पातालमा मह




डा. तारानाथ शर्मा
हाल: मिशिगन विश्वविद्यालय
मिशिगन

मह जति मीठो र पौष्टिक हुन्छ आधुनिक नेपाली समाजमा महको जोडीलाई पनि उत्ति नै स्नेह र निष्ठाले हेरिन्छ । पञ्चायतकालदेखि नै मदनकृष्ण श्रेष्ठ र हरिवँश आचार्यका नामका प्रथम अक्षरहरु (म र ह) मिलेर बनेको यो जोडी प्रजातन्त्र, प्रगति र प्रबुद्ध चेतनाको प्रतिनिधि र प्रवक्ता रहँदै आएकाले जनताको औधि प्यारो छ ।

व्यँग्य, हास्य र मनोरञ्जनका अनेकौ सबल पक्षहरुलाई जनसमक्ष प्रदर्शन गर्दै यो जोडी विश्वभ्रमणमा धेरै पल्ट निस्किसकेको छ । समस्त नेपाली जनताबाट बहुप्रशँसित महजोडी यसपाला पनि घुम्दैफिर्दै, अभिनय गर्दै र रमाउँदै पातालको न्यू हेभन नगरको नजिकै ब्य्रान्फोर्डस्थित दरबार भोजनालयमा आईपुग्दा ग्रीष्म विदाको मौका पारेर सौभाग्यवश मपनि सपत्निक त्यहिँ पुगेको थिएँ । लस एन्जेलस सन फ्रांसिस्को,  डेनभर र न्यूयोर्क जस्ता महानगरीहरुमा तथा यसै कनेक्टिकट राज्यको पश्चिम हार्टफोर्डमा समेत सफल अभिनयात्मक प्रदर्शन गरेर अनि बोष्टन पुगी अघिल्लो साँझ दर्शकहरुलाई मुग्ध र मख्ख पारी महबन्धुसित आईपुगेका राता मकैका उच्चारणव्दारा मुटु मिचाई मिचाई हँसाउने किरण केसी जनप्रिय अभिनेत्री पूजा चन्द र अति मिलनसार कलाकार प्रेमराजा महतपनि हुनाले हाम्रो डेढ घण्टाको सहभोजन, सहवार्तालाप र सहचित्राँकन अत्यन्त स्मरणीय हुनपुग्यो ।

हामी पतिपत्नी भने जीवनको दुगुरादुगुरमा जुन दिन बोष्टनमा मह जोडीको कार्यक्रम थियो त्यसै दिन दिउँसै दक्षिणतर्फ लाग्यौं र हार्टफोर्टमापनि हामीले प्रदर्शनीको दुईदिनपछि मात्र टेक्न पायौं । अब हुने उत्तर क्यारोलाईना, भर्जिनीया, बाल्टिमोर र न्यूयोर्कका कार्यक्रममापनि हामी पुगौला भन्ने आशा छैन । जे होस् जुनजुन व्यक्तिले मह कार्यक्रमका दर्शक हुने सौभाग्य पाए तिनका बयान अनुसार प्रदर्शनीका प्रमुख अँगका रुपमा पञ्चायत र प्रजातन्त्रका कुराहरु घरिघरि जोडीबाट उल्लेख भए । पञ्चायत पन्छिएको पन्ध्र वर्ष वितिसके ता पनि त्यस प्रणालीका प्रबल पक्षधर, प्रखर प्रवक्ता र प्रचण्ड प्रयोक्ता दिव्य बाह्रवर्षभन्दा बढि प्रवासमा लुकेर कहिले खस्ला र टपक्क टिपेर खाउँला अनि फेरिपनि वायुयान आकृतिको निवास निर्माण गरि आनन्दको पञ्च सागरमा पौडी खेलौँला भन्दै चुकचुकाउँदै थिए । उनि स्त्री भए परचक्री पुरुषले हाम्री सीतामातालाई अपहरण गरेकै आकाशमार्गबाट महासागर नघाई लँकाटापुमा लगेर कतै अशोक वाटिकामा लुकाएको पो थियो कि भन्न मिल्थ्यो र हनुमान जस्ता प्रचण्ड पुच्छरधारी वीरको नेतृत्वमा प्रहरीहरुको टोली खोज्न पठाउन सकिन्थ्यो । तर उनि न त कसैकि पत्नी थिए न त अपहरित नै थिए , बरु सत्ता हातबाट फुत्केको रनाहामा परदेश पसेका थिए  गुप्तवास बस्न पेटमा टन्न पटुका कसेर पुगेका थिए । पन्ध्रवर्षपछि उनि त्यहि उनको प्यारो पद्धतिको पुनरुद्धारकालागी हो वा त्यसको श्राद्ध गर्न हो आफुले कसेर बाँधेको पेटी पेटबाट फुकालेर अकस्मात चौरी गाईको नाममा खुलेको होटेलमा सित्तै जम्न राल काढदै आईपुगे । तर विचरा प्रवक्ता अलिकति तँग्रिन नपाउँदै गलहत्तिन पुगे । साँच्चै नै उनि श्राद्ध गर्नै आएको थिए कि क्या हो ? श्राद्धको उदाहरण ल्याएकामा मह जोडीलाई धन्यवाद छ ।

पश्चिमका चिन्तकहरु कलालाई जीवनको अनुकरण मान्छन् अथवा हामी मान्छे भएर जन्मेपछि स्वभाविक रुपले जे गर्छों हाम्रो कला त त्यसको फगत नक्कलमात्र हो भन्ने उनिहरुको प्रबल विश्वास छ । यो विश्वास र यस सिद्धान्तका जन्मदाता प्राचीन मिश्रवासीहरु हुन् । कला मानवजीवनको नक्कल हो भन्ने मिश्रदेशीय आधारभूत विश्वासलाई यूनानी अर्थात ग्रीसेली विव्दानहरुलेपनि हजारौ वर्षपहिलेदेखि अँगाल्दै आएका हुनाले यूरोपेली र अमेरिकालीहरु यहि धारणामा कलालाई निरिक्षण गर्ने गर्छन् । यसै मूलभूत सिद्धान्तलाई आत्मसात गरेर नै शेक्सपियरले पनि जन्मदेखि मरुन्जेलसम्मको मनुष्यको जीवनलाई नाटक हो भनेर व्याख्या गरेका छन् ।

जब म कला के हो त भन्ने विषयतिर ध्यान दिन्छु म अँग्रेजी साहित्यको विद्यार्थी हुनाले मलाई स्वभावैले शेक्सपियरको मनुष्य जीवनलाई सात अवस्थामा बाँडेर बाँचुन्जेल हामीले अभिनय गरिरहेका छौ भन्ने भनाईको सम्झना हुन्छ । तर के साँच्चै नै हामी अभिनय मात्र गरिरहेका छौ त के ?  हामी जीवनभरि नक्कलमात्रै गरिरहेका छौं त ? के बाँच्नुपनि नक्कलैमात्र गर्नु हो त ? अनि गुढ कुरो,  के कलात्मक अभिनय स्वाँग र नक्कलमात्रै हो त ?

म कलालाई जीवनको अनुपम उपलब्धि मान्छु । यस्तो उपलब्धि कसरी नक्कलमात्र हुन सक्छ ? पृथ्वीभित्र सर्वव्यापक रुपमा रहेको जीवन अनौठो, अद्भुत र अव्दितीय व्यवस्था हो, कला हो । यो आफैंमा एउटा अन्वेषण हो, आविष्कार हो, रचना हो । जीवन सँचालनको यो प्राकृतिक नियम कसको नक्कल हो त ? यो त नित्य नवीन मानिने सृष्टि हो,  सँरचना हो । शेक्सपीयरले भनेझै मानव जीवन अवश्यपनि नाटक हो, तर यो नाटक नक्कल नभएर श्रृष्टिकर्ताको कला हो, सँधै ताजा, नयाँ र उपलब्धिमूलक हुँदै जाने, मौलाउँदै जाने जिउँदो जाग्दो सँरचना हो ।

मेरो विचारमा यहि अव्दितीय प्राकृतिक व्यवस्थालाई आत्मसात गर्ने प्रयास नै कलाको आराधना हो । आराधना साधना हो, तपस्या हो । कलाको उच्चतम स्तरमा पुग्न प्रशस्त प्रतिभा निरन्तरको अध्ययन र दृढ लगनशीलताको आवश्यकता पर्छ । कुनै प्राकृतिक दृश्य वा व्यक्तिको कुनै समय र स्थान विशेषका आधारमा क्यामराले फोटो खिच्नु नक्कल हो । यस्तो नक्कल सिमित स्थिर र निर्जीव हुन्छ,  तर कला असिमित हुन्छ, गतिमय हुन्छ र जीवन्त हुन्छ । कला नितान्त नयाँ सृष्टि हुनाले नक्कल नभएर मनुष्यलाई सँधै प्रेरणा, प्रोत्साहन र प्रेमको सँचार गर्ने सँरचना हो ।

सँगीत, साहित्य, अभिनय र ललितकलाका विभिन्न अँगमा झ्वाट्ट हेर्दा नक्कल को केहि अँश नहुने होईन। तर त्यसको भित्री तहसम्म पुग्दा एउटा चेतनाको, ज्ञानको वा अध्यात्मिकताको चम्किलो नयाँ ज्योति देख्न सकिन्छ । हाम्रा महजोडीजस्ता कलाकारहरुले नेपाली जीवनको सुसँस्कारयुक्त र सचेत उच्च मानवीय भविष्यको कलात्मक प्रस्तुतीव्दारा मातृभूमी र जनताको सेवा गरेका छन्, नयाँ सुन्दर गुढ जीवनको सँरचना गरेर प्रदर्शन गरेका छन् ।