सँस्मरण
पानीको चमक
बासु श्रेष्ठ
कुरा २०३६ २०३७ सालको हो । जालिम मियाँ
हट्टाकट्टा उमेर झण्डै २८ २९ वर्षको हुँदो हो । त्यतिबेला उमेरको हिसाबले मैले दाजु
भन्नुपर्ने । पेशाले उ मैले रौतहट गौरको काम गर्ने बैकमा पियन थियो । जातले उ मेहतर
अर्थात च्यामे थियो । तर उसको जिउडाल र लुगाको साजसजावटले उ मेहतर हो भन्न गाहारो
पथ्र्याे । किनभने उ सँधै सफा र चिटिक्क भएर अफिस आउँथ्यो ।
उ अनुशासित र हँसिलो थियो । जसले जतिखेर पनि लगाएको काम गरिहाल्ने जतिखेर पनि "हस्
साहेब" भन्थ्यो । मिजासिलो, फरासिलो, हँसिलो र मिलनसार जालिम भएपनि उसमा एक प्रकारको
अलगपन म देख्ने गर्थेँ । मैले उसको अन्तःकरणमा हिन भावनाले स्थान बनाएको पाएँ ।
किनभने उ जातले मेहतर । उसले छोएको पानी या खानाहरु हामीजस्तो उपल्लो जातलाई नचल्ने
कारणले उ सदा हाम्रो टेबुलमा पानी या कुनै खानेकुरा छ भने उ परै बस्थ्यो सावधान भएर
। जब कि पदमा उ सरहका अन्य पियनहरु खाना भएको हाम्रो टेबुलमा निर्धक्क छुवाछुत
गरिरहेका हुन्थे । उसले टेबुलमा कुनै खाना या पानी नभएको बखतमात्र छुने गथ्र्याे ।
बैकका कागजात फाईलहरु एक टेबुलबाट अर्काे टेबुल गर्दा खाना भएको नभएको विचार गथ्र्याे
। उसको यो सावधानी मलाई पाच्य भएको थिएन । किनभने उ र ममा मैले केहि फरक देखेको
थिईनँ ।
हामी दुई बिच फरक भनेको नाम जिउडाल र थरमात्र थियॊ । जन्मस्थान फरक भएपनि देश एकै
थियो अनि मातृभाषा पृथक भएपनि राष्ट्र्भाषा एकै थियो । र हामी दुबै उस्तै हाडछाला र
रगतबाट बनिएका थियौ । उसको शरीरमा जे जति प्रत्यङ्गहरु छन् त्यति नै र त्यस्तै
प्रत्यङ्गहरु मेरा शरीरमा छन् र उसका अन्य सहकर्मीहरु उ र ममा पनि केहि फरक थिएन भने
किन यो भेदभावको र सङ्कोच भन्ने मेरो मनमा लागीरहन्थ्यो । त्यसकारण उसले छोएको खाना
खानुपर्ला भन्ने डरले म अरुजस्तो सचेत थिईन । तसर्थ यो सङ्कोच भेदभाव र दूरी मेटन
मैले उसको पानी चलाउने निधो गरेँ ।
मैले बैकको सहप्रबन्धक दिनेश कुमार सुवेदीसँग सल्लाह गरेँ र भने "दिनेशजी आजदेखि
हामी जालिमको पानी चलाईदिउँ ।" तिनले पनि सहर्ष मेरो प्रस्तावमा राजी भए ।
मैले उनकै अफिसबाट जालिमलाई बोलाएँ । उ हतार हतार अगाडि आएर उभियो र निर्देशन पाउन
तयार रह्यो ।
मैले भनेँ "जालिम आज हामी तिम्रो हातबाट पानी खान्छौँ ।" यो कुरा जालिमलाई
पत्यारिलो लागेन बरु उसको आत्मालाई चोट पुर्याउन मैले त्यसो भनेको जस्तो लाग्यो
शायद र भन्यो 'कस्तो कुरा गर्नुभएको सर मैले छोएको पानी चल्दैन भन्ने हजुरलाई थाहै
छ नी' । मैले प्रत्युत्तरमा हक आदेश र मित्रताको स्वरमा भनेँ "त्यसैले त हामी आज
तिम्रो हातबाट पानी खाने भनेको नि तर गिलास र पानी चाहि सफा हुनुपर्छ ।"
एकछिन सम्म उ अन्यमनस्क भावमा र अविश्वासको परिस्थितिमा दुवै हात मल्दै उभिई रह्यो
। दिनेशजीले भन्नुभयो "जाउ छिटो पानी ल्याउ हामीलाई तिर्खा लागेको छ ।"
अब चाहिँ उसलाई विश्वास लागेछ क्या रे उ दुईवटा गिलास लिएर धारातिर लाग्यो धारा हामी
बसेको कोठाबाट देखिन्थ्यो । हामी उसले थाहा नपाउने प्रकारले उसलाई हेरिरहेका थियौँ
। उसले दुबै हात र गिलास साबुनले माझ््यो र सावधानी पूर्वक पानी भर्याे । दुई हातमा
एक एक गिलास समातेर हामी भएतिर आउन थालेपछि हामी व्यग्रतापूर्वक तिर्खा मेट्न बसे
झै गरेर बस्यौँैँ । उ अझै विस्मित देखिनुका साथै अनुहारमा लुकाएको खुशीका लहरहरु
प्रष्टै देखिन्थ्यो । दुबै गिलास पालैपालो दाँया हातले हामीतर्फ बढाएपछि हामीले
आआफ्नो गिलास लिएर तुरुन्तै घटघट गरेर पानी खायौँ ।
पानी खाएपछि मैले भनेँ "जालिम आजदेखि हाम्रो टेबुलमा खाना पानी छ भने तिमिले छोइएला
कि भनेर सङ्कोच मानेर हट्नु या टाढा बस्नु पर्दैन । तिम्रो पानी हाम्रोलागी चलेको छ
।"
उ साह्रै खुशी भएको हामीले अनुभव गर्याैँ । हामीले उसमा भएको हीन भावना आशिँक रुपमा
घटेको पायौ । उ खुशी भएकोमा हामी आफैपनि गद्गद भयौँ । मनमा एक प्रकारको आनन्द र
सन्तोषका लहरहरु तरङ्गित भयो । त्यसभन्दा पनि बढि उसको हातबाट पानी खाउाजेल उसका
आँखामा देखिएको हर्षको चमक बिस्रनै नसकिने प्रकारको थियो जुन चमक आजपनि मेरो आँखा
सामुन्ने चम्कन्छ ।