ङार ङार ङुर ङुर



सुषमा मानन्धर
ललितपुर
mdhsusma@yahoo.com

घर अगाडि सडकमा
शायद भतेर थियो अबेरसम्म
रछ्यानमा फालिएका
रहलपहलमा
रातभरि
निकै रंडाको भैरह्यो
ङार ङार ङुर ङुर ।

एउटै टुक्रामा छिनाझपटी
हानाथाप लुछाचुंडी
झम्टाझम्टी
काले पाटे खैरी सेती
कोही कसैभन्दा कम्ती देखिएनन्
बलियो त बलियै
साना पनि भीडभित्र
ह्ड्डीका आशमा
कुराभन्दा लडांई ठूलो
झयालैनिर रात विथोल्दै
निंद्रामा खलल
ङार ङार ङुर ङुर ।

कोही कसैले लठ्ठी उज्याएनन्
भगाएनन् न क्रनै खबरदारी
धेरैका शान्ति
निंद विथोलिनुसंग
अनभिज्ञ लापरवाह
टुक्रैमा मात्र र्याल चुहाउंदै
सवै आफ्नो पार्ने
दाउमा
लालसामा
अझै पनि एक अर्कालाई
नंग्रयाउंदै धम्क्याउंदै
राती अबेलादेखि
सुनिँदैछ
ङार ङार ङुर ङुर ।