साझा प्रकाशनः एक प्रश्न चिन्ह

२०६४ फागुन महिनामा जुलुस, हडताल, चक्काजाम आदिको घच्चा खाँदै पैदल नै भृकुटि मण्डपस्थित साझा प्रकाशनको पुस्तक विक्री केन्द्रमा पस्ने वित्तिकै साझाको गोदामघरमा त पसेकि होईन जस्तो भ्रममा परें । कारण उक्त पसलभित्र रहेका किताबहरु चारैतिर छरपष्ट परेका, भुईंमा चारैतिर किताबका बण्डल छरिएको देखेर म गलत समयमा त्यहाँ पुगेको जस्तो लाग्यो । विक्रीकक्षमा दुई महिला र एक पियन थिए । 'नारीचुली' पुस्तकको खोजीमा म यहाँ आएकि छ कि छैन' भन्ने प्रश्न राख्दा त्यहाँ दराजमा भएको किताब छन् आफै हेर्नोस  भन्ने ठाडै जवाफ दिईन ति दुई महिलाले । ति दुई महिला सुत्केरी झै घाम ताप्दै, चियाको चुस्की लिदै, आफ्नै घरायसी कुरा गर्नमा मग्न थिए । किताब छान्न गएँ । पाईलो टेक्ने ठाउँ थिएन । 'सँसार कहाँ पुगीसक्यो, अझैपनि कामको एथिक हाम्रा नेपाली कर्मचारीलाई नभएको, देश डुबिसक्यो, सरकारको काम कहिले जाला घाम' यहि विचारले निराश भई किताब नकिनी फर्किएँ । गरिमा, मिर्मिरे, प्रज्ञा, जस्ता पत्रिका कुन महिनाको थाहा पाउनै नसकिने गरि छरपष्ट देखेपछि किताब किन्ने मनशाय प्रवृत्तिलाई परित्याग गर्न वाध्य भएँ ।

२०२२ सालमा स्थापित साझा प्रकाशनको विक्रीकक्षको हालत त यस्तो छ भने पुस्तक सङ्कलन गर्ने गोदामको कुन अवस्था होला?  यहि सोच्दै थिएँ- रत्नपार्कको पेटीमा २०० थान पुस्तक बेचिरहेका कलिला ठिटाहरुको आवाजले झस्कायो । बाटोमा घामपानी, हुरीबतास झेलेर बीस प्रतिशत कमिशन पाउने आशाले किताव बेचिरहेका ति बबुराबाट मैले एक हजार रुपैयाँको किताब किनें । हाम्रा देशका कर्णधार सूत्रधार यिनिहरु नै हुन् भन्ने लाग्यो । साझा प्रकाशनको भण्डारमा पाईने किताब त्यहाँका कामदारको उपेक्षित व्यवहारले गर्दा नकिनेर उत्तम व्यवशायी ति बालकको मेहनत, भोको पेट, वर्क एथिक सम्झि तिनिहरुबाट किताब किनें ।

त्यति नै बेला कान्तिपुर पत्रिकामा साझा प्रकाशनव्दारा प्रकाशित एक लेखकको पुस्तक तीन वर्षमा आठवटामात्र विक्री भएको एउटा समाचार आयो । कमिशन बत्तिस रुपैया लिएर सबै किताब फिर्ता लगेको खबर थियो त्यो ।

त्यस्तै "साझा प्रकाशनको भण्डारमा लाखौं पुस्तकहरु कुहिने अवस्थामा । गोदामको भाडा एकलाखभन्दा बढि । अतएव किताब उपहारमा दिईने ।"

"थन्किएका पुस्तकहरु बाह्रहजार शिर्षकका छन्। प्राचीन नेपाल, पुर्णिमा, मिर्मिरे, भानु, भीमनीधिका कृति आदिहरु थन्किएको अवस्थामा छ ।"

कान्तिपुरमा प्रकाशित उक्त समाचारले साझा प्रकाशनलाई यो हालतमा पुर्याउनमा जिम्मेवार को त भन्ने प्रश्न मनमा आयो । पक्कै प्रशासन, नातादार-फरियावादको आधारमा पुस्तक छापिने, पुस्तकमा गुणस्तरको कमी, विक्री गर्ने एजेण्टको लापरवाही आदि कारण हुनुपर्छ । आफुलाई मान दिने, गाँसबास दिने,  कार्यालय वा सँस्थालाई जिवित राख्न कठोर परिश्रम ईमान्दारी र त्यागको आवश्यकता पर्छ । सरस्वतीको वरदान पाएको साझा प्रकाशनले धेरै कवि साहित्यिक हस्ती जन्माएको छ । साहित्यकारहरुले आफ्नो गाँस काटेर पुस्तक छपाउन सँस्था गुहारेका छन् । तर गुणस्तरको कमी र प्रशासनिक कमजोरका कारणले विक्री वितरणमा राखेको पुस्तक लेखकले फिर्ता लानु पर्ने अवस्था साह्रै लज्जाजनक हो ।

साझा प्रकाशनको विक्री केन्द्र- छरपष्टिएका किताबहरु, शो केशको धुलै धुलोमा गुम्सिएका किताबहरु, चियापान र गफमा व्यस्त कर्मचारीहरु, भुँईमा छरिएका पुस्तकका बण्डलहरु, अनाकर्षक साजसज्जा, नयाँ र पुरानो पत्रिकाको फाँट नछुट्रयाइएको आदि आदि । बयालीस वर्षको लगानी रहेको साझा प्रकाशन किन यति उपेक्षित ? दक्षता नै नभएको कर्मचारीले कसरी लेखकको कविको अनुसन्धाताको वेदना बुझ्न सक्छ ?  पुस्तक देशको अमूल्य नीधि हो । साझा प्रकाशन विद्याको मन्दिर हो । पुस्तक गृहलाई सजाउनु पर्छ, विद्धानहरुलाई निम्तालु बनाउनु पर्छ । केहि नै आकर्षण नभएको यो साझा प्रकाशनमा तलब पचाउने कुकृत्यमात्रै भई रहेको स्पष्ट छ । साझा प्रकाशनका महाप्रबन्धक नेताव्दयका नातेदार नभई लेखक कविको पीडा बुझ्ने सच्चा सेवक हुनुपर्छ अनि बजेटको भरमा नबसी लेखकको पसिनालाई सुनको कसीमा ढाल्ने योद्धा हुनुपर्छ । चक्काजाम टायरको मुस्लो वास्तै नगरी हडताल जुलुसको मतलबै नराखी साझा प्रकाशनको त्यस विक्रीकक्षमा पुग्दा आफ्नो समय र मेहनत खेर गएको अनुभव भयो भने ति देशका सच्चा नागरिक बालकहरुले बेचेका किताबहरु किनेर अमेरिका फर्किँदा मन नै हलुङ्गो भएको अनुभव गरें ।