निरीह उनिहरु…

आचार्य प्रभा
बोल्डर, कोलोराडो

प्रायोजित विचार बोकेर
शक्तिको होड गर्नेहरुको
रमिता हेरिरहेछन्
निरीह उनिहरु……

कहिले सुखको सँभावना पर्खेर
कहिले एकताको कल्पना गरेर
फेरि…नयाँ आयाम पलाउने आशामा
जसै तसै बाचिरहेछन उनिहरु ।

बन्धकिमा परेको छ सबैको हाँसो
खुशीहरु विस्थापित भएका छन्
आफ्नै धरती पराई बनिरहेछ
लडखडाउँदैछन् अगाडि बढ्ने पाईलाहरु ।

एक हौं भन्ने औंलाहरुमा
भागबण्डामा लागिरहेछ अँशवण्डाको
माटो मेरो हो या स्वाभिमान मेरो
निर्क्यौल  गर्न असमर्थ छ मन
रितिँदैछ आमाको काख
तर…बाध्य छ
मौन बस्न ईक्षाहरु ।

बे लगाम भएर दौडिरहेछन्
नियम र कानुनहरु
रमितेको रमिता भईरहेछ
कानुनका किताब र प्रशासनहरु ।