म निरीह देश



आचार्य प्रभा
बोल्डर ,कोलोराडो


 


आरोप, प्रत्यारोप ,

विश्वाश, अबिश्वास ,

घा, प्रतिघात

न्याय ,अन्याय को चक्रब्युहमा

फसेको म निरीह देश

मेरो स्वाभिमान आज भोली

हरेक जनताको अभिमान अनी प्रतिशोधको

ज्वाला बनेर जलिरहेछ ।

स्वाभिमानको अग्लो शीर बनेर

उभिएको मेरो सगरमाथा पग्लिएर

हर आँखामा छचल्किएको छ ।

चन्द्र,सूर्य छातिमा टाँसेर

फर्फराउने मेरो प्रतीक

केवल ---लाजको पछयौरिमा मात्र परिणत छ ।

बिडम्वना हो या सतिको सराप भनु ?

मेरो छात्ती कौरव, पान्डवको

युद्धरूपी रणभूमी बनेको छ ।

स्वयम्भूको नेत्रले 

तान्डव न्रृत्य हेर्न मात्र बिवश छ

अधीर बनेर मलाई सदा सर्वदा

आशिष दिने पशुपतिनाथ

यथार्थ मा नै ''पशुहरुको ''पतिमा मात्र अनुवाद छ ।

''हामी एक हौ' 'भन्ने बाणी

अनेकतामा बिभाजित छ

''मेरी आमा'' ''मेरो देश'' भन्ने

भावना र शब्दहरु इर्ष्या र जलन अनी घृणामा

परिवर्तित छ ,

त्यसैले म निरीह देश

मेरो ललाटमा केवल ---

''निरीह' 'कोरिएको छ

मेरो आफ्नो स्वाभिमान, अस्मिता

बन्धकमा परेको छ ।