समयान्तर



मुरारी नराल
भर्जिनिया अमेरिका


बीस वर्षको अविच्छिन्न यात्रा,
दिनदिन, रातरात, पलपल
सँगसँगै
कति दिन भोकभोकै या आधीपेट
रातको बासी रोटी बाँडेर
तर टन्न अघाएका हामी
प्रेमका एकजोडी पुजारी ।
कति रात चिस्चिसो तुषारोमा
कठ्यांग्रिँदै हिँडेका
नयाँ भविष्यको खोजीमा
एकसरो बर्कोले छिचोल्दै पूरा रात
फुत्त निस्कन्छौं विजयी मुद्रामा
सूर्य नमस्कारको लागि
तर बीस वर्ष अघि ।

त्यसदिन
हामी हाम्रो घरमा सर्यौं
हाम्रो सपना आफ्नो घर
तिमी तिम्रो कोठामा सुत्यौ
म मेरो कोठामा रमिएँ
त्यसपछि तिमीलाई मैले
चिसोबाट बचाउनु परेन
तिमीले मेरो कपाल मुसार्दै
मेरोलागि निन्द्रा बोलाउनु परेन ।
तिमी तिम्रो कम्पुटरमा रमाउन थाल्यौ
म मेरो फुलवारीमा हराउन थालें
तिम्रो खानाखाने बेला मेरो चिया पिउने बेला भो
मेरो पूजा गर्ने बेला तिम्रो टीभी शो को बेला भो
अलग कोठामा तर एउटै छतमुनि बसेका हामी
अन्ततः अलग अलग घरमा छुट्टियौं ।
बीस वर्ष अघि ।

अबका बीस वर्ष
मैले तिम्रा भूलहरु सम्झेर बिताएँ
तिमीले मेरा गल्तीहरु कोट्याउँदै बितायौ
यस बीचमा थाहा छ मलाई
तिमी कैयौं पटक विरामी भएका छौ
मैले पनि नयाँ फूल रोप्न सकेको छैन
गमलामा सुकेका फूलहरु असरल्ल
हिजोका दिन सम्झाइरहेका छन्
अवकाशित तिम्रो जीवनमा
अखबार र टीभी तिम्रा साथी भएका छन्
मेरै जीवनमा पनि कति धावा र धर्ना
हरेक छेको र गौंडा गौंडामा आएका छन्
यसपालिको नयाँ वर्षको दिन
मेरो लागि सुखद् भएर आएको छ
ककसका हात हात हुँदै
पढिँदै थोत्रिँदै एउटा तिम्रै किताब
मेरो हात परेको छ
यो
पुरानो किताबको पानाभित्र
तिम्रो र मेरो सानो तस्वीर
वर्षों पुरानो
मेरो हत्केलामा नाचिरहेको छ
सुनेको छु
त्यही तसवीरलाई ठूलो पारेर
तिमीले सजाएका छौ
आफ्नो कोठामा पनि र
आज यसैमा सही गरेर
पठाएको छु तिमीलाई
नयाँ वर्षको शुभकामना ।