समय राम्रो हुनसक्छ?


 

विजय राज शर्मा

डेनभर, कोलोराडो

 

 

आँधीले उडाउँछ

भुईंचालोले भत्काउँछ

सुनामिले बगाउँछ

समय खराब हुनसक्छ।

के समय राम्रो हुनसक्छ?

के समय धेरै राम्रो हुनसक्छ?

म भन्छु, सक्छ, सक्छ, हुनसक्छ

निष्पट नीलो आकास एक्कासी

इन्द्रेणीको सात रंगले झलमल्ल हुनसक्छ

खुसीको पराकाष्ठाले आँखाबाट

आँसुको बलिन्द्र धारा बग्न सक्छ

म दावी गर्छु, समय धेरै राम्रो हुनसक्छ

किनभने, यस्तै भयो नवम्बर चारको दिन

ओबामा अमेरिकाको राष्ट्रपति चुनिएको दिन

नवम्बर चारको दिन

एउटा इतिहास बनेको दिन

यो हो यस्तो दिन, जति जति आँसु रित्तिन थाल्दछ

उति उति आशा र उल्लासको गाग्रो भरिने दिन

यो हो यस्तो दिन, जब मानिस रंग हेर्दैन

ऊ हेर्दैन रूप र पोशाक पनि

सबैलाई झ्वाम्म अंगालो हाल्न थाल्दछ, यो हो यस्तो दिन

गरिब र धनीको विभेद मेटिन थाल्दछ

रिस, राग, र वैरभाव कता हराउँछ

मानवता छच्लकिएर सस्तै बग्न थाल्दछ, यो हो यस्तो दिन

कसैको अंगभंग गरिन्न

कसैको ज्यान लिइन्न

तापनि एउटा क्रान्ति सम्पन्न हुन्छ

यस्तो पो हो हुन्छ धेरै राम्रो दिन

यस्तै भयो ओबामा राष्ट्रपति चुनिएको दिन

त्यो शान्ति र लोकतन्त्रको जीतको दिन

हिंसाको माध्यमबाट आफ्ना आस्था

अरुमाथि लाद्न खोज्नेहरूलाई

गम्भीर नैतिक चुनौती दिएको दिन

यति धेरै राम्रो दिन, म खुब रोएको दिन

म खुब खुशी भएको दिन

ईश्वरमाथि अनुगृहित भएको दिन

यो हो ओबामाको दिन

यो हो अमेरिकाको दिन

यो हो सबै लोकतन्त्रवादीहरूको दिन

शान्तिप्रियहरूको दिन

अनि मानवताको गौरवशाली दिन