सालिक र भगवानहरु



सङ्गीत आयाम
चितवन, भरतपुर



नदीभित्र देखिने
पहाडहरुका अदभुत् छाँया
क्रमशः खस्दै गैरहेछन्
पानीमा खिचिएका
रङ्गहीन रेखाजस्तै
पहाडभित्र डुलिरहने
नदीहरुका नीला आँखा
छोपिदै ढलिरहेछन्
यातनाका धूँवाहरुभित्र
धमिलो परिदृश्यसँगै
हिमालको फराकिलो छातीमा अब
चिस्सिन छाडेका
हिउँहरु मात्र छन्
अनन्त आक्रोशहरुमाझ
खडेरी खेपिरहेका
आगोका लप्काहरु
चौडा काँधहरु भएर बग्छन्
चर्का स्वरहरुमा उज्यालो खोज्दै
मृत्युजयी गीतको आभाषमा
खरानी सेकिरहेका
टाढा कतैबाट
असङ्ख्य मान्छेहरुको
अनौठो जुलुस आइरहेछ
मान्छेहरु निहत्था मनहरुमाथि
प्रहार गर्छन्
र भगवान हुँदै गैरहेछन्
मान्छेहरु निरीह संवेदना माथि
आक्रमण गर्छन्
र सालिक भैरहेछन्
भगवानरुपी मान्छेहरु भने
शिकारी झै देखिन्छन्
निसाना छोडिरहेका
सालिकरुपी मान्छेहरु भने
सत्तासीन भएर गर्वित छन्
गुलामीको आनन्द लिइरहेका ।