हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नारायण गोपाल: व्यक्ति एक, रुप अनेक,(प्रकाश सायमी)




(स्वर सम्राट नारायणगोपालको उन्नाइसौँ पुण्यतिथिको अवसरमा)
राम्रो गीत गाउने गायिकालाई नेपालीमा ‘कोइली’ भनेर सर्काइन्छ भने राम्रो गीत गाउने गायकलाई के भन्नुपर्ला ? — राम्रो गीत गाउने गायकलाई ‘कोइला’ भन्नुपर्छ किनकि रक्सी खाँदाखाँदै उसको मुटु जलेर कोइलाजस्तो भइसकेको हुन्छ । यो माथिको संलाप कुनै हाँस्य कलाकारको नभई नेपाली जातिका वियोगान्त गायक नारायणगोपालको हो । एक पत्रकारले सोधेको जटिलखाले प्रश्नको अन–द–स्पट प्रकृतिस्थ भई ‘टेजेडी किङ्ग’ नारायणगोपालले दिएको यो उत्तर नेपाली सङ्गीत जगत्को जीवित सत्यमध्ये एक हो र स्वरसम्राट नारायणगोपाल त्यसका ज्वलन्त साक्षी हुन् । कलाकार नारायणगोपालका विशेषकीय पक्ष हुन्— गायन र सङ्गीत । यिनलाई यी दुई दीपाधारले ढाकेको छ, तर खोज्ने हो भने व्यक्ति नारायणगोपाल, प्रकाशक नारायणगोपाल, पहलमान नारायणगोपाल र ती सबै वैयक्तिकतालाई उछिन्ने कमेडियन नारायणगोपाललाई धेरैले गुनेका छैनन् ।

प्रहास्यक नारायणगोपाल
पीर, वेदना र वियोगले भरिएका गीत गाएर ट्रेजेडी किङ्ग भएका स्वर्गीय नारायणगोपाल एक सफल हाँस्य कलाकार पनि हुन् भन्ने कुरा उनका परिवार र मित्रजनलाई बाहेक अरूलाई कमै ज्ञान होला । नारायणगोपालको ‘सेन्स अफ् ह्यूमर’ जति तेजिलो र गम्किलो मानिन्छ, त्यति नै क्षमताशील थियो उनको मिमिक्री गर्ने शैली । अरूको हाव र भावलाई हुबहु नक्कल गरी कटाक्ष गर्ने कलालाई क्यारिकेचर वा मिमिक्री भनिन्छ, यो कला नारायणगोपालको सर्वाधिक बलियो पक्ष थियो जसले गर्दा पर्दामा वा पृष्ठवाचनमा उनको पाश्र्वगायकी सशक्त रहेको मानिन्छ । भारतका एक प्रसिद्ध गायक मुहम्मद रफीसित पनि यो तागत प्रशस्त थियो रे, त्यसैले उनी जुनसुकै नायकको नक्कल गरी छवि सुहाउँदो शैलीमा गीत गाउन सक्थे रे । यही प्रतिभा नारायणगोपालमा पनि प्रशस्त थियो । भनिन्छ, उनी एकपटक भेटेको मान्छेको वाक्शैलीको दुरुस्त नक्कल गर्ने क्षमता राख्थे । आफ्नो छुट्टीका दिनमा (सांस्कृतिक संस्थानका महाप्रबन्धकबाट रिटायर्ड भएपछि) उनी घरबाहिर बसेर वा लुकेर अफिस जान लागेकी आफ्नी पत्नी पेमला गुरुवाचार्यलाई स्वर फेरेर झुक्याएर “एई ! नारायणगोपालकी बूढी, कता हिँडेकी हँ ?” भनेर जिस्काउँथे भनेर श्रीमती नारायणगोपाल सदा सम्झिन्थिन् । उनका पुराना मित्र एवं समकालीन गायक प्रेमध्वज प्रधान आफ्नी आमा प्राणदेवीलाई नारायणगोपालले चिनियाँ भाषामा रेडियो समाचार पढेर सुनाएको कहिल्यै बिर्संदैनन् । क्यारिकेचर गर्ने नारायणगोपालको शैलीले सबैभन्दा बढी चर्चा त्यतिबेला पायो, जतिबेला उनले रामायणलाई तिब्बतीय शैलीमा नेपालीकरण गरेर साथीभाइलाई सुनाए— “एई सीते ! मो बात् खान्चा ।” यी उनका चर्चित सम्वादका नमूना हुन् । भारतीय रजतपटका लोकप्रिय गायक के.एल.सहगलको गायकी हुबहु उतार्न सक्ने नारायणगोपाललाई उनका प्रशंसक रूपा प्रधानले पाल्पाबाट एउटा यस्तो प्रश्न सोधिन्— “तपाईंको स्वरमा जादू छ, मिठास छ, दर्द छ, मोहिनी छ अनि तपाईंको प्रत्येक गीतले मुटु छोइदिन्छ, पाइला भत्काइदिन्छ, आँखा रसाइदिन्छ, सपना जगाइदिन्छ, फूल फुलाइदिन्छ— यहाँको प्रतिक्रिया?” जवाफमा नारायणगोपालले यस्तो लेखे— “नारायणगोपाललाई या त कालापानी पठाइदिनुपर्छ, हैन भने कमसेकम छ महिना कैद तथा पाँच हजार जरिवाना गर्नुपर्छ ।” उनको व्यङ्ग्यशक्तिमा साहस पनि छ र सौम्यता पनि, अझै बढी तर्कशक्तिको प्रयोग पनि । जीवनको अन्तिमकालमा अस्पतालको पलङ्मा अस्वस्थ भएर लडिरहँदा उनी अनिद्राले सताइए । त्यतिबेला उनका साथी गीतकार नगेन्द्र थापाले उनलाई भगवान् पशुपतिनाथ सम्झेर सुत्न सल्लाह दिए । त्यसको जवाफमा नगेन्द्र थापालाई नारायणगोपालले भने— “म सक्दैसक्दिन, नगेन्द्र ! जतिजति म पशुपतिनाथको तस्वीर सम्झिन खोज्छु, त्यतित्यति मेरो आँखामा जोगमेहरको अनुहार देखापर्छ ।” पञ्चायतकालको अन्तबेला पञ्चायती व्यवस्थाका एक गृहमन्त्रीलाई बारम्बार सम्झिनु ‘सेन्स अफ ट्रयाजिक’ पनि थियो ।

पहलमान नारायणगोपाल
नारायणगोपालको जन्म किलागलमा भयो र बाँकी जीवनवृत्त पोखरा, हेटौँडा, काठमाडौँ फर्केर ठमेल नरसिंह चोक र महाराजगञ्जमा बित्यो । किलागलमै रहँदा आफ्ना पिता आशागोपाल गुरुवाचार्य र मित्र माणिकरत्न स्थापित, प्रेमध्वज प्रधान, राममान तृषित्को सङ्गतले उनी गायक भइसकेका थिए । विवाहपछि उनी सपत्निक पोखरा गए जहाँ उनी बाध्यताले इतिहासका अध्यापक भए, अमरसिंह मा. वि.मा । त्यसपछि काठमाडौँ पुनरागमन भएपछि सांस्कृतिक संस्थानका कर्मचारी भए र चलचित्रमा पाश्र्व गायक पनि भए । नरसिंह चोकमा हुँदाहुँदै उनी सांस्कृतिक संस्थानका हाकिम अर्थात् महाप्रबन्धक भए र पछि महाराजगञ्ज चक्रपथ निवासी भए । चेस खेल्न अत्यधिक मन पराउने नारायणगोपाल फुटबलप्रेमी त थिए नै तर किलागल र जनबहालमा बिताएका जवानीका दिनमा उनी वर्जिस(स्वास्थ्य साधना) गरेर शारीरिक सुगठनतिर लागिसकेका थिए, जसले गर्दा त्यसबेलाका दौँतरीहरू उनलाई सानुबाबु र सान्चा नामबाट पुकार्थे । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ उनलाई ‘टार्जन’ भन्थे भने अम्बरलाई उनी ‘सैन्डो’ भन्थे । यी दुवै उपनाम पहलमानीका सम्बोधन थिए । पहलवान नारायणगोपाल २०३५ सालमा प्रज्ञाभवनको रङ्गमञ्चमा ‘सम्झनाको रात’मा गाउन निस्कँदा उनलाई हुटिङ गर्ने दर्शकमाथि यसरी खनिए— “को हो त्यो कराउने ? लड्ने भए यहाँ आऊ वान बाइ वान !” यस घटनापछि नारायणगोपाललाई मञ्चबाटै ल्याण्डरोवरमा राखेर भगाइयो रे । त्यसको दस वर्षसम्म स्वरसम्राट उपत्यकाका मञ्चहरूमा कतै देखिएनन् ।

हाकिम नारायणगोपाल
आफ्ना निकटतम् प्रशंसक पेमला लामासित विवाह भएपछि पोखरा पलायन भएका नारायणगोपाल सत्ताइस सालको पछिल्लो महिना(फागुन)मा कवि एवं गीतकार भूपी शेरचनको दरबारमा शरण माग्न पुगे, जहाँ उनी एकाध महिना ‘पेइङ् गेस्ट’का रूपमा रहे भने पछि दुवै दम्पत्तिले मास्टरी पेशा अपनाए, त्यसैबेला धान–चामलका हाकिम भएर जान लागेका गीतकार नगेन्द्रले २०२७ सालमै एक पत्र लेखे, आफ्ना मित्रलाई—“...तिमी दार्जीलिङ गएपछि कस्सिएर म फेरि सचिव र डाइरेक्टर कहाँ धाउन लागेँ । भोलि–भोलिमा नै धेरै दिन बिते। एकदिन डाइरेक्टर र अरू एक–दुई अधिकारीको उपस्थितिमा मलाई पनि बोलाइयो, कुरै कुरामा धेरै कुरा भए । तिमीलाई प्रथम श्रेणीको कलाकार मान्न उनीहरू अन्कनाइरहेका थिए, होइन पनि भने(जब कि तिमी नेपालीको एकमात्र गायक हौ—स्वरसम्राट) धेरै वादविवादपछि तिमीलाई तीन सय रुपैयाँमा किन्ने अभिप्राय देखाए, त्यो पनि अस्थायी तीन सय रुपैयाँमा तिमीलाई बेच्न म तयार थिइनँ ।” नगेन्द्रको यो चिठीमा नबिक्ने नारायणगोपाल थिए भने उनकै सहयोगमा पिताको आमन्त्रणमा नारायण–पेमला दुवै पोखराबाट नेपालखाल्डो फर्किए । गायक–सङ्गीतकार माणिकरत्नको सहयोग–सौजन्यमा जनार्दन समको उपस्थितिमा जुद्धसडकस्थित पारस होटल(हाल पिनट्स पसल रहेको ठाउँ)मा गायक–सङ्गीतकार नारायणगोपाल नाचघरमा कर्मचारी–कलाकारका रूपमा प्रविष्ट भए । राष्ट्रिय नाचघरमा उनले वाद्यवादक(तबलावादक) का रूपमा कन्ट्र्याक्टमा पसेका थिए भन्ने उनका समकक्षी माणिकरत्नको सम्झना ताजै छ । यही अफिसमा तलमाथि गर्दागर्दै गायक नारायणगोपाल महाप्रबन्धकका रूपमा पदासत्र भए । कुर्सीले उनलाई साथ दिए पनि प्रायः साथीहरूले उनको साथ छोड्दै गए, माणिकरत्न नाचघरबाट अलग्गिए भने उनको पहिलो गीतका सङ्गीतकार प्रेम–माणिकमध्ये प्रेमध्वज प्रधानसँग अदृश्य शीतयुद्ध चलिसकेको थियो । साँच्चै भन्नुपर्दा नारायणगोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक भएपछि त्यहाँको रङ्गमञ्चमा वहार छायो, नाटकहरू मञ्चन खुब भए । रिमालको ‘मसान’, देवकोटाको ‘मुनामदा’, मनबहादुर मुखियाको ‘क्रसमा टाँगिएको जिन्दगी’ आदि आदि । “नाटककै कमाइले कार किनेँ”— नाटक निर्देशक हरिप्रसाद रिमालको दावी अझै सही छ । सिर्जनात्मक क्रियाशीलतामा सक्रिय देखिएका हाकिम नारायणगोपालको जीवनमा एउटा नराम्रो दाग लगाइदिए बोर्डका साथीहरूले— दशैँको मुखमा चालीसजना कलाकारलाई बेरोजगार बनाइएको आरोप हाकिम नारायणगोपालमाथि लगाइयो र प्रशस्त अखबारबाजी भए त्यसबेला । त्यसबेला निकालिएका कलाकारहरूमध्ये हरिवंश आचार्य, सुशीला के.सी.(रायमाझी) लगायत कैयन् कलाकार वषौँसम्म बेरोजगार रहे ।

उनी भाषाका रचयिता थिएनन् तर भाषा र भाव उनी राम्ररी बुझ्थे । जन्मभाषा नेवारी भए पनि नेपालीका रैथाने बोलीमा उनको गहिरो पकड थियो । दार्जीलिङ र नेपालको आवत्–जावत्ले उनको लवजमा लोचकता त थपियो नै तर कवि रत्नशम्शेर थापा(सहपाठी), गोपाल योञ्जन(मीतज्यू), पेमला(जीवनसाथी) र नगेन्द्र थापा(साथी)को संसाथले उनको नेपाली भाषा सेवाप्रति जिम्मेवारी बन्दै गयो, उनी यसरी २०३० साल कात्तिकमा एक त्रैमासिक पत्रिका ‘बागीना’का सम्पादक बन्न पुगे । नरसिंह क्याम्प, ठमेलमा डेरा गरी बस्दा सम्पादक बन्न पुगेका नारायणगोपालले सम्पादकीयको पहिलो हरफमा यस्तो लेखे— “भनिन्छ, नेपाली स्रोताहरूको सङ्गीत सुन्ने कान छैन, हाम्रा कान बुझिएका छन्— हिन्दी सिनेमाका गीतहरूले र पश्चिमे सङ्गीतका अस्थायी र अव्यवस्थित धुनहरूले । यस्तै–यस्तै अनेकथरीका भनाइ सुनेर स्थापना भएको (नेपाली सङ्गीत) नेपाली बाजा, नेपाली गीत र नेपाली नाचका क्षेत्रहरूमा के–कस्ता अर्घेलाहरू छन्, अभावहरू छन्....‘बागीना’ रङ्गमञ्च हो— नेपाली ललितकलाको । ‘बागीना’ आह्वान हो सामूहिक उत्तरदायित्वको ।” सम्पादक नारायणगोपालका साथमा ‘बागीना”मा व्यवस्थापक गोपाल योञ्जन र प्रकाशक नगेन्द्र थापा थिए भने प्रथमाङ्कमा उनलाई आवरणचित्रमा उत्तम नेपाली र लेखहरूमा लैनसिंह बाङ्देल, भैरवबहादुर थापा, सुवी शाह, उत्तम नेपाली, अम्बर गुरुङ्, रामशरण दर्नाल, ए.बी. राजपुत, सप्तमुनि बज्राचार्य, धर्मराज थापा, रत्नदास प्रकाश, लख्खीदेवी सुन्दास, वैरागी काइँला र नगेन्द्र थापाले लेखेर सहकार्यभागिता दिएका हुन् । नियमितरूपमा विक्रमाब्द २०३५ चैतसम्म बाइस अङ्क प्रकाशित भएको ‘बागीना’ को दोस्रो अङ्कमै नारायणगोपाल प्रकाशक नै भए र क्षति–दुर्गति आफै बेहोरे ।

सन्दर्भ र समयानुसार नारायणगोपालले ‘ऐतिहासिक यात्राः सांस्कृतिक यात्रा उत्तर कोरियाको’ आफ्नै शैलीमा संस्मरण पनि लेखे । यसबाहेक उनले अरू लेख–प्रलेख लेख्न नसके पनि अग्रज गायक उस्ताद साहिँलाको सम्झनामा एक बेजोड रचना दिए—
कालो ठेकीः विस्मृतिको घेराबाट’ । कालो ठेकी नारान काली काठको रातो ठेकी दारको । दिनै आउँछ रिम्दै–घुम्दै जोवन एकै बारको हजुर कर्मै रिसाउने ....
‘कालो ठेकी’ जस्तो एउटा झ्याउरे गीत लिएर आफ्नो समय र सङ्गीतलाई उछिन्न पुगेका उस्ताद अष्टमान श्रेष्ठमाथि नारायणगोपालले आफ्नो ‘एडिटोरिएल टोन’ यसरी दिएका छन्— “...कारण मनुष्य जातिको कुनै एउटा राम्रो गुण वा वस्तु देखाप¥यो भने त्यही नामबाट पुकारिने परम्परा हाम्रो समाजमा मात्र होइन, पाश्चात्य मुलुकहरूतिर पनि छ । अरूहरूको कुरा त छाडिदिऊँ, म आफै पनि एकताका ‘ए कान्छा ठट्टैमा’ गाएर सबैको कान्छा हुनपुगेको मलाई अझै सम्झना छ । चर्चित ‘हीट सङ्’को इतिहासमा ‘कालो ठेकी’को क्रमाङ्क प्रथम पंक्तिमा त आउाछ नै, अनि यही गीतले गर्दा उसको उपनाम ‘कालो ठेकी साहिँला’ रहन गएकोमा आश्चर्य मान्नुपर्ने केही देखिँदैन ।” सबैका प्रिय गायक नारायणगोपाल लामो समयसम्म सर्वप्रिय सम्पादक बन्न सकेनन् । आर्थिक कारण, अव्यवस्थापन र संकुचित विपणनका कारण छैटौँ वर्ष प्रवेश गर्नुअघि नै उनले पत्रिका थन्को लगाए तर, पत्रिकाको भूमिका कमजोर थियो भन्न चाहिँ मिल्दैन भन्ने यथातथ्य यसपटक प्रतिक्रियाबाट प्रस्ट हुन्छ । पाठक अभि सुवेदी पाँचौ अङ्कमा लेख्छन्—


सम्पादकज्यू,
‘बागीना’का आजसम्म प्रकाशित प्रायः सबैजसो अङ्कहरू मैले पढ्ने अवसर पाएको छु । तपाईंहरूले बाजा, गीत र नाच(बागीना)को क्षेत्रमा निकै ठूलो खाँचो पूरा गर्नुभएको छ । राजनीतिक, सामाजिक र साहित्यिक जगतमा घटेका कुराहरू प्रकाशन गर्नका लागि हामीसँग अनेकौँ पत्र–पत्रिका छन् तर बागीनाको क्षेत्रमा घटेका घटनाहरू र यस क्षेत्रका कलाकारहरूले सोचेका र गरेका कुराहरूको विवरण प्रकाशित गर्नसम्म पनि हामीसँग ‘बागीना’ले दीर्घकाल सेवा गरोस् भन्ने कामना गर्दै सङ्गीतकार शरण प्रधानलाई मेरो सानो श्रद्धाञ्जली दिन्छु ।

सदा तपाईंको
अभि सुवेदी
१२÷३१६ बाङ्गेमुढा, काठमाडौँ


नेपाली साहित्यका यस्ता गुणसिद्ध पाठकहरूको माया पाएको अमूल्य पत्रिका बन्द भएको तेइसौँ वर्ष बितिसक्दा पनि अर्को पत्रिका निस्किन नसक्दा सम्पादक नारायणगोपालको मन कति रोएको होला !

Comments

aakash

dai k ho gajal nikai ramro chha ni ta ......keep it up ajhai padhna paye hune ho tapaiko gajalharu

nirajan kendel

dai kasko yadma ho testo .....gajal ta babal chha ta ...keep it up bro

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |