समय



प्रबेश शर्मा
काठमाडौं

आउ साथी म तिमीलाई
एकादेशको कथा सुनाउछु
एउटा यस्तो कथा जसमा
एउटा मूर्ख
औशिको रातमा
अन्धकारमा डुबुल्कि मार्दै
खोक्रो मन र शून्य हृदय लिएर
आकाश नाप्न शुरु गर्छ
उ सिमाबिहीन काम मन पराउने
मान्छे हो
आकाश नाप्दा-नाप्दै ताराहरुको माझ
तिनिहरुको मनमोहक सुन्दरतामा
हराउन पुग्दा
त्यसको नजिक्याईंबाट
उसले भयानक पोलाई ब्यहोर्नु पर्यो

आउ साथी म तिमीलाई
एउटा परीकथा सुनाउछु
एउटा यस्तो कथा जसमा
एक मूर्ख
वसन्त ऋतुको प्रभाती किरणमा
रमाउदा-रमाउदै गुलाबसंग रमाउन पुग्छ
हो,
त्यही क्रममा कुनबेला
उ कांडाको जन्जिरमा फस्न पुग्छ

आउ साथी म तिमीलाई
एउटा कुरा सुनाउछु
तर यो कुनै एकादेशको कथा होइन
न त यो कुनै परीकथा नै हो
समयको चक्रसंगै
एउटा मानव
जीवनको खुट्किला चड्दै जान्छ
केही हंडर चोट र गिराईसंगै
ऊ आफ्नो यात्राको उत्तरार्धतिर आईपुग्छ
त्यसैबेला उसलाई झल्यास्स बोध हुन्छ
यो यात्रा सरल थिएन
यसमा समस्या र जटिलता थियो
सपना र खेलमात्र थिएन
संघर्ष र भूमरी पनि थियो
त्यसैले त साथी
अब उ आफै तारासरह चाम्किन चाहन्छ
खोलासरी तीब्र गतिमा दौडन चाहन्छ
अब उ चेतनाशून्य छैन
भावविहीन छैन
हो
अब उ केवल आधारहीन आकाशमा हराउन चाहन्न
एउटा शून्यताको गहिराईमा
सदाको लागि उ निदाउन चाहन्न