संस्मरण
अमेरिकामा पच्चिस डलरको गाडी
अमेरिकाको भिसा लाग्ने वित्तिकै सबैको सपना नै हुन्छ डलर कमाउने । गाडी किन्ने
अनि अमेरिकामा लिगल होस् या ईल्लिगल बसेर पैसा कमाउने गाडी कुदाउने सपना त घरैबाट
बोकेर आएका हुन्छन् । विमानस्थलबाट ओर्लने वित्तिकै चारैतिर सुकिला र रहर लाग्दा
सडकमा विना हो हल्लाका गाडी सरररर कुदेको देख्दा त मन झनै आतुर बनि सकेको हुन्छ ।
कतिपय नेपालीले गाडी किनेर घुम्न पाएपछिमात्र अमेरिका आएको सार्थक भएको भन्नेपनि छन्
।
गाडी अमेरिकामा विलासिताको साधन पक्कै पनि होईन । नेपालमा छँदा 'अमेरिकामा त
पोडेलेपनि गाडी किनेका हुन्छन् । जसको घरमा पनि परिवारै पिच्छे अलग अलग गाडी हुन्छ'
भन्दा 'बावै यिनिहरु त धनी पो हुँदा रहेछन्' यस्तै मानसिकताको मानचित्र बनाईयो ।
नेपाल छँदा एउटा गाडीमा दशजना कोचेर लादिन्थ्यो भने अहिले हामी दुईजनाको दुईवटा गाडी
छ । यहाँ आएपछि थाहा भयो अमेरिकामा किन गाडी अनिवार्य छ भन्ने कुरो काम खोज्न गईयो
भने 'नीड अ कार' भनिन्छ । गाडी विना जिवन पद्धति नै चल्दैन । काम गर्न जाँदा समयमा
पुग्नु पर्ने काम गर्ने ठाउँको दूरीको मापदण्ड ईत्यादि कारणले गाडी किन्न अनिवार्य
हुने नै भयो । यहाँको जिवन शैली गाडी नभई चल्दै चल्दैन । अमेरिकाको न्यूयोर्क र केहि
शहर बाहेक सबै शहरमा सार्वजनिक यातायातका त्यति सुविधा हुन्न ।
गाडीको महिमा र सपना बोकेर आयौ हामी पनि ओहायोको एक्रोन शहरमा । रातो रङ्गीचङ्गी
पातहरुले फल्स सिजन आउने सङ्केत दिई रहेको थियो । चारैतिर बुख्याँचा जस्तो तर्साउने
कङ्कालको सजावटले हलोईन पर्व (एक प्रकारले गठेमङ्गल जस्तो पर्व) आउने जानकारी दिई
रहेको थियो भने चिसो स्याँठले अब हिउँ पर्ने बेला भयो तयारी गर्न थाल भन्ने सङ्केत
दिँदै थियो । चिस्याउने एक विहानै फोनको घण्टी बज्यो । एउटी महिलाको सुमधुर आवाज
बोल्यो "के तिमिलाई विना पैसाको गाडी चाहिन्छ हामीसँग पुरानो गाडी छ विद्यार्थी
जिवनमा यो गाडीले सक्दो सहयोग गर्छ ।" आवाज भाषा सुन्दा छिमेकि राष्ट्र्को जस्तो
लाग्यो । तिनले भनिन् "तिमिहरु विद्यार्थी भएर भर्खरै आएका रहेछौ अतएव हिउँ
पर्नथालेपछि यो गाडीले कलेज बजार जान सजिलो पर्छ ।" आश्चर्य लाग्यो किन कि विरानो
मुलुकमा पैसा विनाको गाडी कसैले दिन्छ शँका उपशँकामा खैलाबैला मच्चियो । कतै
हामीलाई गाडी लिन आउ भनि वेपत्ता पार्ने हुन् कि, कतै थोत्रा गाडी भिडाएर भालुको
कन्पट पो हुने हो कि साथी डेभिडसँग सल्लाह माग्यौ । 'विद्यार्थी नै भएकोले शँका नगर
माग्नेलाई तातो भात कहाँ पाउँछ गाडी तिमिहरुलाई चाहिन्छ नै । अब यहाँ जाडोमा तिन
चार फिट हिउँ पर्न थाल्छ आवत जावतमा कठिनाई पर्छ' भनि सल्लाह दिए । हामी सित्तैमा
कसैको उपकार लिने पक्षमा नरहेका बतायौँ । 'उसोभए मलाई पच्चिस डलर देउ यसो गर्दा दुबै
पक्षलाई बोझ महशुस हुन्न' गीताले भनिन् । राम ! राम ! पच्चिस डलरको गाडी कस्तो होला,
साईकल नआउने ठाउँमा गाडी? कतै दालमे कुछ काला है भन्ने पनि लाग्यो । भोली
विहानै दश बजे भेट्ने कुरा मिलायौं ।
हामीलाई गाडी प्रदान गर्ने महिला भारतेली गीता मूर्ति थिईन् । बम्बईमा हिन्दी भाषाको
उद्घोषिका रहेकी र एक्रोन यूनिभर्सिटीबाट पी.एच.डी. सकेर उनिहरु क्लिभलैण्ड शहर
जागीर पाएर जान लागेका रहेछन् । काम चल्ने पुरानो गाडी विद्यार्थीलाई दिए उपकार नै
हुन्छ भन्ने विचारले जङ्कयार्डमा गाडी नदिई हामीलाई दिएर जाने निधो गरेकि रहिछन् ।
उनले पच्चिस डलर लिएर लामो पुरानो गाडी हामीलाई जिम्मा लगाईन् । चर्चका साथीभाईले
यताउता सर्भिस गरेर गाडीलाई राम्रो बनाई दिएपछि हामीले त्यो गाडी विद्यार्थि हुाजेल
सम्म चलायौ । गीताको उदार भावनालाई सहर्ष धन्यवाद दियौँ। नभन्दै बेस्सरी हिउँ परेको
बेला त्यो गाडीले धेरै सजिलो तुल्याई दियो । पच्चिस डलरको गाडीले दुई वर्षसम्म
हाम्रो सेवा गर्यो। अमेरिकामा ल्फोरेन्स नाईटिङ्गलस् पनि भेटिने रहेछ भन्ने लाग्यो
।
केहि समयपछि एक्रोन यूनिभर्सिटीबाट फोन आयो । यो पल्ट सेवाभाव भएकी गीताको नभई
अचानक जुम्ल्याहा बच्चा जन्माउने वित्तिकै गीताको देहावसान भएको खबर आयो । मिलनसार
सेवा भावनाले अभिप्रेरित गीता मूर्तीको शोकसभा गर्न सम्पूर्ण देशी विदेशी
विद्यार्थीलाई उपस्थित हुन आग्रह गरिएको थियो । करिब तीस पैतीस वर्षकी गीताको मरणले
सोसियोलोजी डिपार्टमेण्ट स्तब्ध भएको थियो । यूनिभसर्िटीमा उनलाई प्रशँसा नगर्ने
व्यक्ति कोहि थिएनन् । गाडीको साँचो दिन आउँदा उनको मीठो मुस्कानको झझल्को आई नै
रहन्थ्यो । पच्चिस डलरको गाडीमात्र नभएर गीताको सहृदयताको परिचय दिई रहेको त्यो
गाडीलाई विक्षिप्त मनले सुम्सुम्याउन गयौं र अमूल्य उपहार हामीले ति कोमल नारीबाट
पाएको अनुभव भयो । दैव पनि कति कठोर भन्ने लाग्यो ।
डाक्टर गीता मूर्तीको साथीहरु स्निग्धा र निरजा पनि शोकसभामा आएका थिए । उनका
प्रोफेसर सबैले गीताको उदार र प्रशँसनीय स्वभावका बारेमा बोले । मेरा श्रीमानले पनि
उनले दिएको पच्चिस डलरको गाडी हाम्रोलागी कति अमूल्य भएको र तिनको चिनो स्वरुप
हामीसँग छ भनि मन्तव्य दिए । वास्तवमा उक्त गाडी उनलेपनि कुनै प्रोफेसरबाट पाएका
रहेछन् । धेरै उदारवादीका कथा कहानी अमेरिकामा पढ्न र सुन्न पाईन्छ तर भारतेली
नागरिकबाट सहयोगको अपेक्षा भने कमै पाईन्छ । साँच्चै नै देवकोटाको हरफ मानिस ठुलो
दिलले हुन्छ जातले हुँदैन भन्ने सावित भयो हाम्रो लागी ।