सहमति !

शिव प्रकाश

 

सहमति !
सहमतिका लागि
सहमतिबाट सहमति शुरु हुन्छ
, सहमतिका लागि सहमति बन्छ
सहमति पछि
सहमति तोड्ने अर्को सहमति हुन्छ

सहमति !
एउटा निरन्तर क्रम हो
, सहमति
एउटा निरन्तर भ्रम पनि हो !

सहमति !
सरकार बनाउन चाहिन्छ
सरकार चलाउन चाहिन्छ
सरकार बचाउन चाहिन्छ
सरकार गिराउन पनि चाहिन्छ
सहमति,
सहबासका लागि पनि चाहिन्छ

सहमति !
क्रान्तिका लागि हुन्छ
शान्तिका लागि हुन्छ
सहमति,
स्वार्थका लागि पनि हुन्छ
सहमति !
साधु-साधुबीच हुन्छ
चोर-चोरबीच हुन्छ
सहमति,
साधु चोरबीच पनि हुन्छ
सहमति !
नेता-नेताबीच हुन्छ
सहमति वेश्या-वेश्याबीच हुन्छ
सहमति,
वेश्या महात्माबीच पनि हुन्छ

सहमति !
महलहरुमा हुन्छ
सिंहदरबारहरुमा हुन्छ
दरबारहरुमा हुन्छ
सहमति,
वेश्याबजारहरुमा पनि हुन्छ

चलेको -
मान्छे, संसार समय,
सँस्कार सहबास
सम्पूर्ण सहमतिमा !

हरैंचा, मोरङ हाल - बोस्टन, अमेरिका