राक्षस


बिनोद खड्का
हाल:  दोहा कतार


धर्मशास्त्रको एउटा पात्र
अन्याय र अत्याचारको
जीउँदो जाग्दो एउटा प्रतिबिम्ब
अतितका कथाहरुमा
देउताहरुलाई लखेट्ने गर्छ
कुटीहरुभित्र पसी लुटने गर्छ ।

श्रृजनाका बगैचाहरुमा पसी
दानवी नृत्य नाच्छ
सुन्दर नगरका शोभायमान
पुष्पवृक्षहरु तोडिदिन्छ ।

दया र करुणाको त सवाल नै छैन
शान्तीको शत्रु हो
तोड्नु र फोड्नु त्यसैमा रम्नु
उसको आफ्नै संस्कार हो ।

यी अतितका कथाहरु
लाग्छ वर्तमानका यथार्थ हुन
हामीले सुन्ने गरेका अतित
लाग्छ आजका भोगाईहरु हुन ।

त्यसैले मलाई
आजको कथा लेख्नु छैन
कतै यस्तै नियती
फेरी कसैलाई दिनु छैन ।

२४ नोभेम्बर २००८