शान्त समुद्रभित्रका ज्वारभाटा
कुमारी लामा
काठमाडौं
कति
अचम्म भने शालीन, भद्र, घरेलु अनि मायालु गीता त्रिपाठीको मनभित्र यति धेरै
विद्रोहका छालहरु ! उनका "नृशंस पर्खाल" भित्र संग्रहित ४६ वटा कविताहरु
पढेपछि उनीभित्र मडारीरहेका असन्तोषका बादलहरु, विद्रोहका ज्वालाहरु अनि अहिलेको
विषम परिस्थितिले उब्जाएका बिक्षिप्तताहरुको पूर्ण जानकारी हुन्छ । उनी त शान्त
समुद्र झैँ रहेछिन् आफूभित्र अनगिन्ती ज्वारभाटाहरु समाहित गरी बाहिर चाहि शान्त ।
उनी एकातिर अहिलेको विकृति र विसंगतिले बाटो बिराइरहेका मानिसहरुलाई "आफ्नो पछाडि
सिङ्गै पाठशाला छोडेर, कुन ज्ञानको खोजिमा लम्किरहेछौ तिमी" भनी प्रश्न
गर्छिन् भने अर्कोतिर अहिलेको रक्तरंजित समयलाई इंगित गर्दै "एकहूल राता पालहरु
तैरिरहेछन् आँखाका महासागरमा" भनी विषम परिस्थितिको टड्कारो उदाहरण दिन्छिन् । के
यी पङ्तीहरु उनीभित्रको आन्दोलित मनस्थिति र असन्तुष्टिहरुको प्रमाण दिन काफी छैनन्
?
उनका कविताहरुले छेपारो झैँ रङ्ग फेर्ने विना वजनका मानिसहरुको न यता न उताको
स्थितीलाई छर्लङ्ग्याउछन् । "शब्दको खेतीमा" फट्याङ्ग्राहरुमा परिणत भएका मानिसहरुले
दानाहरुलाई पोटिलो हुनै नदिई सखाप पार्न थाल्दाको चित्रण ज्यादै मार्मिक छ । उनको
जलप लगाइएका सम्बन्धहरुबाट आजित भएको तीतो यथार्थ पनि उत्तिकै सजीव छ । यी
सम्पूर्णले अन्योल परिस्थिति, अन्योल सम्बन्ध र अन्योल मानसिकतालाई प्रमाणित गर्दछ
। उनी भित्र मातृवात्सल्यका छालहरु तछाड मछाड गरी उर्लिरहेका छन् तर अहिलेको असहज
परिस्थितिले उनलाई तुरुन्त निस्तब्ध बनाइहाल्छ । उनी भित्र अनेकन शंका उपशंकाका
लहरहरु दौडन थाल्छन् अनि उनी आफ्ना पीडालाई यसरी पोख्छिन्:
"निस्तब्ध भएको छु म हिजोआज
मेरा छोरा छोरीको रमाइलो बाल-संसारमा
संकटपूर्ण धुनको पीडा बजिरहन्छ ।"
देश समाज र उनी पनि विभिन्न समस्यारुपी साङ्लाहरुमा जकडिईरहेको बेलामा उनी सबैको
मुक्तिको निम्ति ती साङ्लाहरु तोड्न चाहन्छिन् । दृश्य अदृश्य अनेकन बन्धनहरुको
शिकार उनी ती अधिनायकबादी ती क्रुर ती अमानवीय बन्धनहरु तोड्न चाहन्छिन् । उनलाई
अनावश्यक पर्खालहरु खडा गर्न नभई गल्र्यामगुर्लुम भत्काउन मन छ । त्यसैले त उनी मन
दरो बनाई विधमान् शक्ति केन्द्रहरुलाई ठाडो हाँक दिन्छिन् ।
"जति घेर्नु छ- घेर
जति अग्ल्याउनु छ- अग्ल्याऊ
अब सुरक्षित छैनौं तिमी
गर्लम्म
ढल्दैछन्
तिम्रै सामु
तिमीले ठड्याएका
नृशंस पर्खालहरु ।"
माया नै गरेर पनि इब्सनका आँखाहरु छलेर हेल्मरहरु क्रमशः नोरालाई घर नामको
झ्यालखानामा कैद गरिरहेको घटना उनलाई असह्य हुन्छ । उनी सायद त्यही नोरा अनि उनी
जस्तै सम्पूर्ण कैदीहरुलाई अब जागरुक हुने सही समय आइसकेको जानकारी गराउँछिन् । अब
हामीले हाम्रा झ्यालहरुबाट हेर्न मात्रै बाँकी छ । त्यो उज्यालो त्यो ज्योती अघिनै
हाम्रो ढोका ढकढकाउन आइपुगिसकेको छ भन्छिन् । बिस्तारै वतासले आगोको कान फुकी
चेतनारुपी लप्काहरु सर्वत्र फैलिइसकेको छ पनि भन्छिन् उनी ।
माया प्रेम कोमलता अनि मातृवात्सल्यले भरिपूर्ण कविताहरुका बाबजुद उनी भित्र
परिवर्तनको ज्वाला जलिरहेको आभाष गराउने धेरै कविताहरु छन् । उनले "सहयात्री
उज्यालोको खोजी" मा त्यही नयाँ दिनको यात्राको अथवा भनौ उज्यालोको लागि शुभकामना
दिन्छिन् ।
काला अवशेषहरु भत्काएर
फालेर
पर्खिरहे सपनाहरु
सहयात्री घामसँग
पर्खिरहे
उज्यालो यात्राको शुभारम्भ
उनले नृशंस पर्खालहरु भत्काउने चाहना गर्नु अनेकन हतकडी र साङ्लाहरुबाट आफूलाई
मुक्त पार्न खोज्नु नै उनीभित्र दवित विद्रोहको संकेत हो ।
गीता त्रिपाठीका कविताहरु अहिलेको समयको चित्रण हो गा-हो परिस्थितिले सृजना गरेको
मानसिक बिक्षिप्तताको उपज हो अनि परिवर्तन र विद्रोहको संवाहक पनि हो । उनी नपाली
साहित्यिक आकाशको शसक्त नारी हस्ताक्षर हुन् जो विषम परिस्थितिले पिरोलिएकी छिन् अनि
भित्र भित्रै आन्दोलित छिन् ।
"वत्तीहरु निभाएर
युग फेरिने भए
मानिसहरु गुफाबाट
कहिल्यै बाहिरिने थिएनन् ।"
के यी हरफहरु आफै बोल्दैनन् र त्रिपाठीभित्रको परिस्थिति ?