प्रिय ,
सम्बोधनमा तिमीलाई उल्लेख गर्ने अधिकारमा अझै छु
या बञ्चित भएँ यहि अन्यौल चिर्न नसकेर छटपटिईरहेको भएपनि तिमीलाई प्रिय सम्बोधन
गर्ने सम्म अधिकार म रहुञ्जेल ममा निहित रहने ठान्दै आज प्रेम दिवशको मौका छोपेको
छु ।
भन्नु पर्ने केही बाँकी नरहेको तर भन्न निक्कै बाँकी नै रहेको अवस्थामा पनि पुग्दो
रहेछ मान्छे । म ठ्याक्कै त्यही अवस्थामा छु भन्दा कम्तीमा मलाई फरक पर्दैन मलाई
नजान्नेहरुको निम्ती त यसको मात्र हैन केहीको पनि अर्थ हुँदैन । ब्याक्तिगत रुपमा
नचिनुञ्जेल अथवा चर्चा परिचर्चाको विषय घेरामा नपरुञ्जेल सम्म जो सुकै मान्छे
अर्को मान्छेको निमित्त बारीको असंख्य डल्ला समान हुन्छ जस्को अस्तित्व अलग्गै
भएपनि समग्रमा डल्लै डल्लाले भरिएको बारीमा कसैले डल्लेठो लिएर डल्ला फुटाउन
नजाउञ्जेल बराबर हुन्छ । जब कोही डल्लेठो लिएर डल्ला ठोक्दै अघि बढ्छ तब थाहा
हुन्छ कुन डल्लामा ज्यादा जोर पर्यो , कुन डल्ला फुटाईरहनु परेन अथवा कुन डल्ला
फुट्दै फुटेन भन्ने हैन भने बारीमा डल्लाहरुको उबडखाबड रहुञ्जेल विशेष डल्ला पनि
सामान्य डल्ला नै रहन्छ बारीमा पानी पटेर सबै नगलुञ्जेल ।
हो, म तिम्रो मनको बारीमा भएको विशेष डल्ला थिएँ
त्यो जान्दछु तर अझै म विशेष डल्लाकै स्थानमा तिम्रो मनको बारीमा छु कि तिमीले
मनको खेतमा पानी पटाएर गलिसकेँ कुरो यहिँ बुझ्न सकेको छैन । जम्माजम्मी मैले गर्न
सक्ने भनेको अनुमान हो त्यसैले अनुमानमा तिमीले तिम्रो मनको बारीमा अविश्वासको
कुलो हुल्यौ होला र म भ्यात्तै गलेर तर डल्लाकै आकारमा छु होला अहिलेसम्म र अर्को
मैले गर्न सक्ने कुरा भनेको कामना हो त्यसैले यतिखेर म कामना गर्दैछु तिम्रो मनको
बारीमा पसेको पानी कसैले पाईला टेकेर डल्लाहरुको गलेको स्वरुप भत्किन नपाई सुकोस
र डल्लाहरु पुन अस्तित्वमा आओस ता कि म आफुलाई त्याँहा भेट्न सकुँ ।
त्यसो त मान्छेहरु मलाई कस्तो स्वार्थी रहेछ
भन्दा हुन् तर यो विषय नै नाम मात्र प्रेमको हो बाँकी त स्वार्थ नै मात्र हो ।
सबैले यहि स्वार्थलाई प्रेम स्विकारेर बाँचेका हुन्छन् भने यहाँ मैले स्वार्थी
बन्न हुन्न भन्ने ठ्याम्मै सोच्दिंन म । हो यो स्वार्थको निश्चित सीमा भने अवश्य
हुन्छ । एकतर्फी नभएर यो स्वार्थ दुईतर्फी नै हुन्छ तर तब मात्र जब यसले पूर्णता
पाउँछ अन्यथा सुर्यको तापमा परेर शीतका थोपा बिलाए जस्तै आशँकामा सम्बन्ध नै
बिलाएर जान सक्छ अनि त न स्वार्थ न प्रेम यो कहिँको रहँदैन ।
प्रेम दिवसको यो मौकामा मैले कुरा प्रेमको मात्र
गर्न खोजेको हैन हाम्रो प्रेमको पनि गर्न खोजेको हुँ र हाम्रै प्रेमको मात्र
चर्चामा रमाउन नसक्ने हुँदा प्रेमको पनि कुरा झिक्दैछु । लेखाईबाट सुरु भएको
हाम्रो प्रेम आज लेखाईकै धरापमा पर्न पर्न लाग्दा मैले हाम्रो प्रेमको कोठेबारी
खनिखोस्री गर्नैपर्ने महसुस गरेको हुँ । सम्भवत: कुनै गीतको निमित्त भनेर लेखेका
केहि हरफ शब्दहरु थिए तिमीलाई लोभ्याउने , यो हुनु नै थियो सायद त्यसैले सयौंले
पढ्दा म मा नटाँसेको मन तिमीले टाँस्यौ । समयान्तरमा आएर यतिखेर मन टाँस्ने लिसो
नक्कली पो थियो कि झैं लाग्ने गरी कुनै गीतकै निमित्त केही हरफहरु कोरीरहँदा
टाँसिएको मन उप्केला उप्केला झैं महसुस भयो । भावावेशमा आएर तिमीले उप्कायौ नै भनें
भनेपनि अपराध ठहर्दैन । त्यसो हुनुको रहस्य ति दुई अवस्थामा लेखिएका गीतहरुको
भावले बोकेको छ । पहिलोमा प्रेम भनेर पहिलो बुझाई बुझिने गरेको प्रेम विषयलाई
लेखेको थिएँ भने पछिल्लोमा प्रेम नै तर सामान्य परिभाषाबाट माथी उठेर माटो माथीको
प्रेम , राष्ट्र र समाज अनि मान्छे मान्छे माझको प्रेम विषयलाई लेखेको थिएँ ।
पछिल्लो अवस्थाको प्रेम सम्बन्धमा मैले एकोहोरो लेखिरहँदा तिमीलाई आफु बाहिर परेझैं
महसुस भयो क्यार त्यसैले त सजिलै भनिदियौ तिम्रो देश प्रेम र साहित्य प्रेमको
अघिल्तिर मेरो न स्थान छ न मुल्य त्यसैले यो सम्बन्धको हाँसीखुसी अन्त्य
गर्नेतर्फ सोच्नु नै बुद्धिमानी ठहर्ला । साथमा जोडीएर सपनाका कुरा उठे , रहरका
कुरा उठे । सपनाका कुरा उठ्दा दुबै थरी सपनाका कुराले स्थान पाए । अझै अग्लो
हुनलाई ननिदाई देखिने सपनाका र मस्त निन्द्रामा डुबेर अवचेतन मनले देख्ने सपनाका
। अवचेतन मनले देख्ने सपनामा पनि हामी सबै स्वभाविक रुपमा ति नै प्रिय
पात्रहरुलाई देख्न चाहन्छौं जस्लाई कुनैदिन देख्ने सपना पालिएको होस् तर
नियन्त्रणमा नरहने त्यो सपनामा मा तिमीले मलाई कहिल्यै नदेखेको स्पस्ट पार्यौ ।
मलाई त्यो खासै महत्वको कुरा भएन तर तिमीले महत्वका साथ उठाएर मैले तिमीलाई जीवनमा
महत्व नदिएकोले सपनामा नदेखेको भन्ने सम्म दोष लगाउन पनि भ्यायौ ।
हामी मनको सम्बन्धलाई पनि किन यति ख्याल ख्याल
ठान्छौं होला ? कुनै स्वार्थले बशीभूत भएर सुरु होला मान्छेको सम्बन्ध तर प्रगाढ
बनिसकेको सम्बन्ध ख्यालख्याल गर्दैमा बालुवा थुपारेर बनाएको घर भत्काएझैं भत्किने
हुँदैन । नियतवश भत्काईयो भने पनि त्यो आजन्म दुखिरहने भग्नावशेश भएर रहने हुन्छ
त्यसैले म त भन्छु आजका हामीले प्रेमलाई प्रेमको सामान्य बुझाई भन्दा मास्तिर
उठाएर बुझ्नुपर्छ , सामान्य परिभाषा भन्दा माथी राखेर परिभाषित गर्नुपर्छ । रोमियो
जुलियट , हीर राँझा , लैला मजनु तथा हाम्रै मुना मदनको प्रेम पुस्तकमा पढ्दा
आनन्द लाग्न सक्छ तर त्यही प्रेम भोग्न वास्तविकतामा कठिन हुन्छ त्यसैले आजको
प्रेम वास्तविकतालाई अँगालेर समय अनुशार कदम चाल्न सक्ने प्रेम बनोस् । जीवनमा
प्रेम गर्नुपर्छ भन्ने मान्यतामा टेकेर प्रेमी प्रेमिकाको धुईँपताल खोजी छोडेर
प्रेममा जीवन हिँडाउनु पर्छ । प्रेममा दुई मुटुमात्र सारा दुनियाँलाई पन्साएर
हिँडाईरहँदा हामी अनुमान लगाउनै सक्दैनौं जीवनमा हामीले अरु के के गुमायौं किनकी
यौटै प्रेम त्यो अवस्थामा सर्वोपरि बनेको हुन्छ । प्रेममा जीवन हिँडाएपछि जीवनमा
समाज , समाजमा राष्ट्र , राष्ट्रमा विश्व र विश्वमा प्रेमका भोका समग्र मान्छेहरु
क्रमैले जोडिएर आउँछन् त्यसैले प्रेमलाई फराकिलो पारेर हामीले मुटुमा माटोको
प्रेम , मानवताको प्रेम जोड्न सक्नुपर्छ । यति बुझ्यौ भने मैले मेरो मुटुमा कति
महत्वको साथ तिमीलाई टाँसेको छु भनेर अर्थ्याईरहनु नपर्ला ।
आज प्रेम दिवसको दिन अनन्त मनहरुमा प्रेमको दीपक
बलिरहेको होला । सारा जगत उल्लासपूर्ण वातावरण पाएर जगमगाईरहेको होला । साँच्चै
नापी नसक्नुको पो हुन्छ त यो प्रेमको खुशी त । भन्छन् पत्थर पनि पगाल्न सक्छ
प्रेमले भलै प्रेमले छातिमा टाँसेर पत्थर पगालेको नहोस् कसैले । यस्तो शक्तिशाली
तत्व मानिएको यो प्रेम हातमा खुकुलो हुँदै गै रहेको महसुस हुँदैगर्दा मैले आँखाभरी
टिलपिल आँसु लिएर तिमीलाई सम्झँदै अँध्यारो कोठाबाट झ्यालबाहिर चिहाएँ । मलाई
रात्रीको खुल्ला आकाशमा केहि बेर जून देख्ने ईच्छा जागेको थियो तर मेरो आकाशमा
त्यसबखत मलाई दर्शन दिनलाई जून उपस्थित थिएन । धेरै कुराहरु जीवनमा भनेकै बखत
भनेकै जसरी कहाँ उपलब्ध हुन्छ र ? खुल्ला आकाशमा केहिबेर टोलाएँ । कुनैदिन तिमीले
मलाई निदाउने उपाय सुझाउँदै आँखा चिम्लिएर खुल्ला आकास सम्झनु भनेको स्मरण भयो ।
नभन्दै मैले प्रयास गरेको थिएँ कुनैदिन आँखा चिम्लिएर कतै केहि नभएको खुल्ला आकास
सम्झेर निदाउन तर कल्पना गरेको त्यो बेलाको आकास कहाँ खुल्ला हुनु र ? त्याँहा त
लाखौं सिताराहरु झिल्मिलाएका थिए , पूर्ण चन्द्र ज्योतिर्मय भैरहेको थियो र
निदाउन छोडेर त्यो जगमगाउने आकासको कविता लेखेको थिएँ ताराजूनको बर्णन गरेर तर
यतिखेर देख्न चाहेर पनि जून देख्न नसक्दा सँधै हुने ताराहरु पनि लुकिदिँदा आकास
हेर्न छोडेर सामुन्नेमा बिश्राममा छु तर निदाएको छैन भन्दै कुनै चम्किला , कुनै
मधुरा बत्तिहरुले झकिझकाउ सहर हेरेँ । नजिकैको सडक बत्ति देखि पर पर सम्म देखिएको
सबै बत्तिहरु रोईरहेझैं धर्साकारमा देख्दा सम्झेँ रोईरहेको त म पो छु यो सहर हैन
। हत्तार आँखाको आँसु पुछेर सहरका बत्तिहरु ठिकठाक पारेँ । त्यसबेला अर्को
कुनैदिन निराश मनले तिमीले मलाई छुँदा तिमीलाई 'हरेक ठाउँमा उज्यालो र अँध्यारो छ
हामीले हिंड्दा सँधै उज्यालोलाई सामुन्ने पारेर हिँड्नु पर्छ अनिमात्र अँध्यारो
हाम्रो पछिल्तिर पर्छ नत्र सँधै अँध्यारो हाम्रो अगाडी फैलिरहन्छ' भनेको सम्झें ।
यसैगरी भनेको थिएँ तिमीलाई , 'पहिलो खुसी हामीले हाम्रो मनमा उमार्न सक्नुपर्छ
तबमात्र हामी हाम्रो जीवनमा खुसी भेट्नेछौं र अरुलाई खुसी बाँड्न सक्ने छौं ।
हामीसँग स्वयँ मनमा खुसी छैन भने हामीले अरुलाई कसरी खुसी दिन सक्छौं र अरुबाट
खुसीको कसरी अपेक्षा गर्न सक्छौ ? तिमीलाई त्यसो भन्दाको म र यतिबेलाको म उहि हुँ
तर अवस्था अलि भिन्न त्यसैले मैले म दुखि छैन , म कहिल्यै दुखि हुन्न , मैले दुखि
हुनै हुँदैन भनेर संकल्प गरेँ । साँच्चै म स्वयँ दुखि भएँ भने मैले अरुलाई कसरी
खुसी दिनसक्छु र ? त्यही भएर आज प्रेम दिवसको यो घडीमा म आफ्नो मनको दीपक झ्याप्प
ननिभोस् भनेर तेल थपिरहेछु । मैले त तेल थपेको छु त्यही प्रेमको दीपक मेरो मनमा
ननिभोस् भनेर तिमीले पनि तेल थप्ने कि प्रेमको अखण्ड ज्योति जलाईरहनलाई ?
सबैले आफ्नो आफ्नो मनमा प्रेमको अखण्ड ज्योति
जलाईरहनलाई तेल थप्ने , बाति/सलेदो फेर्ने तथा सलेदोमा ज्योति नै मधुरो पार्दै
देखापरेका काला पोकाहरु झार्ने कि ? हामी सबैको मनको दीपक अखण्ड ज्योति फैलाउँदै
जलोस् , जलिरहोस् अनन्त अनन्त हरेक प्रेमीहरुको मनाकास उज्यालो बनाउँदै । यतिखेर
सर्वत्र हामीलाई प्रेमकै खाँचो छ । द्वेष र तिरस्कारले हामी थाकिसकेका छौं अबको
बिश्राम पनि प्रेममा हुनुपर्छ हिँडाई पनि प्रेममै हुनुपर्छ । त्यो प्रेम तिमीमा
ममा र हामी सबैमा हुनुपर्छ । प्रेम दिवसको शुभकामना तिमीलाई साथै प्रत्येक प्रेमी
ह्रदयहरुलाई ।