाडा छन् । विज्ञान सहित्यलाई
बुझ्ने आधारभूत ज्ञान नरहेको कारणले उनीहरु यसतर्फ नआएका हुन् । कुनै उपेक्षा गर्ने
नियत वा लज्जाले होइन ।
यीनै बजार पक्रने समालोचकहरुबीच त्यही हाराहारीमा अर्काखाले समालोचकहरु पनि छन् जो
शास्त्रीय साहित्य नपढिकनै नेपाली साहित्याकाशमा चम्किएका छन् । शीर ठाडा पारेका छन्
। पुराना शास्त्रीय रुढहरुबाट अलग स्वरुची र स्वअध्ययनबाट साहित्य क्षेत्रमा आएका
उनीहरु धेरै मानेमा माथि भनिएसरह नै प्रगतिशील छन् र छन् खुल्ला इमान्दार
पूर्वाग्रहहीन । म विश्वस्त छु बजार यीनैको हो ।