शासक र तर्क


दिनेश अधिकारी
काठमाण्डौ


उ भनिरहेथ्योः
अनुशासनहीनताको पनि एउटा हद हुन्छ
म यो देशको शासक पो हूँ त
मेरो अनुमति विना नै
खोलामा लहरहरु उठिरहेछन्
आफु खुसी फक्रिरहेछन् कोपिलाहरु
बिना हिचकिचाहट नाँचिरहेछन्
हाँगा÷हाँगामा फूलका पातहरु
चराहरु चिर्विराईरहेछन् मनलागि
सूर्य आफूखुसी
बादलसँग लुकामारी खेलिरहेछ
निर्लज्ज ! जड्याहा जस्तै
लटपटिदै बहिरहेछ बतास
सोध्दै नसोधी
रङ्ग फेरिरहेछ छेपारो
र धमाधम
ऋतु परिवर्तन हुँदै गई रहेछ
मेरो उपस्थितिलाई देख्दै नदेखे झै
कुखुरो सिउर उचालिरहेछ
बारी विरुवा उमारिरहेछ
भन त ! यो कस्तो उद्दण्डता
आकाश आफूखुसी वर्षिरहेछ
बादल बौलाहा जस्तो गर्जिरहेछ
आखिर शासक हुँ नि
कसरी सहन सक्छु म यस्तो अनादर
मेरो इच्छाको कुनै पर्वाह नै नगरेर
हिमाल झन झन अग्लिइरहेछ !

तपाईलाई कस्तो लाग्यो उसको तर्क
उसको कुरा सुनेपछि
मलाई भने अब एकीन भइसकेको छ-
तर्क साच्चै नै नकच्चरो हुँदोरहेछ !
शासक जस्तै
तर्क आफैमा लवस्तरो हुँदोरहेछ !!