कौतूहलता सडकभरि पोखिन्छ.....


लारा, हङकङ ।


संघाई स्ट्रिटको त्यो घुम्ति-
मधुरो ल्याम्पपोष्टको आडमा उभिएका
'सी' ग्रेड मुवीको भद्धा पोष्टरजस्तै
ती राता बत्तीहरु ।


हरेक साँझ घर फर्कंदा
टक्क रोकिन्छन् पाईलाहरु
नजानिँदो कौतूहलता !
किन वैँशहरु यसरी सडकभरि
छताछुल्ल पोखिन्छन् ?
वास्तवमा
कच्याक्कुचुक्क परेका विछ्यौनामा
लमतन्न उत्तानो पल्टिदिनु र
भावनामा विनिमय हुनुको के अर्थ हुन्छ ?


ल्याम्पपोष्टजस्तै
मधुरो अनुहार लिएर
जतिसुकै मस्किन खोजे पनि
ती राताबत्तीहरु
सोच्दछु
हृदयभरि उमंग
गालाभरि लाली सोहोरेर
मेला-बेंशी र दौंतरीहरुसँग
ठाँटिन उनीहरुलाई पनि
के मन नपरेको होला त ?
तर
सपनाको बजारमा
वैँशको च्याँखे
हरेक विहानी उम्रन्छ सपना
साँझ नपर्दै फक्रन्छ बैंश
छरपस्ट हुन्छ रातभर ॥


संघाई स्ट्रिटको त्यो घुम्ति-
फुत्त निस्कन्छन्
थाकेको आङ तन्काउँदै
समाजका भद्रपुरुषहरु
हरेक साँझ घर फर्कंदा
कौतुहलता !
एक निमेष होईन युगौंको
महोदय ! तर
उनीहरु मात्रै किन 'वेश्या' कहलिन्छन् ?
कौतूहलता सडकभरि पोखिन्छ …