रात
बिनोद खड्का
हालः दोहा कतार
अध्याँरोको प्रतिबिम्ब हो रात
प्रकृतिको नियम हो रात
अविरल यात्रा हो रात
यथार्थ हो रात
श्रृजनाका लागी
मूल हो रात
जूनहरुका लागी
घर हो रात
परिश्रमीहरुका लागी
विश्राम हो रात
पालुवाहरुका लागी
जननी हो रात
तर पनि मलाई
किन हो किन रात मन पर्दैन
भोगिसकेको आतंक
किन हो किन ओझेल पर्दैन
कैयन रातहरु
यादका पानाहरुबाट
मलाई चिथोरिरहन्छन
मध्यरातको निष्पटृत्ताहरुमा
बिलाउनु अघिका चिच्याहटहरु
मलाई झस्काईरहन्छन धिक्कारी रहन्छन
त्यसैले पनि मलाई
रातको चिच्याहट मन पर्दैन
भोगिसकेका आतंकहरु
किन हो किन ओझेल पर्दैन
भोकका विरुद्द
रोईरहेका बच्चाहरु
सडक किनारामा
सुतिरहेका बा आमाहरु
लाग्छ एउटा लामो रातका विरुद्द
लडिरहेछन मरिरहेछन
तर रातको अर्को पाटो
सुरा सुन्दरी र संगितमा
रमिरहेको हुन्छ मदहोश हुन्छ
तर पनि मलाई
किन हो किन रात मन पर्दैन
भोगिसकेका आतंकहरु
किन हो किन ओझेल पर्दैन
रातका सन्नाटासंग मिसिएका
कोलाहलका छिटाहरुसंगै
आफनै आँखाहरु अगाडी
विधवा भएका निर्दोष आमाहरु
आफनै आँखा अगाडी
टुहुरा भएका निर्दोष बालकहरु
लाग्छ केवल बाँच्नका लागी
मरेर पनि बाँचिरहेछन
फेरी आँउने
वा आँउदै नआउने
बिहानीका आशाहरुमा
एउटा लामो रात भोगिरहेछन
तर शहरको अर्को पाटो
सुरा सुन्दरी र संगितमा
विजयको उन्माद ओकलिरहेको हुन्छ
राजनितिको नाममा मदहोश हुन्छ
लाग्छ केवल उही एउटा बाँच्छ
बाँचिरहन्छ बाँचिरहन्छ भोगिरहन्छ
त्यसैले पनि मलाई
रातको सन्नाटा मन पर्दैन
भोगिसकेका आतंकहरु
किन हो किन ओझेल पर्दैन
१२ नोभेम्वर २००८