समय फेरिएछ

वैकुण्ठ ढकाल
दामन, मकवानपुर

ऊ हेर त
परबाट फणा फिंजाएर आयो
हो र ! कहाँबाट ?
पर कतैबाट
देखिन अझै
मनको आँखाबाट हेर
बाहिरी आँखाले होईन्
यतै छ
कता
नजिकै
खै त अझै देखिन
मनको आँखा
परेला परेला हटाई हटाई हेरें
आँखा गाडि गाडि
खै कतै देखिन
भने तिर नजिकै गएँ
बाहिरी आँखाले अझै देखिन
फर्कें खुइया काट्दै कुर्सीमा बसें
खै कसैले घचेंटे झै
गर्लम्म लडें
आवाज आएछ
ठूलो भीड जम्मा भएछ
अचेत भएछु
ब्यूझँदा अस्पतालको बेडमा
सुने मेरो कुर्सीमा परचक्री बसेछ
सबै संरचना भत्काएर
अस्तित्व रहेनछ
भौतिक केहि
केहिले मुखले कठै ! भने
केहिले हाका हाकी काखी बजाए
मैले मनमनै गमे
समय फेरिएछ