फेरि आएछ असार !



रजनी ढकाल

धापाखेल

 

फेरि आएछ असार !

समयको भित्तेपात्रोमा टाँगिएर टोलाइरहेको महिनासँग अनुत्तरित प्रश्‍न लिएर उभिऊँ या घर बाहिरको संसारसँग लम्किरहेको असारलाई अँगालो मारूँ ?
 

सोच्न सकिरहेकी छैन । आज असार कोठाभित्रको निर्जीव भित्तामा आत्महत्या गरिरहेछ या मेरो घरको झ्यालबाहिरको जीवनसँग बाँचिरहेछ ? आज असार जीवन्त छ उम्रिनका लागि या युवतीको लाशमा दश टुक्रा भएर देशभरि फालिएको छ ? आज असार मङ्‌सिरको मीठो सपनामा टुसाउँदै छ कि किशोरको छातीमा दशौं गोली बनेर छेडिरहेछ ? आज असार किसानका खेतमा जीवनको मीठो असारेगीत गाइरहेछ कि आमाबाबुका सुन्दर सपनाहरूको अपहरण गरिरहेछ ?

 

असार म तिमीलाई कुन अर्थमा ग्रहण गरूँ ? पारपाइनसक्नु या सिर्जनाको असल बीऊ ? भन न असार, तिमी कसरी विश्‍वस्त पार्छ्यौ गर्भिणी आमालाई ?

 

म तिमीलाई कुन रूपमा दाँजूँ ? मेरो घर बाहिरको सुन्दर प्रकृतिसँग या यो समयले दिएको मेरो मनभित्रको छटपटीसँग ? भन न असार म तिमीलाई कसरी चिनूँ ?
माफ गर्नुस् पाठकवृन्द, म द्वन्द्वरत छु आफ्नै मनसँग ।

 

घरको झ्यालबाट जब  समयलाई चियाउन थाल्छु प्रकृतिका सुन्दर चित्रहरू आँखाभरि कोरिन थाल्छन् -  धरतीभरि पोखिएको किरण । माथिमाथि फैलिएको नीलो आकाश । उचाइमा फर्फुरिंदै चढेका बालक पहाडहरू र क्षितिजमा स्वच्छन्द कुदिरहेका सन्तानका कलिला सपनाहरू । बगैंचामा निस्फिक्री फुलेका फूलहरू र विश्‍वासको अँगालोमा फैलिएका हरिया दूबाहरू ।

 

समय आफ्नै गतिमा छ । बस्तीका मान्छेहरू साँझ बिहानको छाकमा लम्किरहेछन् । बाटोमा हिंड्ने बटुवाहरू, नानीलाई काखमा च्याप्दै कर्ममा जुटिरहेका आमाहरू सबै सबै समयलाई आफ्नो जीवनसमयसँग भेटाइरहेछन् । कर्ममा जुटिरहेछन् । लाग्दैछ, बाँच्नुको निरन्तरता जस्तो सुन्दर सिर्जना केही रहेनछ यो संसारमा ।

 

कार्पेन्टर काठमा कलाका सुन्दर बिम्बहरू खोपिरहेछ । आवश्‍यकताको मागलाई परिश्रमका सीपले सिंगारिरहेछ । भनौं पुजिरेछ आफ्नो कर्मलाई । चलिरहेछ आफ्नो विश्‍वासमा । समयका छिना, ह्मम्मर र किलाकाँटाहरूले आकार दिइरहेछ आवश्कतालाई ।

 

देखिरेछु, जीवन आवश्यकताको आकारको खोजीको निरन्तरता हो । जुनदिन सकिनेछ आफ्नो सीपमाथिको विश्‍वास, जुन दिन सकिनेछ मान्छेको आवश्यकताको आकार सायद त्यो दिन रहने छैन यो मेरो घर आगाडिको कार्पेन्टरको पसल पनि । ऊ हावा र घामसँग अलिकति शक्ति पैंचो मागेर रङ्गाइरेछ आफ्नो कालिगडी । जीवनको आस्थालाई साक्षी राखेर बाँचिरहेछ सत्कर्ममा । लाग्दैछ, कर्मको रङमा जीवनलाई रङ्गाउनु नै वास्तवमा बाँच्नु हो ।

 

आज यिनै झ्याल बाहिरका मान्छेहरूले बाँचेको असारसँग दाँजिरहेछु यो मौसमको असारलाई ।  

 

खोलासँगै बगिरहेको पानीसँग, पातसँगै उडिरहेको हावासँग, लहराहरूसँगै उठिरहेको समयसँग, घामसँगै तातिरहेको किरणसँग, मुना र टुसासँगै उचालिएको आकाशसँग कहिल्यै गुनासो भएन मलाई । सायद म पनि पानीमा पानी र आगोमा आगो देख्‍न चाहने स्वतन्त्रताले बाँचेको छु ।

 

प्रकृतिले आफ्नो स्वभाव बदलेन । कहिल्यै बदलेन । बाढी, पहिरो र सुनामीलाई पनि प्रकृतिको विपरीत धर्म भन्दिनँ म । प्रकृतिले कर्तव्यको निरन्तरतामा देखाएको चरम स्वभाव मात्रै भन्न रुचाउँछु । हो, मान्छेमा पनि छन् यस्ता चरम स्वभावहरू । माया, प्रेम रिस, डाह, ईर्ष्या, जलन । यस्ता मानवीय संवेगले नै मान्छेलाई मान्छे भनिएको हो सायद ।

 

तर आज समयले मान्छेलाई किन मान्छेबाट र यी संवेगहरूभन्दा टाढा बनाएको छ ? किन मान्छेमा मान्छेपनको विकासभन्दा पशुत्वको विकास गरेको छ ? सुनेको छु, मान्छेलाई मान्छेको मा र पशुको शु मिलाएर माशु शब्दले सम्बोधन गर्दै कुनै कविले कविता कोरेको छ । लाग्छ, आजभोलि मान्छेले देखाएका कतिपय व्यवहारलाई पशुत्वसँग दाँज्नु पनि पशुको स्वभावमा समेत खिल्ली उडाउनु हो । डार्विनले पनि नदेखेको कुन विकासवादी सिद्धान्तले आज मानिस हुर्किंदै छ ?

 

मान्छेमा नअटाएको प्रकृति र प्रकृतिमा नअटाएको मान्छेमा के भरोसा गर्न सकिन्छ र ? सायद प्रकृतवादीहरू पनि गर्न सक्दैनन् विवेकको जस्केलाबाट खसेको अनर्थहरूको खोजी गर्न । कुनै मनोविज्ञानवेत्ताको वश बाहिर पुगेको छ मान्छे । हिटलर र नाजीका भूतहरू वेप्रवाह नाच्न थालेका छन् आज नेपाली समाजमा ।  

 

आज समय ख्यातीका हत्यारा बचाउने असारमा बाँचिरहेछ । आज समय सृष्‍टिकी देवीको इज्जतमा बलात्कार गर्ने राक्षसरूपी मानव भएर बाँचिरहेछ । आज समय आफैं अपहरणमा परेको छ । आफ्ना कुमारी विश्‍वासहरू बलात्कृत गरेर समय आफैंमा विक्षिप्त बाँचिरहेछ । समय आफ्ना सन्तानलाई आफैंले अपहरण गरी आफैंले मागिरहेछ तिनको मूल्य ।

 

यो देश कुनै कविले भनेझैं कुशासनको दुश्शासनबाट बलात्कृत भइरहेछ । यस्तो बेला कसरी गर्न सक्छु मैले विश्‍वास यी असारहरूमा । कसरी गर्नसक्छु मैले विश्‍वास आफ्ना सिर्जनाहरूमा । कसरी अङ्कुराउन सक्छु मैले संवेदनाहरू हत्केलामा असार उमार्नका लागि ?

 

साथी ! भो मलाई नगर्नोस् सम्बोधन, हत्केलामा असार उमार्नेहरूसँग धेरै संवेदनाहरू हुन्छन् भनेर । भो नभन्नोस् मलाई भरोसाको एउटा बिन्दुकी गुरुआमा भनेर ! शिक्षण पेशा विरेनमा बेचिएको छ आज । आफ्नै पेशामा दाग लागेको यो समयसँग मैले केही बोल्नु छैन । केही बोल्नु छैन । चुपचाप रहन दिनुहोस् । नचाहेका दिनहरूसँग सम्झौता गरेर बाँच्नु भनेको असारलाई मार्नु हो । सम्भावनालाई निमिट्यान्न पार्नु हो । ऊर्वराशक्तिमा बाँझोपन लाद्‍नु हो । सृष्‍टिलाई चुनौती दिनु हो ।

 

माफ गर्नुहोस् साथी, म हत्केलामा असार उमार्न सक्दिनँ ।


२०६६ असार १५

rajanidhakal@yahoo.com