प्रसव पीडा श्रृजनाको

आचार्य प्रभा
बोल्डर कोलोराडो


धेरै समयपछि आज म
भिन्दै प्रसव पीडाले छटपटिएँ
म चकित भएँ आश्चर्यमा डुबेँ
हँ म गर्भवति त थिईनँ
किन अनि कसरी
मलाई प्रसव पीडाको आभास भयो?
तर म भ्रममा परिछुँ
केवल… मान्छे जन्माउनमात्र पीडाबोध गरिछु
म भित्र भावनारुपी बच्चाहरुपनी
जन्मने उत्कट अभिलाषाहरु बोकेर
छट्पटिई रहेका रहेछन्
एउटा सिङ्गो भावनाको
स्वरुप बन्न लालायित रहेछन्
तर…
म भने समयलाई केवल परिश्रम र द्रव्यमा
अनुवाद गरेर मेरा भावनारुपी सन्तानलाई
मानस पटलबाट बहिष्कार गरिरहेकी रहिछु
मेरा श्रृजनारुपी सन्तानहरुलाई
गर्भमै तुहाउने अभिष्ट बोकि
आफ्नो परिवेशमा हराई रहेकी रहिछु ।