समानान्तर उज्यालो
 
गीता त्रिपाठी
वालुवाटार,  काठमाडौं
 
नडराऊ
रातपरे पनि
बिहानको आशा रित्तिएको छैन 
तिम्रो अँध्यारोलाई बचाउँदा-बचाउँदा
मेरै अनुहारमा ठोक्किएर 
कैयन् उज्याला युगहरु फर्किए
देखेका छौ 
यो अनुहार भरी 
तिनै युगको पीडा छ
 
समानान्तर उज्यालो बोकेका
ती युगहरु
कहिल्यै बन्द नहुने
खापा रहेछन्
 
तिम्रो चोर झ्यालबाट
अलिकति चियाएर हेर त !
त्यो उज्यालो
अहिले 
तिम्रै ढोका ढक्ढकाइरहेछ ॥