लघुकथा
(सन्दर्भ: अन्तर्राष्ट्रिय महिला दिवस)
प्रेरणा
सुषमा मानन्घर
ललितपुर
mdhsusma@yahoo.com
"एकैछिन पर्खनुस् न है, मलाई पनि बाहिर निस्कनु छ ।" आफ्नो श्रीमान तयार हुँदै गरेको
देखेर दिल कुमारीले भनी ।
"भो भो । कतै भाषणै दिन जान लागेकी हो के हो ? खुरुक्क घर सम्हालेर बस । त्यति
मात्र गर्न जाने पनि पुग्छ । " श्रीमानबाट आज पनि पुग्नेगरी नसिहत पाई उसले ।
'घर त तपाईँको पनि हो । एकदिन तपाईँले पनि हेर्दा के बिग्रन्छ र ?"
"धेरै बिग्रन्छ । अरु दिन जस्तो हो ? आज त नारी दिवस । ठूल्ठूला र आँटिला काम गर्ने
महिलाहरुलाई सम्मान गर्ने । उनीहरुसँग चिया खाँदै गफ गर्ने दिन । केही बुझ्यौ तिमीले
? दिमाग भए पो ! भाषण दिन जानु छ मलाई, डिस्टर्व नगर ।" उसले बाहिर दिनुपर्ने भाषण
घरमा आधै सकेर बाहिरियो ।
आयोजना स्थल पुग्दा त्यहाँ मानिसहरु टन्नै आइसकेका थिए । दर्शकदीर्घातिर हेर्दै
नहेरी ऊ गमक्क फुलेर मन्चमा सजाइएको मेचमा बस्यो । छेउमा दुइ तीन अन्य अतिथी
महिलाहरु पनि बसिरहेका थिए ।
कार्यक्रम शुरु भयो । महिला पुरुषका सम्बन्ध र समाजमा महिलाको भूमिका बारे सवैले
प्रकाश पारे । उसले पनि महिलाको देनबारे ब्याख्या गर्दै उनीहरुलाई जननी,संगिनी,बहिनी
र प्रेरणा भन्दै प्रशंसा गरेर भीडको ताली बटुल्यो ।
कार्यक्रमको अन्तमा आयोजकले एउटा विशेष सम्मान ग्रहण गर्न नाटकीय ढंगमा
दर्शकदीर्घामा एउटा नाम बोलाइन् । साधारण गृहिणी भैकन पनि आफ्नै बुध्दि, इच्छा र
लगनले लेखिका बन्न सफल, छद्य नामले लेख्ने ती महिला मन्चमा आउँदा ऊ भने चार छक्क
पर्यो । सम्मान ग्रहण गर्नु अगाडि दिल कुमारीले भाषण गरी "म आज जे छु त्यसमा मेरो
श्रीमानको ठूलो हात छ । उनले यति राम्रो प्रेरणा र शक्ति नदिएका भए म आज यो ठाउँमा
पुग्नै सक्दिनथें । त्यसैले म उनको गुण कहिल्यै बिर्सन सक्दिन । मेरो श्रीमान
मेरोलागि ठूलो प्रेरणा हुन् ।"
अपराध बोधले दिल कुमारीका श्रीमानलाई भने आफू जमिनमा भासिँदै गएको अनुभव भैरहेको
थियो ।