समानता र अवसरको खाँचो
 


आचार्य प्रभा
बोल्डर, कोलोराडो


जहाँ जाऔ, जता बसौं आखिर मान्छे नै हो । मान्छेले आफ्नो गुण व्यवहार जुनसुकै ठाउँमापनि लागु गरि रहेको हुन्छ भने त्यस्तै व्यवहार अरुबाटपनि पाईरहेको हुन्छ । अहिले म सँसारको सबैभन्दा विकसित राष्ट्र्मा जिजीविषाको क्रममा आईपुगेकि छुँ । आफुलाई विगतमा भन्दा छुट्टै अनुभव र व्यवहारिकतामा पाईरहेकि छुँ ।

आफ्नो देशमा हुँदा भोगेका सारा पिडा अनि जिजीविषाको क्रममा खेलिएका नाटकरुपी पात्रहरुको अभिनय तथा समय अनुसार सम्झौता गरिएका ति पलहरु सम्झिन्छु । आफ्नै घरआँगनबाट बहिस्कृत हुनुपरेका क्षण, आफ्नै देशमा पराई बनेर भौंतारिई रहेका पल अनि केहि गर्छु भन्ने अभिष्ट बोकेर बाँच्ने रहर बोक्दाबोक्दै पनि निरसता पालेर छटपटिनु परेका ति समय  सम्झिन्छु । साँच्चै कति हास्यास्पद र पिडादायी थिए ।

तर समयले कोल्टे फेर्यो । मेरो महत्वाकाँक्षा अनि मभित्रको केहि गर्छु भन्ने भाव अनि आफ्नै पौरखमा बाँच्छु भन्ने मभित्रका आकाँक्षालाई मेरो भाग्यले साथ दियो । त्यसैले म आज कर्मभूमीको माटोमा टेक्न सफल भएँ अनि मेरो स्वावलम्बी बन्ने अठोट पुरा भयो । जहाँ म आफुलाई 'म जन्मेको सार नै मेहनतकालागी' भन्ने भावना जगाई दियो । शायद हाम्रो देशमापनि यस्तै प्रकारको जीवनशैली विगतदेखि भईदिएको भए हामी सारा नेपालीहरुको मन अनि पौरख यो भूमीको भन्दा कम हुने थिएन । तर अवसर अनि समानताको अभावमा हामी सँधै लडखडाई रह्यौं । हाम्रा आकाँक्षा र पौरख गर्ने हातहरुमा सँधै विवशताका माखेसाङ्गलोहरु झुण्डिई रहे र हामी सदा पछाडिको पछाडि नै रह्यौ ।
अहिले म भएको यो विशाल देशमा विभिन्न ठाउँका मानिसहरु छन् जहाँ सबैले आफ्नो मेहनत र परिश्रमको महत्व बुझेका छन् । र मेहनत र अवसरको फलपनि पाईरहेका छन् । त्यसैलेपनि सबैमा मेहनतको भावनामात्र सलबलाई रहेको आभाष हुन्छ । यसको कारण समानता र परिश्रमको सहि मुल्याँकन हो भन्नुमा अत्युक्ति हुँदैन । हुन त जहाँ भएपनि केहि कुराको गुण मान्छेमा हुनु आवश्यक हुन्छ । ति के के हुन् भने १) आफुले गर्नुपर्ने कर्तव्यमा आफु सक्षम हुनुपर्यो २) शिक्षित हुनुपर्यो ३) भाषाको सार्मथ्यता हुनुपर्यो ४) अग्रसरता हुनुपर्यो अनि ५) बोल्न सक्ने क्षमता हुनुपर्यो। अर्थात नेपाली उखान 'बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामलपनि बिक्दैन' भने झैं अगाडि बढेर बोल्न सक्षम हुनुपर्यो आफ्नो अधिकार भित्र रहेर । चाहे जुनसुकै ठाउँमा होस यि गुणको अभावमा मानिस जहाँको त्यहिँ रहने सम्भावना हुन सक्छ  ।

हाम्रो देशको विडम्बना झै यहाँ मान्छे चिन्नु र किन्नु चाँहि पर्दैन । कसैलाई हात मोलेर काम लिन पनि असम्भव छ । आफु सक्षम र अधिकारको दायराभित्र छ भने कसैसँग मोलमोलाई र घुसखोरीको अनैतिक कार्यमा सँलग्न हुनु आवश्यक छैन । यसैले मलाई लाग्छ जहाँ भएपनि मान्छेलाई अवसर र समानताको आवश्यकता छ । समानता र अवसर पाएमा शायद कोहि पनि कर्तव्यबाट वँचित  हुन चाहँदैन । हुन त जहाँपनि कोहि न कोहि आफ्नो कर्तव्यबाट विमुख हुने त हुन्छन् नै जुन हर देशको आफ्नो बिडम्बना हो ।

मेरो  जीवन भोगाईको अनुभूति अनुसार नेपालमा हामी घरमा नोकरचाकर राखेर पानीसम्म अर्काको हातबाट मागेर खाने विलासी  जीवन व्यतित गरिरहेछौ । हामीलाई सार्वजनिक ठाउँमा सानोतिनो काम गर्न लाज लाग्छ । लाज लाग्नुपनि स्वाभाविक हो । भोलि गाउँघर शहरमा ढोल पिटिन्छ । फलानाले गति नै छाड्यो भन्ने खालका वाक्यहरु गुँजिन्छन । जस्तै मैले धेरै अगाडि नेपाली पत्र पत्रिकामा पढेकि थिएँ 'नेपाल नायक सरोज खनालले आइसक्रिम बेच्ने काम गर्छ रे' अथवा 'वरिष्ठ गायक ओमविक्रम विष्टले नेपालमा चियाको कितली नउचालेको अहिले जापानमा फलाम उठाउँदै छ रे' । यि दुई खबरहरु उतिबेला सबैको निम्ति आश्चर्य अनि हास्यास्पद बनेका थिए । मलाईपनि त्यसबेला यि खबरहरुले अचम्भित नबनाएको होईन । तर अहिले वास्तविकताको सँघारमा उभिएर हेर्दा लाग्छ ति सब हल्ला या समाचारहरु निरर्थक रहेछन  र ति समाचारहरुले मेहनत र सँघर्षको महत्व नजानेर खिल्ला उडाई रहेका थिए ।

विकसित देशहरुमा आफ्नो ओहदाको अहँ नगरि सबै समान भएर काम गरिरहेका हुन्छन् । ठुलो ओहदाको कर्मचारीहरुलेपनि समान रुपले आफुलाई प्रस्तुत गरिरहेका हुन्छन् । त्यसैले म यहि भन्न चाहन्छु कि हाम्रो देशमा हामीजस्तो प्रत्येक नागरिक बेकारी हुनुमा आफ्नै देशको असमान व्यवहार र समाजमा हेरिने अव्यवहारिक दृष्टिकोण अनि अहँपना नै हो । विकसित मुलुकहरुमा झैं सहि परिश्रमको सहि फल, समान व्यवहार हामीमा पनि लागु भए हामी एक अर्कामा वैमनश्यताको भावना साँच्नुको सट्टा समयलाई सहि सदुपयोग गरेर विकासको बाटोमा अगाडि बढ्न सफल भईन्थ्यो कि?  मान्छे,  मान्छे हो । जसलाईपनि ईश्वरले सहि कार्य गर्न खटाएको हो न कि एक आपसमा दुर्व्यवहार  गर्न ।

हुन त मेरो यो खसखससँग सबै सहमत नहुनु होला । आफु विदेशमा बसेर भावना पोख्न मात्र मैले कोशीश गरेकि होईन । मेरो विगत आफ्नो देशमा जे थियो अहिले अन्त्यमा त्यहि छ । त्यस्तै पिडितहरुको भावनालाई समेटेर म ति पात्रहरुको पक्षधर भएर मनमा लागेको खसखस कागजमा उतारें । स्विकार्नु नस्विकार्नु यहाँहरुको जिम्मा । मेरो सानो सुन्दर देश नेपालको शान्ति र प्रगतिको कोटि कोटि शुभकामना ।