सहयात्री


रजनी ढकाल
काठमाण्डौँ



आकाशमा टाँगिएको क्षितिजसँग

उषामा उदाएको उज्यालोसँग

बनसँगै हाँसिरहेको हरियालीसँग

र घामसँगै फैलिएका किरणहरूसँग 

कसरी माग्न मिल्छ मैले

आफ्नो अस्तित्व ?

 

चरासँगै उडिरहेको बतासँग

चिर्बिरचिर्बिर आवाजसँग

जनावरको आरामदायी उग्राइसँग

कसरी माग्न मिल्छ मैले

आफ्नो पहिचान ?

 

के तिमी आफ्ना विश्‍वासहरू बटुलेर

आफैंले बाँचेको आस्थालाई साक्षी राखेर

तिम्रो र मेरो सम्बन्धका सरल रेखाहरूलाई

अझ बढी तन्काउन सक्दैनौ ?

 

म अधिकारको नाममा विछोड हैन

बचाइको नाममा स्वार्थ हैन

हाम्रो समयको क्षितिजसँगै टाँगिन हिंडेको

पर्ख एकैछिन

हाम्रो प्राकृतिक नातालाई

यहीं चिनाएर जाऊँ

 

खोपेजस्तै नाउँहरू रूखका हाँगा हाँगामा

प्रेमीप्रेमिकाहरूले

मनमनमा रोपेर जाऊँ

भोलि फुल्नको लागि समान सौन्दर्य

आऊ सुम्पेर जाऊँ पाइलाका डोबहरू

समानान्तर रेखाका लागि

 

हिंडौं न अनन्तसम्म सँगसँगै

एउटा पाइला तिमी

अर्को पाइला म

अनि देलान् आकाश, घाम, बन र बिहानले पनि

थोरै थोरै आफ्नो अस्तित्व

बनाउलान् हामीलाई

उनीहरूकै सहयात्री

 

 

२०६६/२/२२